जवर्जस्ती नेपाल छिर्नखोज्ने भारतीयमाथि हवाई फायर, सर्लाहीमा हतियारसहित पक्राउ

दक्षिण झापाको कचनकबल–१ घेराबारीमा शनिबार राति सयौँको सङ्ख्यामा नेपालतिर जबर्जस्ती पस्न खोज्ने भारतीय नागरिकलाई रोक्न सीमामा तैनाथ सुरक्षाकर्मीले हवाई फायर गरेका छन् ।
सशस्त्र प्रहरी बल २ नं हेडक्वार्टर भद्रपुरका सशस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थक्सुले राति ९ः३० बजेतिर घरेलु हतियारसहित डेढ सयको सङ्ख्यामा भारतीय नागरिक १२५÷१० नम्बरको सीमास्तम्भ नजिकबाट नेपाली सुरक्षा चौकीमा हुलहुज्जत गर्दै नेपाल पस्न खोजेपछि उनीहरुलाई रोक्न एक राउण्ड हवाई फायर गरिएको बताउनुभयो ।
नेपाली सुरक्षाकर्मीले हवाई फायर गरेपछि उनीहरु भागेर तितरवितर भएका थिए । भारतीय नागरिकले नेपाली भूमिमा लगाएको मकैबाली उठाउनका लागि जबर्जस्ती गर्ने क्रममा झापाको सीमा क्षेत्रमा नेपाली सुरक्षा चौकीमा भएको यो तेस्रो आक्रमण प्रयासको घटना हो ।
एक साताअघि झापा गाउँपालिका–४ सुकुम्बासी बस्तीमा १३१ नम्बरको सीमास्तम्भ नजिक रहेको नेपाली सुरक्षा चौकीमा भारतीय नागरिकले हुलहुज्जत गर्दा दुई राउण्ड हवाई फायर भएको थियो । भारतीय पक्षबाट सो घटनाका बारेमा माफी माग्दै अबदेखि सीमामा हुलहुज्जत नगर्ने प्रतिबद्धता व्यक्त भएको थियो ।
यसैगरी डेढ साताअघि झापाको कचनकबलस्थित सीमा क्षेत्रमा तैनाथ नेपाल प्रहरीको टोलीमाथि भारतीयले आक्रमणको प्रयास गरेका थिए ।
उता सर्लाहीको सिमावर्ती गाउँ मधुवन गोठबाट हतियारसहित दुईजना पक्राउ परेका छन् । विष्णु गाउँपालिका–४ मधुवन गोठबाट दुई थान हतियारसहित एक भारतीय र एक नेपाली नागरिकलाई प्रहरीले शनिबार साँझ पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत विहार राज्य सीतामढी जिल्लाको मुरहा निवासी करिब २६ वर्षीय अनिष साह मुसलमान र विष्णु गापा–४ मधुवन गोठका २५ वर्षीय मदनकुमार साह कानु रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुबाट एक थान चाइनिज पेस्तोल र त्यसमा लाग्ने पाँच राउण्ड गोली बरामद गरेको छ । त्यस्तै एक थान देशी नलकटुवा र त्यसमा लाग्ने एक थान गोली बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुले प्रयोग गरेको भारतीय नम्बरको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
विशेष सुराकीका आधारमा प्रदेश नं २ को विशेष टोली, मधुवन गोठ र बराउधोर प्रहरी चौकीको संयुक्त टोलीले घेरा हाली दुवै जनालाई नियन्त्रणमा लिएको जनाइएको छ । पक्राउ परेका दुवै जना कैयौँ आपराधिक घटनामा संलग्न रहेको प्रहरी स्रोतले जनाएको छ । दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।