मलेसियाले बढायो आप्रवासी श्रमिकको तलब
नेपालीहरुको वैदेशिक रोजगारीको प्रमुख गन्तव्यका रुपमा रहेको मलेसियाले त्यहाँ काम गर्ने आप्रवासी श्रमिकको आधारभूत तलब वृद्धि गरेको छ ।

अब त्यहाँ आधारभूत तल एक हजार पाँच सय रिङ्गिट भएको छ । यसअघि मलेसियामा काम गर्ने विदेशी श्रमिकको आधारभूत तलब एक हजार दुई सय रिङ्गिट थियो ।
मलेसियास्थित नेपाली दूतावासका अनुसार मलेसिया सरकारले मे १ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवसका दिनदेखि लागू हुने गरी आप्रवासी कामदारको आधारभूत तलब बढाएको हो ।
योसँगै दूतावासमा श्रमिकको मागपत्र प्रमाणीकरणका लागि कागजात पेस गर्दा पनि आधारभूत तलब एक हजार पाँच सय रिङ्गिट नै तोकेर पेस गर्न एक सूचनामार्फत म्यानपावर कम्पनीलाई आग्रह गरेको छ ।
प्रमाणीकरणका लागि दूतावासमा पेस भएका तर अहिलेसम्म प्रमाणीकरण नभएका मागपत्रका सम्बन्धमा नयाँ तलब उल्लेख गरी पुनः पेस गर्न दूतावासले म्यानपावर कम्पनीलाई आग्रह गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्