जन सरोकार

निर्वाचनमा हिंसाजन्य घटना हुन नदिन प्रहरीसमक्ष अनुरोध

राष्ट्रिय महिला आयोगले स्थानीय तहको निर्वाचनमा महिलामाथि हुने जघन्य हिंसा र अपराधका बारेमा निर्वाचन आयोगबाट अनुगमन गर्न र हिंसाजन्य घटना हुन नदिन प्रहरी प्रशासनसमक्ष अनुरोध गरेको छ ।

आयोगका प्रमुख महिला विकास अधिकृत सीता अधिकारीले जारी गरेको प्रेस विज्ञप्तिमा निर्वाचनको समयमा भएका हिंसाउपर निर्वाचन आयोगबाट समेत अनुगमन र हिंसाजन्य घटना हुन नदिने विषयमा सम्बन्धित प्रहरी प्रशासनमा अनुरोध गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “अपराधजन्य घटनाको सत्यतथ्य पत्ता लगाई व्यक्तिको स्वतन्त्र र सम्मानजनक ढङ्गले बाँच्न पाउने अधिकारको हननजस्तो जघन्य घटनाको दोषीलाई कडाभन्दा कडा कारबाही र पीडित पक्षलाई क्षतिपूर्तिका लागि अविलम्ब आवश्यक सिफारिस र कार्य अघि बढाउन प्रहरी प्रशासनलगायत जिम्मेवार निकायलाई ध्यानाकर्षण गराइन्छ ।”

स्थानीय तह सदस्य निर्वाचन, २०७९ को अवसरमा राजनीतिक दलहरूको चुनावी अभियानको प्रचारप्रसारको क्रममा यही वैशाख १९ गते रुकुमपूर्व पुथा उत्तरगङ्गा वडा नं ५ मा भएको राजनीतिक पार्टीका कार्यकर्तावीच झडप सँगसँगै सोही जिल्ला निवासी वर्ष ३७ की जुनकुमारी बुढा बेपत्ता भएको र घटना घटेको पाँच दिनपछि चोटसहित निजको मृत शरीर भेटिएकोमा निजलाई अपहरण गरी मारिएकोप्रति आयोगले दुःख व्यक्त गरेको छ ।

त्यस्तै रुकुमपश्चिम चौरजहारी नगरपालिका–३ स्यालखोला डाँडामा यही वैशाख २४ गते बेलुकी ९ बजे आफ्नै घरमा आमा दिदीबहिनी भेला भएर चुनावी गीतमा नाचगान गरिरहेको समयमा अर्को पक्षका पुरुष कार्यकर्ता जबर्जस्ती घरमा प्रवेश गरी किशोरी तथा महिलामाथि अपशब्द प्रयोग गर्दै लछारपछार पारेर हातपात र दुव्र्यवहार गर्दा घाइतेप्रति समेत आयोगले ध्यानाकर्षण जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.