स्वास्थ्य

कान्ति अस्पतालमा नयाँ भेरियन्टसहितको पाँच बालबालिका सङ्क्रमित

दिनमा एक दुईजना देखिएकामा आज एकै दिन बढी सङ्ख्या देखिएको

वैशाख २२ गते बुधबार कान्ति बाल अस्पतालमा एकै दिन पाँचजना बालबालिकामा सङ्क्रमण पुष्टि भएको छ । आज पत्ता लागेकासँगै नयाँ भेरियन्टसहित कोभिड–१९ का बिरामीको सङ्ख्या १० पुगेको अस्पतालले जनाएको छ ।

कान्ति बाल अस्पताल

गत वर्षभन्दा यो वर्ष सङ्क्रमण फैलिने दर उच्च भएकाले सङ्क्रमित थपिरहेको अस्पतालले जनाएको छ । एक सातायता दिनमा एक दुईजना देखिएकामा आज एकै दिन बढी सङ्ख्या देखिएको अस्पतालका प्रवक्ता डा कृष्णप्रसाद विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्क्रमण सबैतिर बढिरहेमा यहाँ पनि बढ्न सक्छ ।”

कोभिडकै उपचारका लागि तोकिएको अस्पताल नभएकाले अरू स्वास्थ्य समस्या लिएर आएका बिरामीको परीक्षण गर्दा कोभिड पाइएको अस्पतालले जनाएको छ । रुघा, खोकी, ज्वरो, निमोनिया भएर आएका ती बालबालिकामा परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको प्रवक्ता डा विष्टले बताउनुभयो ।

अस्पतालले कुनै पनि बालबालिका अस्पताल छिर्नासाथ ज्वरो हेर्न ‘फिबर क्लिनिक’ को व्यवस्था गरेको छ । कोभिडसँग मिल्दो लक्षण भएका शङ्कास्पद बिरामीलाई छुट्टै वार्डमा राखिने गरिएको प्रवक्ता डा विष्टले बताउनुभयो । बालबालिकाको रिपोर्ट पोजेटिभ भएमा कोभिडका लागि छुट्याइएको श्ययामा उपचार गरिन्छ । सङ्क्रमित नभएको पाइएमा अरू सामान्य श्ययामा उपचार गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले पनि अस्पतालमा कोभिडभन्दा अरू बिरामी धेरै छन् ।”

अस्पतालले नियमित सेवालाई निरन्तरता दिइरहेको भए पनि सरकारले काठमाडौँ उपत्यकामा निषेधाज्ञा घोषणा गरेपछि बिरामीको सङ्ख्या ह्वात्तै घटेको अस्पतालले जनाएको छ । सामान्य अवस्थामा बहिरङ्ग सेवा, आकस्मिक सेवा गरेर दैनिक सातदेखि आठ सयसम्म बिरामी आउने गरेका थिए । अहिले दैनिक झण्डै एक सयदेखि डेढ सयसम्म छ । उहाँले भन्नुभयो, “यातायातको साधन नभएकाले पनि आउन नसकेको हुनसक्छ ।”

अस्पतालले दुई भेन्टिलेटर र चार आइसियुसहित २६ श्यया कोभिड सङ्क्रमित बालबालिकाका लागि छुट्याइएको छ । यी सबै श्ययामा अक्सिजनको व्यवस्था छ । सङ्क्रमितको सङ्ख्या बढेर आवश्यक भएमा थप श्ययाको व्यवस्था गर्न सकिने उहाँले बताउनुभयो ।

अस्पतालले शल्यक्रिया गर्नुपर्ने बिरामीलाई पहिले कोभिड परीक्षण गर्दै आएको छ । परीक्षण गर्दा नेगेटिभ भएमा तुरुन्त शल्यक्रिया गरिने र पोजेटिभ भएका बिरामी, जसलाई केही दिन ढिलाइ गर्दा स्वास्थ्यमा असर गर्दैन भने तत्काल नगरिने उहाँले बताउनुभयो । तत्काल नै शल्यक्रिया आवश्यक भएका सङ्क्रमितलाई चिकित्सकले पिपिई लगाएर शल्यक्रिया गर्दै आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले अघिल्लो वर्ष पनि त्यसरी नै सङ्क्रमित बालबालिकालाई शल्यक्रिया गरेका थियौँ ।”

देशभर जम्मा सङ्क्रमित बढेपछि त्यसमा बालबालिकाको सङ्ख्या पनि बढेको छ । सरकारी तथ्याङ्कमा जम्मा सङ्क्रमितमध्ये बालबालिका सङ्ख्या एकदेखि दुई प्रतिशत बढेको उल्लेख छ । अहिलेसम्म अस्पताल आएकामा जटिल समस्या भएका बालबालिका नभएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार अरू उमेर समूहजस्तै बालबालिका पनि धेरै ‘होम आइसोलेशन’ मा रहेको हुनसक्ने देखिएको छ ।

गत वषजस्तै बालबालिकामा सङ्क्रमण हुँदा रुघाखोकी, पखाला, जीउ दुख्नेलगायत लक्षण बढी मात्रामा देखिरहेको छ । बालबालिकामा समस्या आएमा अस्पताल लगे पनि सामान्य अवस्थामा घरमा नै राखेर हेरचाह गर्न सकिने प्रवक्ता डा विष्टको सुझाव छ ।

अहिले विद्यालय बन्द भएकाले धेरै बालबालिका घरमै छन् । उनीहरुलाई अरूभन्दा आफ्नै अभिभावकबाट सङ्क्रमण सर्ने सम्भावना बढी छ । बालबालिकालाई कोभिडबाट बचाउन अभिभावक आफैँ सुरक्षित हुनुपर्ने डा विष्टको सुझाव छ । आफू विवाह, व्रतबन्धलगायत भीडभाडमा नजाने र कतै अत्यावश्यक कामका लागि हिँड्नुपर्दा सुरक्षाको मापदण्ड अपनाउनुपर्छ । बालबालिकालाई यो समयमा पनि नियमित लगाउने खोप लगाउनुपर्ने उहाँको सुझाव छ । अभिभावकले पनि कोभिड विरुद्धको खोप उपलब्ध भएसम्म लगाउन आवश्यक छ । बालबालिकालाई सामान्य ज्वरो र खोकी हुँदा घरमा नै औषधि खुवाएर राख्न सकिन्छ । उहाँले भन्नुभयो, “तर उनीहरुलाई सास फेर्न गाह्रो भएमा, ज्वरो उच्च भएमा, बेहोस हुने र सास फेर्न समस्या हुँदा अस्पताल लैजानुपर्छ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.