"नेताको हैन राष्ट्रको सुरक्षा महत्वपूर्ण आफ्ना सुरक्षाकर्मी पिर्ता लैजाऊ"- श्रेष्ठ

लिपुलेकमा भारतले नेपाली भूमि अतिक्रमण गरी भारतले सडक बनाएपछि सीमा सुरक्षाका लागि सुरक्षाकर्मी पूर्तिका लागि नेताका सुरक्षामा खटिएका सुरक्षाकर्मी कटौती गर्ने बहस चलिहेका केला सत्तारुढ नेकपा प्रवक्ता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गर्न आग्रह गर्नुभएको छ ।
बुधबार आफ्नो ट्विटर ह्याण्डलमार्फत् नेता श्रेष्ठले आफूलाई सुरक्षा खतरा महसुस नरहेको र आफ्नोभन्दा राष्ट्रको सुरक्षा महत्वपूर्ण हुने भन्दै सुरक्षाको लागि खटिएका सुरक्षाकर्मी फिर्ता लैजान सरकारसँग आग्रह गर्नुभएको हो ।
उहाँले लेख्नुभएको छ- ‘मैले पुर्व गृहमन्त्रीले लिने गरेको गाडी र तेल सुबिधा सुरुदेखि नै लिइन । सशस्त्र बलको पछुवा गाडी र सुरक्षाकर्मी आवश्यक नभएको ठानी केही समयपछि मैले नै जोड गरेर फर्काएँ । तर, गत चुनावअघि राज्यको सुरक्षा संयन्त्रले सुरक्षाको कारणले राख्न अनुरोध गरेकाले राखिएको हो ।’
श्रेष्ठले भन्नुभएको छ, ‘थाहै छ, म पछुवा नियमित प्रयोग गर्दिन । मैले आफूलाई सुरक्षा खतरा महसुस गरेको छैन । राज्य संयन्त्रले त्यस्तो आकलन गरेको छ भनेपनि मेरोभन्दा राष्ट्रको सुरक्षा महत्वपुर्ण हुन्छ । त्यसैले राज्यको आवश्यकताकालागि कुनै पनि क्षण फिर्ता लैजान अनुरोध छ । यसबाट राज्यलाई अप्ठ्यारो परेको भए क्षमायाचना !’