जन सरोकार

३८ दिनमा एक सय ७६ महिला तथा बालिकामा हिंसा अधिकांश घटना परिवारभित्रै

लकडाउन (बन्दाबन्दी)को अवधिमा (चैत ११ देखि वैशाख १९ गतेसम्म) महिला पुनःस्थापना केन्द्र (ओरेक) मा १७६ वटा महिला तथा बालिका हिंसा सम्बन्धी घटना दर्ता भएका छन् । ओरेकले सञ्चालन गरिरहेको तीन हटलाइन र २८ जना मनोपरामर्शदातामार्फत यी घटना दर्ता भएका हुन् ।

महिला तथा बालिका हिंसाका घटनामा १०३ घरेलु हिंसा, १५ सामाजिक हिंसा, २६ बलात्कार र पाँच बलात्कारको प्रयास रहेका छन् । यो अवधिमा एउटा हत्या, दुई हत्या वा आत्महत्या अनुसन्धानका क्रममा रहेको, सात यौन दुव्र्यवहारका घटना, ११ आत्महत्या, दुई हत्याको प्रयास र दुई साइवर अपराधसँग सम्बन्धित घटना रहेका छन् ।

सामान्य अवस्थामा जस्तै पीडक परिवारकै सदस्य बढी भएको पाइएको छ । हिंसा गर्ने व्यक्तिमा सबैभन्दा बढी ७८ जना श्रीमान् र ३७ जना परिवारका सदस्य रहेको पाइएको छ । यस अवधिमा सङ्कलन भएका २६ बलात्कारको घटनामध्ये दुई सामूहिक बलात्कार, १८ छिमेकी, एक बाबु, एक आफ्नै दाजु, एक परिवारका सदस्य, तीन प्रेमी ठानिएका व्यक्ति, र दुई पहिचान नखुलेका व्यक्ति रहेका ओरेकका कार्यकारी निर्देशक लुभराज न्यौपानेले जानकारी दिनुभयो ।

यी घटनालाई उमेर समूहका आधारमा हेर्दा सबैभन्दा बढी १७ देखि २५ वर्ष उमेर समूहका ५५ महिला हिंसाबाट प्रभावित भएका पाइएको छ । २६ देखि ३५ वर्षका ४५, ३६ देखि ४५ उमेरका २७, ४६ वर्षभन्दा माथि उमेरका १७, १६ वर्षभन्दा कम उमेरका २५ बालिका र उमेर समूह थाहा नभएका सात जना हिंसाबाट प्रभावित भएको ओरेकले जनाएको छ ।

ओरेकका अनुसार यी घटनामा ७४ प्रहरीमा उजुरी दर्ताका लागि गएका, २२ मेलमिलाप समितिमा गएका, २१ हिंसा सहन नसकेर आमाबाबु वा आफन्तको घरमा बेसेका र बाँकी प्रभावितले कुनै निकायमा सहयोगका लागि हाल उजुरी गरिनसकेका देखिन्छन् । विश्वभरि फैलिएको कोरोना महामारीको समयमा पनि महिला तथा बालिकामाथि हुने वा हुन सक्ने हिंसालाई उचित किसिमले सम्बोधन गर्ने संयन्त्र आवश्यक रहेको ओरेकले बताएको छ ।

क्वारेन्टाइनमा बस्ने महिला तथा बालबालिकाको हितमा ओरेकले छुटै स्थानको व्यवस्थापन गरिदिन माग गरेको छ । बन्दाबन्दीमा बढी महिला हिंसाको सिकार भएको जिल्ला सिरहाबाट ३५, मोरङबाट २६, धनुषाबाट २३, कैलालीबाट २०, दाङबाट १४, सुनसरीबाट १२ र रुकुमबाट नौ आदि रहेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.