स्वास्थ्य

गुल्मीमा सात वर्षीय बालकले कोरोना जिते, बाँकेमा थप आठ सङ्क्रमितको मृत्यु

नयाँ भेरियन्टको कोरोना संक्रमणबाट बालबालिका बढी प्रभावित भैरहेकाबेला गुल्मीमा एक सात वर्षीय बालकले कोरोना जितेका छन् । गुल्मीको मदाने गाउँपालिकाले सञ्चालन गरेको कोभिड–१९ विशेष अस्पतालमा सात वर्षीय बालकले कोरोना जितेका हुन् ।

मदाने–१ अग्लुङका सात वर्षीय बालक राजेश राउतले गाउँकै अस्थायी कोभिड अस्पतालमा कोरोनालाई जितेका हुन् । उनलाई श्वास फेर्न गाह्रो हुने र ज्वरो आएपछि अभिभावकले वैशाख २० गते स्वास्थ्यचौकी लगेका थिए । स्वास्थ्यकर्मीले कोरोनाको आशङ्कामा एन्टिजेन परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो ।

सोही दिन नै उनलाई गाउँपालिकाले वडा नं ४ म्यालपोखरीमा सञ्चालन गरेको अस्थायी कोभिड अस्पतालमा भर्ना गरी गाउँपालिकाले खरिद गरेको अक्सिजन दिइएको थियो । अन्य भिटामिनको सहायताले कोरोना निको भई पाँचौँ दिनमा उनलाई शनिबार साँझ डिस्चार्ज गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक तीर्थराज पन्थीले बताउनुभयो ।

कोरोना सङ्क्रमितको उपचारका लागि म्यालपोखरीमा १० शय्याको अस्थायी कोभिड–१९ विशेष अस्पताल बनाइएको छ । अस्पतालमा तीन अक्सिजन प्लान्ट र छ अक्सिजन सिलिण्डर छन् । पालिकाले सञ्चालन गरेको अस्थायी कोभिड अस्पतालबाटै कोरोना जितेको जिल्लामा पहिलोपटक हो ।

उता बाँकेमा संक्रमितको मृत्यु हुने क्रममा कुनै सुधार हुन सकेको छैन । आइतबार बाँकेका अस्पतालमा उपचाररत थप आठ सङ्क्रमितको गए राति मृत्यु भएको छ । भेरी अस्पतालमा पाँच र शिक्षण अस्पताल कोहलपुरमा तीन गरी थप आठ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बढैयाताल गाउँपालिका–१ बर्दिया निवासी ३० वर्षीया महिला, सोही गाउँपालिका–२ निवासी ६५ वर्षीया महिला, दङ्गीशरण गाउँपालिका–५ दाङ निवासी ८५ वर्षीया महिला, नेपालगञ्ज उपमहानगरपालिका–१५ निवासी ७३ वर्षीय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका–२ निवासी ५३ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

यसैगरी लम्कीचुहा नगरपालिका–१ कैलाली निवासी ४३ वर्षीय पुरुष, तुलसीपुर उपमहानगरपालिका–६ दाङ निवासी ४९ वर्षीय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका–११ निवासी ४३ वर्षीय पुरुषको उपचारकै क्रममा गए राति मृत्यु भएको जिल्ला कोभिड स्रोत व्यक्ति वलीले जानकारी दिनुभयो । यससँगै कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेका १८० र जिल्ला बाहिरका १३६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.