समाचार

विपत्तिका बेला आफ्नै थातथलो प्यारो

शहर त पैसा कमाउन्जेलसम्मको मात्रै हो, कमाइ हुन छोडेपछि शहरले गाउँलेलाई चिन्दैन

प्रस्तुत घटना, सन्दर्भ र पात्रहरु प्रतिनिधि मात्र हुन् । कोरोना संक्रमणको महामारीपछि शहरबजारमा सुखको जिन्दगी बिताउन डेरा जमाएकाहरु सकसको बेलामा शहर हैन आफ्नै गाउँघर पुगेका छन् । यसले के सावित गर्छ भने “जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी” अर्थात् आफूलाई जन्म दिने आमा र जन्मिएको ठाउँ स्वर्गभन्दा पनि प्यारो हुन्छ ।

पौराणिककालीन यो उक्तिले अहिलेको बिपद्कालीन अवस्थामा आफ्नै जन्मथलो सुरक्षित ठान्दै शहरबाट गाउँ फर्किएका व्यक्तिहरूको मनोभावनालाई समेत सम्बोधन गरेको छ ।

गाउँ नै गाउँले भरिएको नेपाली समाजका अधिकांश युवाहरूको शहर पस्ने, वस्ने, पढ्ने, जागिर खाने र रमाउने चाहना हुन्छ । त्यही चाहनालाई पूरा गर्न शहर पसेर गाउँलाई विर्सनेहरू पनि धेरै नै हुन्छन् ।

शहरमा रमाएर गाउँलाई विर्सने भनेको सहज परिस्थिति हुँदा मात्र रहेछ भन्ने तथ्य विपत्ति तथा महामारीका बेला देखिने रहेछ । हाल विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणले यो अवस्था र परिस्थितिलाई बुझ्ने तथा बुझाउने अवसर दिएको महसुस भएको छ ।

हुनत चाडपर्व र विशेष उत्सव÷महोत्सवमा पनि मानिसहरू गाउँ फर्किन्छन् तर त्यसरी केही दिनका लागि रमाइलो गर्न गाउँ आएकाहरूको तुलनामा यतिखेरको अवस्था भने निकै नै फरक छ । त्यसरी भन्दा अहिले घरगाउँ फर्र्किएका मानिसमा ग्रामीण जीवन र वातावरणप्रति अझ बढी अपनत्व र स्नेह पाइएको छ । यसैले बिपत्तिका बेला आफ्नो थातथलोको महत्व र आवश्यकता अहिले देखिएको छ ।

यसपटक शहरमा कोरोना महामारीको बोझलाई थेग्न नसकेर शहरभन्दा गाउँ नै सुरक्षित मानि आफ्नो थातथलोमा फर्किएका म्याग्देलीहरूमा पनि आफ्नो जन्मथलो र आफ्नो माटोप्रति विछट्टै माया र स्नेह देखिएको छ ।

विश्वव्यापी रुपमा कोरोना महामारी शुरुभए यता म्याग्दीमा देशका विभिन्न शहर र विदेशबाट गरी करिब चार हजारको हाराहारीमा युवा गाउँ फर्केका छन् । यस जिल्लाका छवटा स्थानीय तहका जनप्रतिनिधिहरूबाट प्राप्त सूचनाका आधारमा यतिधेरै युवा अघिल्लो दुई हप्तामा जिल्ला भित्रिएका हुन् । एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीमा छवटा स्थानीय तहहरू छन् ।

विसं २०६८ को जनगणनाअनुसार यहाँको कुल जनसङ्ख्या एक लाख १३ हजार ६४१ रहेको छ । त्यसमा महिलाको सङ्ख्या ६२ हजार २४६ अर्थात् कूल जनसङ्ख्याको ५४ दशमलव ७७ प्रतिशत रहेको छ भने पुरुषको ५१ हजार ३९५ अर्थात् ४५ दशमलव २३ प्रतिशत रहेको छ ।

पुरुषभन्दा महिलाको सङ्ख्या बढी रहेको म्याग्दीका अधिकांश युवाहरू वैदेशिक रोजगारका लागि विदेशमा छन् । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कअनुसार १९ देखि ४० वर्ष समूहका ४२ प्रतिशत युवाहरू बैदेशिक रोजगारीमा छन् । बाँकी रहेका युवा पनि अध्ययन, व्यापार, रोजगार वा अन्य प्रयोजनका लागि गाउँ छोडेर शहर पसेका थिए । अहिले कोरोना महामारीको दोस्रो लहरबाट बँच्न शहरबाट अधिकांश युवाहरू गाउँमा भित्रिएका मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो ।

म्याग्दीको सदरमुकाम बेनीसँग जोडिएको पर्वतको पारीबेनीस्थित न्यू होराइजन आवासीय उच्च माविका प्रिन्सिपल तथा सञ्चालक अर्जुन पौडेल यतिबेला विद्यालयमा होइन गाउँको खेतवारीमा व्यस्त हुनुहुन्छ ।

