जन सरोकार

पशुपतिमा दैनिक ३० शव कोरोनाबाट निधन भएकाको

आर्यघाटमा शव जलाउने स्थान अभाव भएपछि वाग्मती किनारमा जलाउन थालियो

केही समयघि भारतमा कोरोना संक्रमणबाट निधन भएकाहरुको शवदाह गर्ने स्थान अभावले खुला चौरमा जलाइएका दृश्य देख्दा नेपालमा पनि यस्तै हैन त हेन भन्ने चिन्ता जागेको थियो । अहिले नेपालमा पशुपति आर्यघाटमा शव जलाउने स्थान अभाव भएपछि वाग्मती किनारमा जलाउन थालिएको छ ।

कोरोना सङ्क्रमण भई निधन भएका दैनिक सरदर ३० को हाराहारीमा शव आउन थालेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिनुभयो । विद्युतीय शवदाह गृहमा तीनवटा शवदाह यन्त्र छन् । यी यन्त्रले नभ्याएपछि हाल वाग्मती किनारमा पनि सङ्क्रमण भई निधन भएकाको शवदाह हुन थालेको छ ।

सङ्क्रमण भई निधन भएकाको चाप विद्युतीय शवदाह गृहमा बढ्न थालेपछि पाँच वटा यन्त्र दाउराबाट जलाउन मिल्ने गरी थप्न लागिएको कोषले जनाएको छ । यी यन्त्र यसै हप्ता तयार भइसक्ने जनाइएको छ । गत वर्ष जेठ पहिलो सातापछि कोरोना सङ्क्रमण भई निधन भएकाको शव विद्युतीय शवदाह गृहमा आउन थालेको थियो । गत वर्ष धेरै शव आएका दिन १५ वटासम्म आउने गरेको थियो ।

यस वर्ष कोरोनाबाट मृत्यु हुनेको दर बढेकाले पशुपतिमा शव आउने क्रम पनि बढेको हो । विद्युतीय शवदाह गृहको एउटा यन्त्र दुई दिनअघिदेखि बिग्रिएका कारण पनि कोरोनाबाट मृत्यु भएकाको शव वाग्मती किनारका अन्य स्थानमा जलाउनु परेको कोषका प्रशासकीय अधिकृत कुमार थापाले जानकारी दिनुभयो । बिग्रिएको यन्त्र मर्मत गर्न लागिएको पनि उहाँले बताउनुभयो ।

भष्मेश्वर र आर्यघाटमा पनि कोरोनाको दर तीव्र भएसँगै शव आउने क्रम बढ्न थालेको कोषले जनाएको छ । घाटमा सामान्य अवस्थामा निधन भएका ४० वटासम्म शव आउन थालेको छ । भष्मेश्वरमा नौ र आर्यघाटमा दुई गरी ११ घाटमा शवदाह हुने गरेको छ । यी ११ वटै घाटमा दाउराबाट शवदाह हुने गरेको छ ।

विद्युतीय शवदाह गृहमा पौने घण्टादेखि एक घण्टासम्ममा शवदाह हुने गरेको छ । दाउराबाट जलाइने घाटमा तीनदेखि चार घण्टामा शवदाह सकिने गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.