जापान सरकारले व्यावसायिक भिसामा नयाँ नियम लागू गरेपछि यसको असर जापान जान चाहनेका लागि मात्र नभएर त्यहाँ व्यवसाय गरिरहेका विदेशीहरुलाई समेत पर्ने भएको छ ।
त्यहाँको अध्यागनम कार्यालयले दिएको जानकारी अनुसार गत अक्टोबरमा व्यवसाय व्यवस्थापक (बिजनेस म्यानेजर) भिसाका लागि योग्यता मापदण्ड कडा बनाएपछि त्यसका लागि पर्ने आवेदन ९६ प्रतिशतले घटेको छ।
नयाँ नियम अनुसार हाल जापानमा व्यवसाय सञ्चालन गरिरहेका विदेशी व्यवसायीहरूले पनि भिसा नवीकरण गर्दा नयाँ मापदण्ड पूरा गर्नुपर्ने वा त्यसअनुसार पुग्ने स्पष्ट योजना प्रस्तुत गर्नुपर्नेछ।
दि जापान टाइम्सका अनुसार नियम परिवर्तन अघि प्रतिमहिना औसत करिब १ हजार ७ सय आवेदन पर्ने गरेका थिए। तर नयाँ व्यवस्था लागू भएपछि यो संख्या घटेर मासिक करिब ७० मा सीमित भएको छ।
जापानको अध्यागमन सेवा एजेन्सी (आईएसए)का अनुसार नयाँ नियमले बिजनेस म्यानेजर भिसा स्थायी बसोबासको माध्यमका रूपमा दुरुपयोग हुने प्रवृत्ति रोक्न ठूलो प्रभाव पारेको देखिएको हो।
गत मंगलवार आयोजित नियमित पत्रकार सम्मेलनमा अध्यागमन प्रमुख किमी ओनोडाले मार्च अन्त्यतिर सार्वजनिक गरिएको तथ्याङ्कबारे टिप्पणी गर्दै सरकारले यस नतिजालाई सकारात्मक रूपमा लिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “व्यवसाय व्यवस्थापक आवासीय हैसियतलाई बसाइँसराइको माध्यमका रूपमा दुरुपयोग भइरहेको भन्ने चिन्तालाई मापदण्ड संशोधनले केही हदसम्म कम गरेको हामी विश्वास गर्छौं ।”
संशोधित मापदण्डअनुसार अब आवेदकसँग कम्तीमा ३ करोड येन (करिब १ लाख ९० हजार अमेरिकी डलर) पूँजी हुनुपर्छ। यसअघि यस्तो सीमा ५० लाख येन मात्र थियो।
जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार देशका केवल ८.७ प्रतिशत व्यवसायसँग मात्रै ३ करोड येन वा सोभन्दा बढी पूँजी रहेको छ।
त्यसै गरी कम्पनीले कम्तीमा एकजना पूर्णकालीन कर्मचारी राखेको हुनुपर्छ, जो या त जापानी नागरिक वा स्थायी बसोबास अधिकारजस्ता स्थिर आवासीय हैसियत भएका विदेशी नागरिक हुनुपर्नेछ।
जापानी भाषा दक्षतालाई पनि महत्व दिइएको छ। आवेदकले जापानी भाषा प्रवीणता परीक्षाको कम्तिमा एन२ स्तर बराबरको क्षमता प्रमाणित गर्नुपर्ने प्रावधान गरिएको छ।
त्यस्तै जापानमा व्यवसाय सञ्चालन गरिरहेका विदेशी व्यवसायीहरूले पनि भिसा नवीकरण गर्दा नयाँ मापदण्ड पूरा गर्नुपर्ने वा त्यसअनुसार पुग्ने स्पष्ट योजना प्रस्तुत गर्नुपर्नेछ।
नयाँ भिसा नियमले जापानमा रहेका नेपालीहरु पनि प्रभावित हुनसक्ने आँकलन गरिएको छ । जापानमा विद्यार्थी, कामदार तथा व्यवसायीको संख्या उल्लेखनीय छ । जापानमा हाल करिब २ लाख ७५ हजारको हाराहारीमा नेपाली बसोबास गरिरहेको अनुमान छ ।
नेपालीहरू जापानका ठूला विदेशी समुदायमध्ये एक मानिन्छन्। धेरै नेपाली विद्यार्थी, कामदार, व्यवसायी तथा आश्रित परिवारका रूपमा जापान पुगेका छन्। पछिल्ला वर्षहरूमा अध्ययन, रोजगारी र व्यवसायका अवसरका कारण जापान जाने नेपालीको संख्या तीव्र रूपमा बढेको देखिन्छ।





प्रतिक्रिया राख्नुहोस्