जन सरोकार

छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु

धादिङ, महोत्तरी, धनुषा, मकवानपुर र नुवाकोटमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ । धादिङ, गजुरी गाउँपालिका-१ गजुरी बजारमा ना.६ ख २९२० नम्बरको ट्रकले प्रदेश ०३-०२-००६ प २५८७ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सिद्वलेख गाउँपालिका-६ बस्ने २० वर्षीय सनि घलेको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको गजुरी प्राथमिक केन्द्र गजुरीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको मेडिसिटी अस्पताल ललितपुरमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै महोत्तरी, सोनमा गाउँपालिका-३ रघुनाथपुर चोकस्थित सडकमा ज.१ त ५७६८ नम्बरको ट्याक्टरको ठक्करबाट साइकलमा सवार भारत सितामढी ग्राम बेला १ बस्ने लालबाबु शेषको छोरा ८ वर्षीय मो.आशु शेखको शुक्रबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको राम जानकी अस्पताल जनकपुर हुँदै थप उपचारको लागि भारतको सदर अस्पताल सितामढी पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै धनुषा, जनकपुर उपमहानगरपालिका-९ थापा चोकस्थित सडकमा प्र.२-०२-००२ प ५६९४ नम्बरको मोटरसाइकल र बा.२१ च ३३४३ नम्बरको स्कार्पियो गाडी एकआपसमा ठक्कर खाई शनिबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार शहिदनगर नगरपालिका-८ बस्ने ३२ वर्षीय शिविन्द्र रोहिताको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई उपचारको लागि सीता अस्पताल जनकपुर पठाइएको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यता मकवानपुर, बकैया गाउँपालिका-१२ चौतारास्थित ग.३ च ९४७५ नम्बरको टाटा कार अनियन्त्रित भई सडकबाट ५ सय मिटर तल खसेर शनिबार बिहान दुर्घटना हुँदा कारमा सवार रौतहट मौलापुर नगरपालिका-६ बस्ने १७ वर्षीय विबेक शाह र मकवानपुर भिमफेदी गाउँपालिका-८ बस्ने ६५ वर्षीय प्रेम बहादुर ब्लोनको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको हेटौंडास्थित सहकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका कार चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । उता नुवाकोट, दुप्चेश्वर गाउँपालिका-३ राउतबेसीमा बा.२ ख ६३८१ नम्बरको बसले बा.प्र.०२-०२ प ४८५८ नम्बरको मोटरसाइकललाई शनिबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ४० वर्षीया रूपसानी तामाङको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको ग्राण्डी अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.