जन सरोकार

अत्यावश्यक सेवाका लागि सवारी पास नचाहिने

यही वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनका दिन मतदानका दिन आन्तरिकरूपमा सञ्चालन हुने सबै प्रकारका यातायात बन्द गर्ने निर्णय गरे पनि अत्यावश्यक सेवाका लागि सवारी पास नचाहिने भएको छ ।

निर्वाचनसम्बन्धी कुनै कार्यमा प्रयोग नहुने गरी एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दूध बोक्ने सवारी साधन, दमकल, दूरसञ्चार तथा केबल सेवा, शववाहन, अस्पतालका स्वास्थ्यकर्मीको आवागमनका लागि प्रयोग हुने साधन, अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सकले प्रयोग गर्ने सवारी साधन, फोहरमैला ओसारपसार गर्ने सवारी साधन, तरकारी फलफूल तथा विद्युत् सेवा जस्ता अत्यावश्यक सेवा र नम्बर प्लेटमा सिडी उल्लेख भएको कूटनीतिक नियोगका सवारी साधनको हकमा सवारी अनुमतिपत्र लिनुपर्ने छैन ।

आयोगले स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ को दफा ७१ (मादक पदार्थ निषेध गर्ने) मा भएको व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि मिति २०७९ वैशाख २७ गते मङ्गलबार राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि तोकिएका क्षेत्रमा मादक पदार्थको बिक्री वितरण र सेवन कार्य सख्त निषेध गर्ने निर्णय गरेको छ ।

मतदाता शिक्षा दिइँदै

आयोगले ७७ जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालय, ६७६ वटा निर्वाचन अधिकृतको कार्यालय, सात वटा प्रदेश निर्वाचन कार्यालय र ७० वटा जिल्ला निर्वाचन कार्यालयलाई वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनका लागि निर्वाचन प्रचारप्रसार तथा मतदाता शिक्षा कार्यक्रमअन्तर्गत निर्वाचन तथा मतदाता शिक्षा निर्देशिका तथा स्थानीय तह निर्वाचन निर्देशिकामा मतदानस्थलमा मतदाता सूचना कक्षका माध्यमबाट मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने व्यवस्था भएकामा मतदानको दिन (वैशाख ३० गते) उक्त कार्यक्रम नगरी मतदानको अघिल्ला दुई दिन (वैशाख २८ र २९ गते) मतदानस्थलमा सम्बन्धित मतदान अधिकृतको नेतृृत्वमा खटिने मतदान टोलीबाट आयोगले उपलब्ध गराएका मतदाता परिचयपत्रको वितरण गर्नेछ ।

आयोगले उपलब्ध गराएका नमूना मतपत्रलगायतका पोष्टर, ब्रोसर आदि छपाई सामग्रीका माध्यमबाट मतदान गर्ने सही तरिका गराउन निर्देशन दिएको छ ।

आयोगले स्थानीय तह निर्वाचनको मौन अवधिमा विभिन्न टेलिकम सेवा प्रदायकमार्फत भ्यालु एडेड सर्भिस (भिएएस) सेवा प्रदायकबाट मौन अवधिमा कुनै पनि प्रचारप्रसार हुने प्रकृतिको बल्क एसएमएस सेवासम्बन्धी काम नगर्न सम्बन्धित भिएएस सेवा प्रदायकलाई नेपाल दूरसञ्चार प्राधिकरणमार्फत आयोगले आवश्यक निर्देशन दिएको छ ।

यस्तै स्थानीय तह निर्वाचनमा सबै मतदाताको मताधिकार सुनिश्चित गर्न मतदान हुने दिन वैशाख ३० गते निजी क्षेत्र, विभिन्न सङ्घसंस्था, निकाय, गैरसरकारी संस्था, बैंक तथा वित्तीय संस्था, सहकारी सबैलाई सो दिन बिदा दिन आयोगले आग्रह गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.