जन सरोकार

विदेशबाट धमाधम आउन थाल्यो कोरोनाबिरुद्ध स्वास्थ्य सामग्री

नेपाललाई कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहरले आक्रान्त पारेको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाएै तत्काल अन्तर्राष्टिय सहयोग आवश्यक परेको भन्दै राष्ट्रसंघलाई सहयोगको आव्हान गरिसकेको छ । संक्रमितहरुको उपचारका लागि अक्सिजनको चरम अभाव भएपछि मित्रराष्ट्र तथा विदेशमा बस्ने नेपालीहरुले अक्सिजन पठाउन सुरु गरेका छन् ।

कोरोनाले महामारीको रुप लिन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले र स्वास्थ्य मन्त्रालय, परराष्ट्र मन्त्रालयले विदेशी समुदायलाई पटक–पटक अपिल र पत्राचार गरेसँगै सहयोगको मात्रा बढ्न थालेको छ ।

प्रधानमन्त्री ओलीले गतसाता अमेरिकी टेलिभिजनबाट र बेलायतको गार्जियन पत्रिकामा लेखमार्फत अन्तर्राष्ट्रिय समुदायसँग नेपाललाई सहयोग गर्न आग्रह गर्नुभएको थियो ।

परराष्ट्र मन्त्रालयले विदेशस्थित आफ्ना नियोगलाई सम्बन्धित मुलुकसँग त्यहाँको अवस्था अनुसार सहयोग जुटाउनका लागि पहल गर्न पत्राचार गरेको थियो । मन्त्रालयले वैशाख २३ गते विदेशस्थित नेपालका ३० दूतावास, तीन संयुक्त राष्ट्रसंघीय स्थायी नियोग र ६ वाणिज्य दूतावासलाई पत्र पठाएको हो ।

त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा रहेका विकास साझेदार र अन्य सहयोगी संस्थालाई संकटको घडीमा नेपाललाई सक्दो सहयोग गर्न अनुरोध गरेको थियो ।

कोरोनाबिरुद्धको संघर्षमा सरकारले विभिन्न माध्यमबाट अन्तर्राष्ट्रिय सहयोगको आव्हानन गरेसंगै चीनले नेपाललाई ५० लाख आरएमबी बराबरको स्वास्थ्य सामग्री सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । परराष्ट्र मन्त्रालयका अनुसार चीनका स्टेट काउन्सिलर तथा परराष्ट्रमन्त्री वाङ यीले ‘कोभिड–१९ को प्रतिक्रियाका लागि संयुक्त प्रयास’ नामक भिडियो कन्फरेन्समा बोल्दै सहयोगको प्रतिबद्धता व्यक्त गरेका थिए । सोही प्रतिबद्धताअनुसार नेपालले चीनबाट ३५ सय अक्सिजन सिलिन्डर र अन्य स्वास्थ्य सामग्री पाएको हो ।

चीनबाट वैशाख २८ गते पहिलो खेपमा नेपाल एयरलाइन्सको विमानले अक्सिजनका सिलिन्डर र स्वास्थ्य सामग्री ल्याएको थियो । बाँकी सिलिन्डर ल्याउने तालिका सरकारले तय गरिसकेको छ ।

यस्तै वैशाख १८ गते अमेरिकाले नेपाललाई ८५ लाख अमेरिकी डलर सहयोग गर्ने बताएको थियो । त्यसपछि वैशाख ३० गते अमेरिकी इन्डो–प्यासिफिक कमान्डद्वारा नेपाललाई २७ लाख ५० हजार अमेरिकी डलर बराबर सहयोग घोषणा गरेको हो । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग वैशाख ३० गते फोन संवादमा छिट्टै थप सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए ।

युरोपेली युनियनले वैशाख २९ गते २० लाख युरो बराबर आपत्कालीन मानवीय सहयोगअन्तर्गत स्वास्थ्य सामग्री उपलब्ध गराउने घोषणा गर्‍यो । बेल्जियमस्थित युरोपेली युनियन ९ईयू० का लागि नेपालका राजदूत गहेन्द्र राजभण्डारीले ईयूबाट नेपाललाई थप सहयोग गर्ने प्रतिबद्धता दिएको छ । वैशाख २२ गते बेलायतले नेपाल पुलिस अस्पतालमा अक्सिजन प्लान्ट स्थापनामा सहयोग गरेको थियो । उक्त प्लान्टले प्रतिदिन १६० सिलिन्डर उत्पादन गर्न तथा अस्पताल भित्रबाहिर वितरणका लागि २४ सिलिन्डर भर्न सक्छ ।

ओमानस्थित गैरआवासीय नेपाली संघ (एनआरएनए) र अन्य नेपाली समुदायसँग मिलेर ५ सय ६० अक्सिजन सिलिन्डर खरिद गरी पठाएको छ । थाइल्यान्डबाट पनि नेपाललाई २४ वटा अक्सिजन सिलिन्डर प्राप्त भएको छ जुन सामग्री शुक्रबारै आइपुगिसकेको छ । फिनल्यान्डले २० लाखभन्दा बढी मास्कसहितका स्वास्थ्य सामग्री सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । बंगलादेशबाट पनि १० हजार भायल्स रेम्डेसिभिर औषधि सहयोग आउन लागेको छ । औषधि कम्पनी बेकसिन्की फर्माले ५ हजार र बंगलादेश सरकारले ५ हजार गरी १० हजार भायल्स नेपाललाई सहयोग गर्न लागेको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.