जन सरोकार

थप तीनजनामा सङ्क्रमण, २९५ पुगे सङ्क्रमित, बाँकेको नरैनापुरलाई चारैतिरबाट बन्द

कोभिड–१९ को सङक्रमणको आज पुनः तीनजनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा तीनजनामा सङ्क्रमण देखिएको बताउनुभयो ।

नयाँ सङ्क्रमितमा धनुकटा निवासी ३४ वर्षीया महिला, मोरङ विराटनगरका निवासी २९ वर्षीया महिला र सोही ठाउँका ३६ वर्षीय पुरुष रहेका छन् ।

बाँकेमा आइतबार एकजनाको मृत्यु भएका परीक्षणका क्रममा सङ्क्रमण देखिएसँगै सङ्क्रमितको सङ्ख्या २९५ पुगेको छ । यसअघि आजै रौतहटका १० जनामा कोराना भेटिएको थियो । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार सङ्क्रमितको अवस्था सामान्य र स्वास्थ्यकर्मीका निगरानीमा रहेका छन् ।

यसैबीच क्वारेन्टिनमा मृत्यु भएका २५ वर्षीय युवकमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै बाँकेको नरैनापुरलाई आज चारैतिरबाट बन्द गरिएको छ । सदरमुकाम नेपालगञ्जदेखि करीब ३५ किलोमिटर दक्षिणपूर्व राप्तीपारी अवस्थित नरैनापुरमा सङ्क्रमण फैलिन नदिन थप नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले आवतजावतमा रोक लगाएर नरैनापुर बन्द गराएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार कोरोना सङ्क्रमितको शव व्यवस्थापन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार गरेको कार्यविधिका आधारमा गरिने तयारी भएको छ । उक्त कार्यविधिमा नेपाली सेना, नेपाल प्रहरीलगायत सुरक्षाकर्मीसहित मिलेर शवको अन्त्येष्टि गर्ने उल्लेख छ । ती युवकलाई भारतको मुम्बइबाट गत वैशाख ३० गते बाँके आएलगत्तै सीधै क्वारेन्टिनमा राखिएको थियो । नरैनापुर ५ मटेहियाको भगवानपुरस्थित दीपेन्द्र प्राविमा रहेको क्वारेन्टिनमा बस्दै आएका वडा नं ५ निवासी युवकले आइतबार बिहान ४ बजेतिर दुई पटक बान्ता गरेलगत्तै अचानक मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार ती युवकसहित भारतबाट नेपाल प्रवेश गरेकाको पिसिआर परीक्षण गर्दा यसअघि नरैनापुर ८ मा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमित आठमध्ये तीन जना दीपेन्द्र प्राथमिक विद्यालयकै क्वारेन्टिनका थिए । सङ्क्रमितको सम्पर्कमा रहेका आधारमा नरैनापुरका विभिन्न क्वारेन्टिनबाट शनिबार २६३ को स्वाब सङ्कलन गरिएको थियो । सङ्कलित स्वाबको पिसिआर रिपोर्ट आउन नपाउँदै युवकको मृत्यु भएको थियो ।
भेरी अस्पतालको आरटिपिसिआर यन्त्रमा गरिएको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ देखिएपछि मन्त्रालयमार्फत सार्वजनिक गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले मृत्युको कारण पिसिआर रिपोर्ट पोजेटिभ भएकाले सोहीअनुसार अन्त्येष्टि गरिने बताउनुभयो । पिसिआर रिपोर्ट नआउँदासम्म आइतबार दिनभर शव क्वारिन्टनमै राखिएको थियो ।

क्वारेन्टिनमा मृत्यु भएपछि नरैनापुरका बासिन्दा थप त्रसित बनेका छन् । उक्त क्वारेन्टिनमा मृतकसँगै अन्य ३८ जनालाई राखिएको थियो । बाँकेमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ का एक, वडा नं। ८ का २४ र नरैनापुरका ८ गरी ३३ कोरोना सङ्क्रमित छन् । तीमध्ये २५ को बाँकेको खजुरास्थित कोरोना विशेष आइसोलेशन अस्पतालमा र आठ जनाको दाङको अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.