कर्पोरेट/पर्यटन

पर्यटकीय गाउँ जोड्ने सडक कालोपत्र

गण्डकी प्रदेश सरकारको लगानीमा लमजुङको क्व्होलासोथार गाउँपालिकास्थित पर्यटकीय घलेगाउँ र भुजुङ जोड्ने सडक कालोपत्र गर्न थालिएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको बेसीसहर–बागलुङपानी–घलेगाउँ सडक आयोजनाअन्तर्गत बागलुङपानीदेखि घलेगाउँतर्फ कालोपत्र गर्न सुरु गरिएको हो ।

सडक कालोपत्र

बागलुङपानी–घलेगाउँ जोड्ने १० किमिमा कालोपत्र र घलेगाउँदेखि मस्याङ्दी गाउँपालिका–१ हुँदै क्व्होलासोथार–४ भुजुङ जोड्ने सात किमि सडक ग्राभेल गर्ने कामले तीव्रता पाएको पूर्वाधार विकास कार्यालय लजमुङले जनाएको छ । कान्छाराम कन्सट्रक्सनले विसं २०७६ मा रु ३६ करोड ६६ लाखमा ठेक्का सम्झौता गरेको यो सडक आयोजना विसं २०७८ मा सम्पन्न हुनुपर्नेमा कोरोना महामारीका कारण पछाडि धकेलिएको थियो ।

दुई वर्षपछि निर्माणले गति लिएको सडकको बागलुङपानीदेखि घलेगाउँतर्फ प्रिमिक्स प्रविधिको कालोपत्र गर्न थालिएको पूर्वाधार विकास कार्यालयका प्रमुख विवेक सिग्देलले बताउनुभयो । एक किमि पाँच सय मिटर दुईतर्फी र सात सय मिटर एकतर्फी कालोपत्र भइसकेको उहाँको भनाइ छ ।

“सडक निर्माणको भौतिक प्रगति ६० प्रतिशत पुगेको छ, पछिल्लो समय दु्रत गतिमा काम भइरहेको छ”, प्रमुख सिग्देलले भन्नुभयो, “घलेगाउँ, भुजुङ जोड्ने ग्रामिण पर्यटन विकासका लागि पनि निकै महत्वपूर्ण छ ।”

घलेगाउँसम्म सडक चौडा, नाली, पर्खाल निर्माणलगायतका काम सकेर सब–बेस राखिसकिएको निर्माण कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पहिरो प्रभावित तोरीबारी–खेनगी खण्डबाहेकको ठाउँमा कालोपत्र गर्ने तयारी भइरहेको छ । घलेगाउँदेखि भुजुङतर्फ ग्राभेल गर्नका लागि सडक चौडा पार्ने, नाली, पर्खाल, ग्रेड तथा घुम्ती सुधारको कामलाई तीव्रता दिइएको सो खण्डको सहायक निर्माण कम्पनी भरोस निर्माण सेवाका सञ्चालक भरोस खड्काले बताउनुभयो ।

सडक कालोपत्र भएपछि दुवै पर्यटकीय गाउँका स्थानीयवासीदेखि आन्तरिक तथा बाह्य पर्यटकलाई आउजाउ गर्न सहज हुने क्व्होलासोथार गाउँपालिका–३ का वडाध्यक्ष आशवीर गुरुङले बताउनुभयो । ‘स्मार्ट गाउँ’ले चिनिने घलेगाउँ र छिमेकी भुजुङ गाउँको पर्यटन प्रवर्द्धनमा थप मद्दत पुग्ने उहाँको भनाइ छ । सडकलाई समयमै पूर्णता दिन वडाले समन्वय र सहजीकरणको काम गरिरहेको वडाध्यक्ष गुरुङले बताउनुभयो ।

यसअघि जिल्ला सदरमुकाम बेसीसहरदेखि बागलुङपानीतर्फ तीन किमि सडक कालोपत्र भइसकेको जनाएको छ । यस वर्ष थप रु १४ करोड बजेटको ठेक्का लगाइएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । यो सडकले पश्चिम लमजुङको विकास र उन्नतिमा महत्वपूर्ण टेवा पुग्ने स्थानीयवासी बताउँछन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.