जन सरोकार

टुँडिखेलमा सूचना प्रविधिदेखि पुरोहितसम्म ‘सिपमूलक तालिम’ (तस्वीरहरुसहित)

काठमाडौँ महानगरपालिकाले ‘विश्व मजदुर दिवस’ को अवसर पारेर वैशाख १९ गते अर्थात् मे १ देखि टुँडिखेलमा ‘सिप मेला २०८१’ आयोजना गरिरहेको छ ।

२ हजार ८१ जनालाई निःशुल्क सिपमुलक तालिम दिने र तालिम लिएकाहरुलाई ‘रोजगार’, ‘स्वरोजगार’ र ‘अन द जब ट्रेनिङ’ उपलब्ध गराउने लक्ष्यसहित मेला थालिएको हो ।

कामपा उपप्रमुख सुनिता डगोलले सिलाइका लागि कपडा काटेर र काटिएको कपडालाई मेसिनमा सिलाएर मेलाको समुद्घाटन गर्दै विगतका तालिमभन्दा अहिलेको तालिम फरक विशेषताको भएको बताउनुभयो ।

‘विगतमा पनि धेरै तालिम धेरै भए तर जनशक्ति आवश्यक पर्ने ठाउँमा सिपयुक्त जनशत्तिःको सधैँ अभाव नै छ । यो हेरेपछि हामीलाई थाहा भयो, तालिम दिनेले दिँदैमा र लिनेले लिँदैमा नतिजा नआउँदैन ।

विगतको यो अभ्यासलाई सुधार गर्दै हामीले उपलब्ध गराउने तालिमलाई ‘रोजगार’, ‘स्वरोजगार’ र ‘अन द जब ट्रेनिङ्’ सँग जोडेका छौँ ।’ उहाँको भनाइ थियो ।

यति धेरै सहभागी देख्दा थप जिम्मेवारी महसुस भएको छ । कार्यक्रम उपस्थित सहभागिताको प्रसङ्ग उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘धेरै संख्या देख्या एकातिर महानगरपालिकाप्रति यहाँहरुले गर्नुभएको विश्वासप्रति अझै काम गर्नु पर्ने महसुस भयो । अर्कोतिर देशमा वेरोजगारको ’यसलाई स्थानीय तहमा विस्तार गर्नु पर्ने देखियो । उहाँले थप्दै भन्नुभयो, ‘हामी आफैँसँग रोजगारीका अवसर छन् । यसलाई पहिचान गरौँ । यहीँ केही गर्न सकिन्छ । गरी खाने वातावरण बनाउन सकिन्छ । यतातिरको मनोविज्ञान विकास गरौँ ।’

उद्घाटन समारोहमा करिब ५ हजार ५ सय व्यक्ति सहभागी हुनुभएको सामाजिक विकास विभागका निमित्त प्रमुख बिमला कोइरालाले जानकारी दिनुभयो ।

‘शिक्षालाई सिपसँग’, ‘सिपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोडेर सिप नहुनेलाई सिपयुक्त बनाउनु, सिप भएकालाई रोजगार तथा स्वरोजगार बनाउनु, रोजगारमा भएका तर सिप नभएकाहरुको व्यावसायिक स्तर वृद्धि गराएर आयमा वृद्धि गराउनु तालिम सञ्चालनको मुख्य उद्देश्य हो ।

१ महिनामा २ हजार ८१ जनालाई उच्च माग भएका पेशासँग सम्बन्धित निःशुल्क तालिम उपलब्ध गराउनु कार्यक्रमका क्रियाकलाप हुन् ।

सिप मेलामा तालिमका लागि १० वटा क्षेत्र निर्धारण गरिएका छन् । क्षेत्रभित्र २९ प्रकारका पेशागत तालिम हुनेछन् । मागका आधारमा थप क्षेत्र र पेशा थप गर्ने योजना छ ।

सुरु गर्न लागिएका तालिममध्ये अटो मोवाइल्स एउटा क्षेत्र हो । यसभित्र अटो इलेक्ट्रिक, अटो एअर कन्डिसन, मोटरवाइक र स्कुटर रिपेयर (इभी), इलेक्ट्रिकल कार रिपेयर (इभी) विषय छन् ।

दोस्रो निर्माण क्षेत्र हो । यसमा सिकर्मी, टाइल एण्ड मार्वल फिटर, इलेक्ट्रिसियन र प्लम्बिङ् तालिम हुनेछ । हस्पिटालिटी एण्ड म्यानेजमेन्ट विधा तेस्रो हो । यसमा वारिस्ता, फुड एण्ड कुक, वेकरी, वार टेन्डिङ् र वेटररवेट्रेस प्रशिक्षण हुनेछ ।

सूचना प्रविधि (इन्फरमेसन एण्ड टेक्नोलोजी) चौथो क्षेत्र हो । यसमा डिजिटल मार्केटिङ्, ग्राफिक्स डिजाइनिङ्, कम्प्युटर हार्डवेयर एण्ड नेटवर्किङ्, सीसीटिभी क्यामरा विषय राखिएका छन् ।

मेकानिकलमा वेल्डिङ् र रेफ्रिजेरेटर एण्ड एसी टेक्निसियनको तालिम हुनेछ । आर्ट एण्ड कल्चरमा आर्ट एण्ड स्कप्चरको प्रशिक्षण हुनेछ । यी क्रमशः पाँचौँ र छैटौँ क्षेत्र हुन् ।

सातौँ क्षेत्र गार्मेन्ट्स हो । यसमा टेलरिङ्/ड्रेस मेकर र फेसन डिजाइनिङ्को कक्षा हुनेछ । आठौँ क्षेत्र व्युटिसियन (सौन्दर्य कला)हो । यसमा नेल आर्ट, मेक अप आर्ट, आइलेस आर्ट, हेअर कट एण्ड स्टाइल, र सैलुन प्रशिक्षण हुनेछ ।

नवौँ क्षेत्र डिजाइनिङ् हो । यसमा साइन मेकिङ् प्रशिक्षण हुनेछ । दशौँ विधा पुरोहित हो । यसमा पुरोहित र ज्योतिष सम्बन्धी प्रशिक्षण हुनेछ ।

तालिममा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल (हिसान), नेपाल उद्योग परिसंघ (सीएनआइ), नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ (एफपी टीइएन), ग्लोकल, सिप्रदी ट्रेडिङ् र सीसीटिभी स्टेशन एण्ड स्मार्ट होमसँग तालिम सञ्चालन गर्न सहकार्य भएको छ ।

तालिम कार्यक्रममा रोजगारदाता (सरकारी, गैरसरकारी, निजी, उद्योग तथा वाणिज्य क्षेत्र, दातृ निकाय), शैक्षिक क्षेत्र (विद्यालय, विश्वविद्यालय र तालिम प्रदायक संघ संस्था), सामाजिक क्षेत्र सबै एकै ठाउँ छन् ।

तालिमको अन्तिम दिन रोजगार मेला हुनेछ । यस दिन रोजगारदाताहरु स्टलमा रहनु हुनेछ । सम्बन्धित रोजगारदातासँग सम्बन्धित तालिम प्राप्त व्यक्तिहरु सम्पर्कमा गएर आफ्नो सिपका बारेमा बताउनु हुनेछ । यही ठाउँबाट धेरै बेरोजगारले रोजगार पाउने छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.