स्वास्थ्य

बाँके र चितवनमा गरी थप पाँच सङ्क्रमितको मृत्यु

कोरोना सङ्क्रमणका कारण चितवन जिल्लामा तीन जनाको मृत्यु भएको छ भने बाँकेमा उपचारका लागि भर्ना भएका थप दुई कोरोना सङ्क्रमितको अस्पतालमै मृत्यु भएको छ ।

समाचार अनुसार चितवनमा मृत्यु हुनेमा चितवन, अर्घाखाँचीका र रुपन्देहीका एक÷एक जना छन् ।भरतपुर अस्पतालमा उपचारका क्रममा भरतपुर महानगरपालिका–२५ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

निमोनियाको समस्या भई वैशाख १९ गते अस्पतालमा भर्ना भएका उनमा २० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोभिड सङ्क्रमण पुष्टिपछि कोभिड सघन उपचारकक्षमा उपचारका क्रममा बुधबार बिहान ५ः३५ बजे मृत्यु भएको हो ।

यस्तै रुपन्देहीको बुटवल उपमहानगरपालिका–९ का ४२ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । उनको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । उनी श्वासप्रश्वासमा समस्या आई यही वैशाख २१ गते मेडिकल कलेजमा आएका थिए । उनमा २१ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएपश्चात अस्पतालमा उपचारका क्रममा उनको मङ्गलबार राति २ः३० बजे मृत्यु भएको हो ।

यसैगरी अर्घाखाँचीको भूमिकास्थानका एक पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा भूमिकास्थान–१ का ४२ वर्षीय पुरुष रहेको चितवन मेडिकल कलेजले जनाएको छ । कलेजका अनुसार श्वासप्रश्वासमा समस्या आई यही वैशाख २१ गते अस्पताल आएका उनको राति २ः०२ बजे मृत्यु भएको हो । उनमा वैशाख २० गते बुटवलको नेशनल प्याथोल्याबमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

त्यस्तै नेपालगञ्ज उपमहानगरपालिका–४ निवासी ६० वर्षीय पुरुष र डुडुवा गाउँपालिका–५ बाँके निवासी २७ वर्षीय पुरुषको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार यही वैशाख १० गते भेरी अस्पताल नेपालगञ्जमा भर्ना हुनुभएका ६० वर्षीय पुरुषको गए राति ११:४५ बजे मृत्यु भएको थियो भने वैशाख १५ गते शिक्षण अस्पताल कोहलपुरमा भर्ना हुनुभएका २७ वर्षीय पुरुषको आज बिहान ४ः४० बजे मृत्यु भएको हो ।

बिरामीको रोगको प्रकृतिअनुसार उपचार गर्दागर्दै पनि स्वास्थ्य अवस्थामा सुधार नआई उहाँहरुको अस्पतालमै मृत्यु भएको हो । मृतकको शव व्यवस्थापनका लागि जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र र नेपाली सेनाले परिवारसँगको समन्वयमा तयारी गरिरहेको स्रोत व्यक्ति वलीले बताउनुभयो । यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १४५ पुगेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.