समाचार

सभापति देउवाद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण- कांग्रेसले गठन गर्‍यो आर्थिक समिति

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरेर कोरोनाको रोकथाम, उपचार र कोरोनाका कारण अप्ठ्यारोमा परेका नेपालीको उद्धार गर्नेबारेमा ध्यानाकर्षण गराउनुभएको छ ।

उहाँले नेपालगञ्जमा कोरोनाको परीक्षण व्यापकरुपले गरेर स्थिति थप जटिल बन्न नदिन र सन्त्रासमा रहेका नगरवासीलाई आश्वस्त राख्नका लागि तत्काल कार्य गर्न गराउन आग्रह गर्नुभएको काँग्रेसले जनाएको छ । साथै देशभर पिसिआर प्रविधिद्वारा परीक्षण द्रुत गतिमा विस्तार गर्न सभापति देउवाले माग गर्नुभएको छ । साथै उहाँले कुवेत सरकारको सेल्टरमा राखिएका करिब तीन हजार एवं मध्यपूर्व र विश्वभर अप्ठ्यारोमा रहेका नेपालीलाई क्रमशः उद्धार गर्ने बारे सरकारलाई व्यवस्थित योजना बनाएर कार्यान्वयन गर्न आग्रह गर्नुभएको काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

यसैगरी सभापति देउवाले प्रधानमन्त्री ओलीलाई सीमानाकामा क्वारेन्टाइनमा बसेको महिना दिन पुगिसक्दा पनि अझै कयौँले देश आउन नपाएको स्मरण गराउँदै तिनलाई आउन दिन एवं भारतको विभिन्न राज्यमा अलपत्र परेका नेपालीलाई उद्धार गर्ने व्यवस्था मिलाउनसमेत आग्रह गर्नुभएको छ ।

उहाँले प्रधानमन्त्रीलाई अप्ठ्यारोमा परेका नेपालीको उद्धार गर्नु सरकारको कर्तव्य रहेको स्मरण गराउँदै केन्द्र सरकारले उद्धार गर्ने एवं प्रदेश र स्थानीय सरकारको समन्वयमा मापदण्डयुक्त क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेर मात्रै घर जान दिने गरी व्यवस्थित र कडाइका साथ कार्य गर्न र गराउन आग्रह तथा माग गर्नुभएको थियो ।

‘अर्थतन्त्र केन्द्रित विशेष समिति’ गठन

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोनाले देशको विविध क्षेत्रमा पारेको असरबारे अध्ययन, विश्लेषण एवं देशका लागि आवश्यक दृष्टिकोण निर्माण गर्न ‘अर्थतन्त्र केन्द्रित विशेष समिति’ गठन गरेको छ ।

पार्टीको केन्द्रीय कार्यसमितिको यही वैशाख १७ गते सम्पन्न बैठकले कोरोनाले देशको विविध क्षेत्रमा कोरोनाले पारेको असरबारे अध्ययन गर्न विभिन्न समिति गठन गर्ने निर्णय गरेबमोजिम सभापति शेरबहादुर देउवाले आज सो समिति गठन गर्नुभएको हो ।

विगतमा अर्थ मन्त्रालयमा मन्त्री र राज्यमन्त्रीको जिम्मेवारी सम्हाली सक्नुभएका, संसदीय दलमा अर्थमन्त्रालयको संयोजन गरिरहनुभएका एवं राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष रहेर विगतमा नेतृत्व गरिसक्नुभएका पार्टीका नेता तथा विज्ञ रहने गरी समिति गठन गरिएको काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

पार्टीका नेता डा रामशरण महत संयोजकत्वको उक्त समितिमा नेता महेश आचार्य, ज्ञानेन्द्रबहादुर कार्की, डा नारायण खड्का, डा मीनेन्द्र रिजाल, चिनकाजी श्रेष्ठ, दिपकुमार उपाध्याय, भरत शाह, उदय शमशेर राणा एवं अर्थविद् डा पृथ्वीराज लिगल, डा शङ्कर शर्मा, डा जगदीशचन्द्र पोख्रेल, डा गोविन्द पोख्रेल, डा स्वर्णिम वाग्ले सदस्य रहनुभएको छ ।

समितिले तत्कालीनरुपमा अत्यावश्यक राहतबारे सुझाव, अल्पकालीन रुपमा आगामी बजेटको प्राथमिकताबारे धारणा र दीर्घकालीन रूपमा कोरोनापछिको अर्थतन्त्रबारे दूरगामी दृष्टिकोण निर्माण गर्नेछ । समितिको अध्ययन, विश्लेषण र अभिमतका आधारमा कांग्रेसले आफ्नो अवधारणा र भुमिकालाई थप परिस्कृत एवं थप प्रभावकारी बनाउने पार्टी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.