बेनी नगरपालिका–६ का पौडेल अहिले मिनिट्रेलर हलोमार्फत् खेतबारी जोत्ने, मकै गोड्ने, तरकारी लगाउने जस्ता कृषि कर्ममा आफूलाई व्यस्त बनाउनुभएको छ । प्रिन्सिपल पौडेल भन्नुहुन्छ “मान्छे शहरको रमाइलो भुलेजस्तो मात्र गर्दो रहेछ, वास्तवमा गाउँको माटोको सुगन्धमा मान्छेलाई लठ्याउन सक्ने शक्ति हुँदोरहेछ ।”

“शहर सम्पत्ति हुँदा मात्र आफ्नो जस्तो लाग्ने हो, वास्तवमा विपत्तिको बेला चाहिने भनेको त गाउँ नै रहेछ” १० वर्ष कोरिया बसेर काठमाडाँैंमा घर बनाइ होटल व्यवसाय गरी त्यहाँबाट पनि सन्तुष्ट हुन नसकेका बेनी नगरपालिका– २ बगरफाँटका दुर्गाबहादुर थापाले भन्नुभयो “गाउँमा जस्तो अपनत्व र आनन्द शहरमा केही गरी पनि पाउन नसकेर म त सपरिवार आफ्नै गाउँ फर्कि आएँ ।”

थापाले गाउँमा आएर १२ रोपनी जमिनमा व्यावसायिक केरा खेती शुरु गर्नुभएको छ । श्रीमती, छोरा र बुहारी दैनिक कृषि कर्ममा खटेर लाग्नुभएको छ । उहाँको श्रम देखेर गाउँमा परम्परागत कृषि प्रणाली अपनाउँदै आएका किसानहरूले पनि सिक्ने अवसर पाएका स्थानीय पदमपाणी शर्माले बताउनभयो ।

बेनीको कालीपुल बसपार्कका धौलागिरि यातायात कार्यालयको काउन्टरका कर्मचारी गणेश वानियाँका अनुसार जब सङ्कट आइपर्छ तब मानिस काठमाडौँ, पोखरा, चितवन तथा बेनी बजार नै छाड्न तछाडमछाड गर्छन् । यो हामीले गत वर्षको लकडाउन र २०७२ साल वैशाख १२ गतेको भूकम्पको बेलामा पनि देशका अरु जिल्लाको जस्तै म्याग्दीमा पनि यस्तै अवस्था देखिएको थियो । अहिले पनि त्यही क्रम दोहोरिएको छ । उहाँका अनुसार यसपाली विभिन्न ठाउँबाट करिब चार हजारको हाराहारीमा म्याग्देली युवा जिल्ला भित्रिएका छन् ।

सङ्कटको बेला मानिसहरू शहर छोडेर गाउँ फर्किनुमा धेरै कारण हुन सक्छन् । तीमध्ये प्रमुख कारण भनेको आर्थिक पृष्ठभूमि र जीविकोपार्जनसँग जोडिएका कुराहरू नै भएको म्याग्दी बुहुमुखी क्याम्पसका प्राध्यापक तथा नेपाल पत्रकार महासंघ म्याग्दीका निवर्तमान अध्यक्ष तारानाथ शर्माले बताउनुभयो ।

प्राध्यापक शर्माका अनुसार नेपाली सहरको संरचना विश्वका अरु मुलुकको संरचना भन्दा कान्छो छ । वैदेशिक रोजगारसँग नेपाली शहरको साइनो नङ र मासुको जस्तै छ । यहाँको शहरको चरित्र भनेको गाउँसँग साइनो र मितेरीको सम्बन्धको चरित्र हो । नेपाली शहरहरूले अझै पनि गाउँको सहयोग विना विपत्ति र सङ्कटलाई झेल्न नसक्ने भएकोले मानिसहरू विपत्तिको बेला सहरको भन्दा बढी गाउँको नै भर पर्ने गरेका छन् ।

शर्मा भन्नुहुन्छ “सङ्कट वा बिपत्तिको बेला शहरको वास्तविक स्वरुप र शहरमा वसोवास गरेका मानिसहरूको अवस्था देखिन्छ । उनीहरूमा विभिन्न वस्तुको अभाव देखिने गरेको छ भने यस्तो बिपत्तिबाट बच्नका लागि यहाँका बासिन्दाले आफ्नो घरजस्तो सुरक्षित महसुस गर्न पनि सकेका हुदैनन् ।”

गाउँमा जीविकोपार्जन गर्न सजिलो छ । शहरको जस्तो तनाव र दौडधुप गाउँमा नहुने भएकाले पनि सङ्कटको बेलामा मानिसहरू शहर छोडेर गाउँमा पस्न रुचाउने गरेका आफूले पाएको वुद्धिजीविहरूको भनाइ रहेको छ ।

