पानीजहाज र मोनोरेलको सपना देखाएर मात्र विकास हुँदैन (भिडियो)
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले विकास र समृद्धिको पहिलो शर्त सुशासन भए पनि सरकार पानीजहाज र मोनोरेलको सपना देखाएर समय खेर फालिरहेको बताउनुभएको छ ।
प्रतिनिधिसभामा मंगलबारदेखि सुरु भएको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उहाँले सो कुरा बताउनुभएको हो ।
छलफलमा भाग लिने क्रममा उहाँले बजेट जस्तो महत्वपूर्ण विषयमा भैरहेको छलफलमा सत्तापक्षको लहर खाली हुनु चिन्ताको विषय भन्दै देश र जनताप्रति गम्भीर हुन सुझाव पनि दिनुभयो ।
उहाँले निर्वाचनका क्रममा गरिने प्रतिबद्धता, विकासको नाममा देखाइने आदर्श र सपना व्यवहारिक कार्यनीतिमा परिणत हुन नसकेकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।
“कुनै पनि योजना बनाउँदा त्यसको स्पष्ट कार्यनीति, रणनीति, दर्शन र दीर्घकालीन परिकल्पना चाहिन्छ तर हाल दुई ठूला दलको नेतृत्वमा रहेको सरकारले उपयुक्त कार्यनीतिको अभ्यास गर्न सकेको छैन”, सांसद झाले भन्नुभयो ।
राजनीतिक नेतृत्वले जनजीवन सुधारभन्दा ‘आकर्षक सपना’ देखाउनमा ध्यान दिएको टिप्पणी गर्दै दैनिकीसँग जोडिएका समस्याको समाधान नगरेसम्म विकासको अनुभूति सम्भव नहुने धारणा राख्नुभयो ।
“हामीलाई पाँच दिनभित्र सवारीचालक अनुमतिपत्र चाहिएको छ तर सरकारले पानीजहाज कार्यालयको उद्घाटन गरिरहेको छ”, उहाँले भन्नुभयो, “पानीजहाज, मोनोरेल र मेट्रोरेलको सपना देखाएर मात्रै मुलुक समृद्ध हुँदैन, सुशासन र सेवा प्रवाह सुधार हुनुपर्छ ।”
सांसद झाले प्रतिव्यक्ति आय र कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा वृद्धि भए पनि नेपालको आर्थिक स्वतन्त्रता सूचकाङ्क अझै कमजोर अवस्थामा रहेको उल्लेख गर्नुभयो । “मूल सूचकाङ्क बढेका छन् तर जनताले प्रत्यक्ष अनुभूति गर्न सकेका छैनन् ।
अहिलेसम्म हामी आर्थिक दृष्टिले आत्मनिर्भर र स्वतन्त्र बन्न सकेका छैनौँं”, उहाँले भन्नुभयो,“सङ्घीयताको नाममा बनाइएका थुप्रै संस्था र संरचना आवश्यकताभन्दा बढी खर्चिलो छन् । बन्द गरिनुपर्ने संरचना समयमै हटाउन नसक्दा सरकारीखर्च अनावश्यक रूपमा बढिरहेको छ । यसमा ध्यान दिन आवश्यक छ ।”
उहाँले गभर्नर नियुक्ति जस्तो गम्भीर विषयमा समेत राजनीतिक भागबण्डा भइरहेको र त्यसैले अझै नियुक्ति प्रक्रिया अघि बढ्न नसकेकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।”
हेर्नुहोस् भिडियो





प्रतिक्रिया राख्नुहोस्