जन सरोकार

सावधानीपूर्वक घरमै नमाज पाठ गरी इदुल फित्र मनाइँदै

अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिना (सौवाल) को पहिलो दिन आज देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इदुल फित्र पर्व मनाउँदै छन् ।

दशौँ महिनाको पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ ।

खुशीपूर्वक दान गरेर दीनदुःखी एवम् गरीबलाई बाँडिने भएकाले यो पर्वलाई इदुल फित्र भनिएको हो । अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इदुल फित्र मनाउने कार्यक्रम तय हुने गरेको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले राससलाई जानकारी दिनुभयो । नवौँ महिनाको अन्तिम दिन बिहीबार बेलुका चन्द्रमा देखिएपछि आज इदुल फित्र मनाइएको हो ।

यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण आज बिहान नेपाली जामे मस्जिद घन्टाघरमा विशेष नमाज पाठमा १५ जनाभन्दा बढी उपस्थित नभएको सचिव हुसेनले सुनाउनुभयो । विसं २०७६ सम्म नेपाली जामे मस्जिदमा इद उल फित्रको बिहान नमाज पढ्न १०औँ हजार मुस्लिम धर्मावलम्बी जम्मा हुने गरेका थिए । गत वर्ष पनि कोरोनाबाट बच्न बन्दाबन्दी गरिएकाले मुस्लिम धर्मावलम्बीले घरमै इदुल फित्र मनाएका थिए ।

निषेधाज्ञाका कारण मस्जिद, इदगाहलगायत धार्मिकस्थलमा मौलाना र कर्मचारी मात्र उपस्थित हुने भएपछि धेरै मुस्लिम समुदायले घरमै परिवारका सदस्यबीच नमाज पाठ गरेर इद उल फित्र मनाउँदै छन् । त्यसपछि ठूलाबडा कहाँ आशीर्वाद लिने क्रम शुरु हुन्छ । ठूलाबडा कहाँ आशीर्वाद लिँदा पनि बन्दाबन्दीको नियम नतोडिने जामे मस्जिदले जनाएको छ । घरमै रहनुभएका ठूलाबडासँग आशीर्वाद लिई घर बाहिरकासँग फोन, सामाजिक सञ्जालमार्फत पनि लिन सकिने नेपाली जामे मस्जिदका अध्यक्ष अब्दुल मोहम्मद समीमले बताउनुभयो ।

बचतको साढे दुई प्रतिशत दान

यो पर्वको अर्को उल्लेखनीय पक्ष दीनदुःखी र गरीबलाई दान दिनु हो । यस पर्वमा मुस्लिम धर्मावलम्बीले एक वर्षभित्रको बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान मुस्लिम धर्मग्रन्थ कुरानमा उल्लेख गरिएको राष्ट्रिय मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलीले जानकारी दिनुभयो । यसरी दान गरिएको नगद वा जिन्सी दीनदुःखी एवम् गरीबलाई बाँडिन्छ । त्यसलाई जकात भनिन्छ ।

इद उल फित्रमा प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा सो बराबरको नगद दान गर्छन् । त्यसलाई सत्कार फितर भनिन्छ । यो दान आमाको पेटमा आएको बच्चाको पनि गरिनुपर्छ भन्ने नियम मुस्लिम ग्रन्थमा छ । यो दान पनि दीनदुःखी र गरीबलाई नै दिइन्छ ।

यस वर्ष यही वैशाख १ गतेदेखि मुस्लिम समुदायको एक महिना लामो व्रत (रोजा) शुरु भएको थियो । एक वर्षभित्र गरेका पाप कटाउन रमजानसमेत भनिने यो व्रत गरिने उहाँले बताउनुभयो । एक महिनासम्म दिनभर व्रत गरेर साँझ सूर्यास्तको नमाज पाठ गरिन्छ । बिहान सूर्योदय अघि र बेलुकी सूर्यास्तपछि मात्र मुस्लिम समुदायले नवौँ रमजान महिनामा भोजन गर्छन् ।

यस पर्वका अवसरमा मुस्लिम समुदायले नयाँ कपडा लगाई साथीभाइ कहाँ गएर इदको शुभकामना आदानप्रदान गर्छन् । यस वर्ष भने धेरैले घरमै नमाज पाठ गरी परिवारका सदस्यबीच यो पर्व मनाइरहेका छन् । घरमै नमाज पाठ गरिसकेपछि फोन वा सामाजिक सञ्जालका माध्यमबाट इद मुवारक भन्दै शुभकामना दिन सकिने धर्मगुरुहको आह्वान छ । मुस्लिम आयोगले पनि बिहीबार विज्ञप्ति प्रकाशित गरेर घरघरमै नमाज पाठ गर्न मुस्लिम धर्मावलम्बीलाई आह्वान गरेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.