जन सरोकार

आरुबारीमा मेलम्चीको ट्याङकी अघिको सडक नै पोखरी

राजधानी उपत्यकाबासीका लागि खानपानी सुविधा उपलब्ध गराउन गोकर्णेश्वर नगरपालिका–९ आरुबारीमा बनाइएको पानीट्याङकी अगाडिको सडक पनि पोखरी बन्दा आवतजावतमा समस्या भएको छ ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेको पानी पोखरीअघिको सडकको खाल्डो नपुर्दा केही दिनदेखि दैनिक भइरहेको वर्षाका कारण सडकमा पानी जमेर सवारी साधन र यात्रु आवतजावतमा समस्या भएको हो ।

बौद्ध र जोरपाटीबाट आरुबारी हुँदै गोकर्ण, सुन्दरीजल, कपनलगायत स्थान जाने यो सडकमा आवतजावत गर्न समस्या भएको यात्रु रमिता लामाले गुनासो गर्नुभयो ।

सडकमा बनेको गहिरो खाडलमा पानी जमेका कारण स्कुटर तार्न समस्या भएको उहाँले सुनाउनुभयो । सडकमा जमेको पानी जाने निकास पनि नभएकाले यात्रु र सवारी साधान समस्यामा पर्ने गरेका छन् ।

राष्ट्रिय गौरवको आयोजना भए पनि काम गर्दा ध्यान नदिँदा समस्या भएको स्थानीयवासीको गुनासोे थियो । स्थानीयवासी पासाङ शेर्पाले वर्षाको पानी जमेको वा पानी पोखरीमै चुहावट भएको भन्न नसकिने बताउनुभयो ।

ठूलो पानी पोखरी भएको स्थानमा निर्देशनालयका कोही कर्मचारीसमेत नभेटिँदा के भएको हो भन्ने अन्योल र त्रासमा बस्नुपरेको उहाँको भनाइ थियो । निर्देशनालयका आयोजना निर्देशक राजेन्द्र सापकोटाले पानीपोखरीको चुहावट नभएको बताउनुभयो ।

पानीपोखरी निर्माण भएपछि त्यसअघिको सडक कालोपत्र गर्न बाँकी रहेकाले पानी जमेको हुनसक्ने उहाँको ठम्याइ थियो । पोखरीमा वैशाख पहिलो सातादेखि पानी आउन थालेको थियो । सुन्दरीजलमा प्रशोधन भएको मेलम्चीको पानी काठमाडौँ उपत्यकाका १० वटा पानी पोखरीमार्फत् ग्राहकको धारामा वितरण गरिन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.