युएइमा नेपालीद्वारा दूताबास घेराउ, लकडाउन खुलेलगत्तै नेपाल पठाउने दूताबासको प्रतिबद्धता
संयुक्त अरब इमिरेट्स (युएई)मा कार्यरत केही नेपालीहरुले लकडाउनका कारण काम नपाएर अलपत्र परेको भन्दै तत्काल स्वदेश फर्काउने मागसहित नेपाली दूताबासमा धर्ना दिएका छन् । दुबईको इमिरेट्स क्याब ट्याक्सीमा काम गर्ने नेपाली नागरिकले मंगलबार नेपाल फर्काउन माग गर्दै धनाए दिएका हुन् ।
धर्नामा सो कम्पनीको बेवास्ताले अलपत्र परेका ३० नेपालीमध्ये १७ जना श्रमिक पुगेका थिए । यसअघि उनीहरूलाई यूएईकै प्रवासी नेपालीहरूले कोठा खोजेर राखेका थिए । तर, कोठा भाडाको समय अवधि सकिएपछि फेरि अलपत्र हुने अवस्था आएको भन्दै उनीहरु दूतावास पुगेका हुन् । उनीहरु लगेज बाकेरै दूतावासमा पुगेका थिए ।
मासिक १५ सय दिराम कमाइ हुन्छ भनेर आठ महिनाअघि युएई गएका उनीहरूलाई कम्पनीले महिना मरेपछि १ सय ८ दिराम दिन थाल्यो । ६ महिनामा पनि तलबको समस्या समाधान नभएपछि उनीहरू एक महिना अघिबाट नेपाल फर्किने प्रक्रियामा लागेका थिए । १० जना त फर्किए पनि । तर त्यति नै बेला नेपालले अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछि अरू उतै रोकिए ।
उनीहरु धर्नामा बसेपछि दूतावासमा वार्ता भएको थियो । दूतावासले उनीहरुलाई पुनः एनआरएनएको सहयोगमा सारजाहमा बस्ने व्यवस्था मिलाएको बताएको छ । उनीहरुलाई सारजाहसम्म लैजाने प्रवन्ध पनि मिलाइएको दूतावासले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
ती कामदारहरु आठ महिना अघि मात्रै त्यहाँ पुगेका थिए । उनीहरुलाई लकडाउन खुलेलगत्तै नेपाल फर्किने प्रवन्ध गर्ने प्रतिवद्धता दूतावासले गरेको छ ।