राजनीति

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक : उपाध्यक्ष पाण्डे

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभएको छ ।

उपाध्यक्ष पाण्डे

तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३१औँ स्मृति दिवसमा चितवनको दासढुङ्गामा आयोजना गरिएको स्मृति सभा उहाँले मदन–आश्रितले देखाएको बाटोमा हिँड्न सकेमात्र देश र जनताले परिवर्तन र सुशासनको अनुभूति गर्ने धारणा राख्नुभयो ।

नेकपा (एमाले) चितवनको आयोजनामा भएको सभामा उपस्थित नेता–कार्यकर्ताले उहाँहरूको सालिकमा माल्र्यापणसहित श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।

सो अवसरमा एमाले केन्द्रीय सदस्य देवी ज्ञवालीले शब्दले मदनका अनुयायी हुने होइन, कर्म, व्यवहार, आचरण र चरित्रले सबै मदनका अनुयायी बन्न सकौँ भन्नुभयो । हामीले जीवन र सिद्धान्तको बीचमा सम्बन्ध कायम गर्नेगरी राष्ट्रिय आवश्यकतालाई पूरा गर्न सक्ने सुदृढ र निर्णायक पार्टी बनाउने सङ्कल्प गर्नुपर्ने उहाँको भनाइ थियो ।

बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जेएन थपलियाले जनतालाई जागृत बनाउँदै उहाँहरूको योगदानको स्मरण गर्दै काम गर्नुपर्ने बताउनुभयो । मदन–आश्रितले देखाएको दिशानिर्देशमा देशको राजनीति अघि बढेको भन्दै समाजवादको आन्दोलन पनि उहाँहरुको विचारमा अघि बढ्ने बताउनुभयो ।

एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले मदन–आश्रितको विचार कहिल्यै परास्त नहुने भन्दै दासढुङ्गा घटना भएपछि जनताको बहुदलीय जनवाद नेपालीको जनता र कम्युनिष्ट आन्दोलनको मूल मर्म बनेको उल्लेख गर्नुभयो ।

विसं २०५० जेठ ३ गते चितवनको भरतपुर महानगरपालिका २९ स्थित दासढुङ्गामा भएको जिप दुर्घटनामा परी भण्डारी र आश्रितको निधन भएको थियो । पोखरामा हुने सभालाई सम्बोधन गर्न जाँदै गर्दा चितवनको कविलासस्थित दासढुङ्गामा दुर्घटनामा परेर दुवै नेताको निधन भएको हो । जिप त्रिशूली नदीमा खसेको थियो ।

दुर्घटनामा भण्डारी र आश्रितको मृत्यु भए पनि जिप चालक अमर लामा बाँच्न सफल भएका थिए । लामाको २०६० सालमा हत्या भएपछि त्यो घटनाको यथार्थ अहिलेसम्म पत्ता लगाउन सकिएको छैन । जननेता भण्डारीले एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्नुभएको जनताको बहुदलीय जनवाद (जबज)को मार्गदर्शक सिद्धान्तलाई एमालेले पालना गर्दै आएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.