कर्पोरेट/पर्यटन

अरब सागरको चक्रवातबाट हिमाल आरोहण प्रभावित

तत्काल हिमाल आरोहण नगर्न मौसमविद्को सुझाव, आवश्यक सतर्कता अपनाउन अनुरोध

शक्तिशाली चक्रवात ताउकतेका कारण मंगलबारदेखि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना छ । चक्रवातको प्रत्यक्ष प्रभाव नेपालमा नपरे तापनि अप्रत्यक्ष असर देखिने मौसम जल तथा मौसम विज्ञान विभाग, पूर्वानुमान महाशाखाले जनाएको छ । चक्रवात अझ विकसित हुने क्रममा रहेको र हाल उत्तर–उत्तरपश्चिमतिर बढ्ने क्रममा छ ।

बुधबार बेलुकादेखि शुक्रबारसम्म कर्णाली, सुदूपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

नेपालमा चक्रवातको अप्रत्यक्ष प्रभाव मात्र रहने तथा ठूलो वर्षा र हावाहुरीको सम्भावना नरहेको महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । चक्रवातको प्रभाव शुक्रबारसम्म रहने बताइएको छ ।

मुलुकभर यस याममा प्रिमनसुनको गतिवधिका कारण मेघगर्जन/चट्याङ/हावाहुरी र असिनापानीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । महाशाखाले यस अवधिमा उच्च हिमाली भूभागमा पर्वतारोहण नगर्न तथा नगराउनसमेत अनुरोध गर्दै चक्रवातलाई निरन्तर अनुगमन गरिएकाले मौसम अद्यावधिक गरिरहन सबैमा आग्रह गरेको छ ।

सामुद्रिक आँधीको प्रभावका कारण सगरमाथा सहितको हिमाल आरोहण प्रभावित भएको छ । मौसम अनुकूल नहुँदा बिहीबारदेखि नै सगरमाथा आरोहण प्रभावित भएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले जानकारी दिनुभयो ।

“मौसम प्रतिकुल हुँदा अहिले आरोहण भएको छैन”, आधार शिविरबाट आचार्यले भन्नुभयो, “यतिबेला सयौँ आरोही आधार शिविरमा अनुकूल मौसमको पर्खाइमा हुनुहुन्छ ।” यस वर्ष वसन्त यामको सगरमाथा आरोहण गत वैशाख २४ गतेदेखि शुरु भएको थियो । उक्त दिन शेर्पा आरोहीको टोलीले बाटो बनाउने क्रममा शिखर पुगेसँगै व्यावसायिक आरोहण शुरु भएको पर्यटन विभागले जनाएको छ । त्यसपछि वैशाख २८ र २९ गते सयौँ आरोही सगरमाथाको शिखरमा पुगेका थिए । यो समयमा दुई विदेशी आरोहीको मृत्यु भएको छ ।

दुई दिनमा करीब १५० भन्दा बढी आरोहीले सगरमाथाको शिखरमा पाइला टेक्न सफल भएको अनुमान गरिए पनि कोरोना सङ्क्रमणका कारण यकिन तथ्याङ्क सङ्कलनमा समस्या भएको नर्देशक आचार्यको भनाइ छ । उहाँका अनुसार आमादब्लम हिमालको आरोहण सकिएको छ भने लोत्से, नुप्त्से लगायतको हिमाल आरोहण हुने क्रम जारी छ ।

मौसम अनुकूल नहुँदा वैशाख ३० गतेदेखि आरोहण प्रभावित भएको भन्दै उहाँले सबैलाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको बताउनुभयो । मौसम अनुकूल हुने बित्तिकै पुनः शिखरतर्फ जाने क्रम शुरु हुने उहाँको भनाइ छ ।

तत्काल हिमाल आरोहण नगर्न/नगराउन मौसमविद्को सुझाव

अरब सागरको आँधीको प्रभाव नेपालमा पनि देखिने भएको हुँदा तत्काल हिमाल आरोहण नगर्न/नगराउन मौसमविद्ले सुझाव दिएका छन् । मौसमविद् मीनकुमार अर्यालका अनुसार हिमाल आरोहणमा गएकाहरु यो समयमा आधार शिविरभन्दा माथि नजाँदा राम्रो हुनेछ । यसको प्रभाव पश्चिमबाट क्रमैसँग पूर्वतर्फ सर्दै गएको हुँदा बिहीबारदेखि यसबारे प्रभाव बढी देखिने हुँदा उच्च सतर्कता अपनाउन आवश्यक रहेको उहाँको भनाइ छ ।

“भोलि पर्सिसम्म हिमालको माथिल्लो क्षेत्रमा गएकाहरु आधार शिविरमा झर्ने या सुरक्षित स्थानमा बस्नुपर्ने हुन्छ”, मौसमविद् अर्यालले भन्नुभयो, “यो समयमा उच्च वेगको हावा, पानी र हिमपात हुने सम्भावना हुन्छ, त्यसैले सतर्कता अपनाउन आवश्यक छ ।” यस वर्षको वसन्त याममा सगरमाथासहितका हिमाल आरोहणका लागि ८५ समूहका ७४२ आरोहीले अनुमति पाएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.