प्रदेशबागमती

बागमती प्रदेशसभाको बैठक आज बस्दै

बागमती प्रदेशसभाको बैठक आज बस्दै छ । बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज दिउँसो १ बजे बस्ने गरी प्रदेशसभाको बैठक आह्वान गर्नुभएको छ ।

बजेट अधिवेशनको रुपमा समेत आह्वान गरिएको प्रदेशसभाको आजको बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरुले शुभकामना मन्तव्य दिने कार्यसूची तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

यस्तै आजको बैठकमा बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई संशोधन गर्न बनेको अध्यादेश प्रस्तुत गर्ने कार्यसूची तय भएको सभामुख भुवनकुमार पाठकले जानकारी दिनुभयो ।

प्रदेशसभाको बैठक अघि बसेको प्रदेश कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रदेशसभा बैठकको कार्यसूची तय गरेको थियो । यही प्रदेशसभा अधिवेशनबाट आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति, कार्यक्रम तथा बजेट पारित गर्नेछ । प्रदेशसभाको हिउँदो अधिवेशन गत वैशाख १२ गते राति १२ बजेदेखि प्रदेश प्रमुख शर्माले अन्त्य गर्नुभएको थियो ।

विषयगत समितिको सभापति चयन चाँडै
यसैबीच रिक्त रहेको बागमती प्रदेशसभाअन्तर्गतको पाँच वटा विषयगत समितिका सभापति पदका लागि आगामी जेठ ४ गते निर्वाचन गर्ने दलहरुबीच सहमति भएको छ ।

प्रदेशसभाअन्तर्गतको पाँचवटै समितिको सभापति पदमा सर्वसम्मतको प्रयास भए पनि अझै सहमति नहुन नसकेपछि जेठ ४ गते निर्वाचन गर्ने दलहरुबीच सहमति भएको सभामुख भुवनकुमार पाठकले जानकारी दिनुभयो । सभापति पद सर्वसम्मत चयन गर्ने सहमतिको प्रयास जारी रहेको र त्यो नभए जेठ ४ गते निर्वाचन गर्ने सहमति भएको उहाँले बताउनुभयो ।

प्रदेशसभाको आज बस्ने बैठक अघि प्रदेशसभा कार्य परामर्श व्यवस्थापन समितिको बैठक बस्ने र सहमति गरिए अनुसार विभिन्न समितिको सभापति पदका लागि निर्वाचनको प्रक्रिया सुरु गरिने सभामुख पाठकले बताउनुभयो ।

बागमती प्रदेशसभाअन्तर्गत प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा कृषि समिति र उद्योग, पर्यटन तथा वातावरण समिति छ । ती सबै समितिमा सभापति चयन हुन सकेको छैन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.