राजनीति

वैदेशिक रोजगारीमा गएकाको अधिकार सुरक्षित गर्नुपर्नेमा सभापति देउवाको जोड

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगारीमा गएका नेपालीको हकअधिकार सुरक्षित गर्नुपर्नेमा जोड दिनुभएको छ ।

सभापति देउवाको जोड

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको १२औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले वैदेशिक रोजगारीमा ठगिएका नेपालीलाई सघाउन सरकारीस्तरबाट ठोस प्रयास हुनुपर्ने बताउनुभयो ।

“वैदेशिक रोजगारीमा गएका श्रमिकले पाइरहेका दुःखका बारेमा म जानकार छु, श्रमिकमाथि भइरहेको शोषण रोक्न सरकारलाई आग्रह गर्दछु”, सभापति देउवाले भन्नुभयो । वैदेशिक रोजगारीमा गएका नेपालीबाट प्राप्त विप्रेषणले देशको अर्थतन्त्रमा ठूलो योगदान गरेको भन्दै पूर्वप्रधानमन्त्री देउवाले श्रमिकको समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।

पार्टी नेता डा शेखर कोइरालाले सरकार परिवर्तन हुनेबित्तिकै नीतिनियम परिवर्तन भइरहने समस्याका कारण व्यवसायी मारमा परेका बताउनुभयो । उहाँले ‘भिजिट भिसा’मा विदेश जाने र त्यहाँ लुकेर काम गर्ने प्रवृत्ति बढेकाले त्यसलाई रोक्न सरकार लाग्नुपर्ने बताउनुभयो । उहाँले राजनीतिक स्थायित्व नभएसम्म सुशासन कायम हुन नसक्ने भएकाले राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणाली परिवर्तन गर्न आवश्यक भएको बताउनुभयो । जनताले सडकमा उठाएका सहकारीका समस्यालाई कांग्रेसले सदनमा पु¥याएको बताउनुभयो ।

कांग्रेसका केन्द्रीय सदस्य एवं वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभागका प्रमुख प्रकाश रसाइलीले कानुनअनुसार वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरेका व्यवसायीलाई सरकारी निकायका केही पदाधिकारीले दुःख दिएको आरोप लगाउनुभयो ।

अर्का केन्द्रीय सदस्य सीता देवकोटाले वैदेशिक रोजगार व्यवसायलाई संरक्षण गर्नेगरी नीति बनाउनुपर्ने बताउनुभयो । सोही दलका केन्द्रीय सदस्य अब्दुल सतारले वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन आवश्यक भएको बताउनुभयो ।

नेपाल वैदेशिक रोजगार सङ्घका अध्यक्ष राजेन्द्र भण्डारी, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका अध्यक्ष कुमोद खनाललगायत वैदेशिक रोजगार व्यवसायमा संलग्न व्यवसायीले श्रमिकको समस्या समाधानका निम्ति हरसम्भव प्रयत्न गर्दै आएको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.