“सङ्कटका बेलामा काम रोकिन्छ । मानिसको रोजगारी गुमेको छ । दैनिक आम्दानीमा कटौति भएको छ । उता खर्च भने बढेको बढ्यै हुन्छ । अहिले कोरोना भाइरसको महामारीको समयमा स्वास्थ्यको क्षेत्रमा धेरै खर्च भएको छ । अनलाइन कक्षा सञ्चालकले पनि मोबाइल र ल्यापटप किन्न जोड गरीरहेका छन् । कम आयस्रोत हुनेहरूका लागि यो दुर्भाग्यको कुरा हुन सक्छ । त्यसैले मानिसले शहरको महङ्गो जनजीवन छाड्ने गरेका छन्” रघुगंगा गाउँपालिकाका अध्यक्ष भववहादुर भण्डारीले बताउनुभयो ।

करिब १६ वर्षदेखि कुपण्डोल ललितपुरमा व्यापार गरी बस्नुभएका म्याग्दीका ४१ वर्षिय ललित खत्री आफ्नी श्रीमती, दुई छोरा र एक छोरीसहित पसल बन्द गरेर गाउँमा फर्किनु भयो । काठमाण्डौँमा जमेर बस्नुएको थियो, किन गाउँमा फर्किनु भयो त ? यो जिज्ञासामा उहाँले भन्नुभयो “सुरक्षाका कारण गाउँ फर्किनु प¥यो । शहरमा धेरै भीडभाड छ, सङ्क्रमण हुने खतरा पनि उत्तिकै बढी देखिन्छ । त्यसैले सङ्क्रमणबाट बँच्न गाउँमा फर्किका हौँ ।”

“शहर त पैसा कमाउन्जेलसम्मको मात्रै हो, कमाइ हुन छोडेपछि शहरले हामी गाउँलेलाई चिन्दैन, अप्ठ्यारो परे साथ दिने मान्छे पनि पाइँदैन, कसरी बस्न सकिन्छ र सङ्कटको बेला शहरमा ?”

बेनी अस्पतालका चिकित्सक जितेन्द्र कडेलका अनुसार शहरमा भन्दा गाउतिर नै बढी सुरक्षित हुन सकिन्छ । “हो गाउँमा धरै सुरक्षित हुन सकिन्छ किनभने त्यहाँ खुला ठाउँ हुन्छ , भौतिक दुरी कायम गर्न सजिलो हुन्छ तर बढी कोरोना सङ्क्रमित जिल्लाहरूबाट पनि मानिसहरूको आवागमन हुँदा केही जोखिम भने अवश्य छ” डा.कडेलले भन्नुभयो ।

वैदेशिक रोजगारपछि म्याग्दीका नागरिकहरूको दोस्रो गन्तव्य भनेको काठमाडौँ र पोखरा जस्ता सुविधासम्पन्न शहर नै हुने गरेको छ । पछिल्लो समय कोरोना सङ्क्रमणको दर बढ्दै जान थालेपछि ती ठाउँहरूबाट धेरै मानिसहरू गाउँ फर्किसकेका छन् । म्याग्दीको रघुगंगा गाउँपालिका– ६ का वडाअध्यक्ष मनकुमार शेरपुंजाका अनुसार काठमाडौँ, पोखरा र बेनी बाट गाउँमा फर्किएका युवा युवतीहरूका कारण गाउँको रौनक नै फेरिएको छ । अध्यक्ष शेरपुंजाले भन्नुभयो “युवाविहीन भएका गाउँहरू अहिले भरिभराउ भएका छन्, गाउँको रौनक नै फेरिएको छ, यहाँ आएका युवाहरू खाली बसेका छैनन्, कुनै न कुनै रुपमा कृषि कर्मसँग जोडिएका छन्, स्वास्थ्य सुरक्षा र सावधानीका उपायहरू गाउँलेलाई सिकाउँदै पनि छन् ।”

सम्पत्ति हुँदा र सहज अवस्था रहँदा शहर नछोड्ने युवाहरू बिपत्तिकै बेला भए पनि गाउँ आउनुलाई गाउँका अग्रजहरूले स्वभाविक रुपमा लिएका छन् । उनीहरूको भनाइ छ “सम्पत्ति हुँदा शहर नै प्यारो, बिपत्तिका बेला लुसुक्कै आफ्नै थातथलो प्यारो ।”

अघिल्लो वर्ष पनि यही कोरोना भाइरसको महामारीका कारण भएको लामो समयको लकडाउनले गर्दा यहाँका हजारौँ युवा गाउँ फर्किएका थिए । वर्षाैँदेखि बाँझो रहेका खेतबारी खनेर, जोतेर उनीहरूले अन्नपात तथा हरियो तरकारी र गेडागुडी राम्रैसँग उत्पादन गरेका थिए । यस समय गाउँ छिरेका युवा पनि कृषि कर्ममै रहेका छन् । त्यसैले जिल्लामा कृषि उपज एवं तरकारी उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.