राजनीति

गठबन्धनका असमझदारी मिलाउन सचिवालय क्रियाशील रहने

पाँच दलीय सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनका क्रममा विभिन्न पालिकाहरूमा गठबन्धनका दलहरूबीच असमझदारी सिर्जना भएमा आपसी समन्वयमा समस्यालाई तत्काल समाधान गर्न सम्बद्ध दलका सचिवालय क्रियाशील रहने जनाएको छ ।

नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति सचिवालयका संयोजक एवं पार्टी केन्द्रीय सदस्य नानु बाँस्तोलाको अध्यक्षतामा गठबन्धनमा सामेल राजनैतिक दलका सचिवालय पदाधिकारी एवं सदस्यहरूको बैठकले सो निर्णय गरेको हो ।

बैठकले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित र सौहाद्र तबरले सम्पन्न गराउन गठबन्धनमा रहेका सबै राजनैतिक दलबीच आपसी समन्वय र समझदारीका आधारमा अगाडि बढाउन प्रतिबद्ध रहने निर्णय गरेको छ ।

यसैगरी गठबन्धनमा रहेका दलहरूबीच आपसी समझदारीमा दिइएका उम्मेदवार विरुद्ध गठबन्धनभित्रैका दलबाट दर्ता भएका उम्मेदवारी तत्काल निष्क्रिय गराउन आवश्यक पहल गर्न सम्बन्धित दलको नेतृत्व समक्ष आग्रह गर्ने र त्यस्ता उम्मेदवारबारे हरेक दलले एक अर्कालाई जानकारी गराउने निर्णय गरिएको छ ।

स्थानीय तह निर्वाचनका क्रममा विभिन्न पालिकाहरूमा गठबन्धन दलबाहेक अन्य राजनैतिक दलसँग असहमति वा असमझदारी उत्पन्न भएको परिस्थितिमा गठबन्धनमा रहेका दलरूरुबीच मतैक्यता कायम गरी समस्या समाधान गर्न सचिवालय क्रियाशील रहने जनाइएको छ ।

बैठकमा कांग्रेसका बाँस्तोला, नेकपा (माओवादी केन्द्र) का डोरप्रसाद उपाध्याय, नेकपा (एकीकृत समाजवादी) का लक्ष्मण केसी, जनता समाजवादी पार्टी नेपालका लालबहादुर तामाङ र राष्ट्रिय जनमोर्चा हिमलाल पुरी उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.