विश्व समाचार

स्लोभाकियाली प्रधानमन्त्री फिकोको स्वास्थ्य अवस्था स्थिर

गोली लागी घाइते हुनुभएका स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोको स्वास्थ्य अवस्था स्थिर रहेको स्लोभाकियाली स्वास्थ्यमन्त्रीले बताउनुभएको छ ।

प्रधानमन्त्री फिकोलाई बुधबार एक बन्दूकधारी व्यक्तिले गोली हानी हत्या गर्ने प्रयास गरेका थिए । आक्रमणपछि बिहीबार र शुक्रबार दुई वटा सफल शल्यक्रिया भएका छन् भने उहाँको अवस्था ‘सुधारोन्मुख’ रहेको स्वास्थ्य मन्त्रालयले उहाँको उपचारमा  संलग्न चिकित्सकहरूलाई उद्धृत गरी जनाएका छन् ।

फिकालाई बुधबार नै अस्पताल भर्ना गरिएको थियो । स्लोभाकको मध्य शहर बाँस्का बाइस्ट्रिकाको एक अस्पतालमा बुधबार पाँच घण्टा र शुक्रबार अर्को शल्यक्रिया गरिएको हो ।

स्वास्थ्यमन्त्री जुजाना डोलिंकोभाले भन्नुभयो, “दुई घण्टा लगाएर गरिएको शल्यक्रियाले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे ‘सकारात्मक’ पूर्वानुमान गर्न मद्दत गरेको छ ।”

“प्रधानमन्त्रीको स्वास्थ्य अवस्था गम्भीर छ तर शल्यक्रियापछि स्वास्थ्यमा कुनै नकारात्मक खतराका सङ्केत देखिएका छैनन्,” उहाँले भन्नुभयो ।

स्लोभाकियाका सञ्चार माध्यमका अनुसार आक्रमणका लागि आरोपित ७१ वर्षीय कवि जुराज सिन्तुलालाई राजधानी ब्रातिस्लाभाको उत्तरपूर्वमा रहेको पेजिनोकस्थित विशेष दण्ड अदालतले पुर्पक्षका लागि थुनामा राखेको छ ।

सिन्तुलामाथि सुनियोजित हत्या प्रयासको आरोप लागेको छ । सेन्ट्रल माइनिङ टाउन ह्यान्डलोभामा भएको सरकारी बैठकपछि समर्थकलाई अभिवादन गर्न हिँडिरहेका फिकोलाई गोली हानिएको थियो ।

रक्षामन्त्री तथा फिकोका निकटतम राजनीतिक सहयोगी उपप्रधानमन्त्री रोबर्ट कालिनाकले प्रधानमन्त्री होशमा रहेको र उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “प्रधानमन्त्री फिकोको अवस्था अझै गम्भीर छ त्यसैले आगामी केही दिन उहाँलाई उपचार गरिराखिएको अस्पतालबाट ब्रातिस्लाभा लैगिहाने अवस्था छैन ।”

कालिनाकले शनिबार टीए३ समाचार च्यानललाई बताएअनुसार फिकोलाई चार वटा गोली लागेको छ, जसमा दुई हल्का, एक मध्यम र एक गम्भीर चोट लागेको छ । उनान्साठी वर्षीय फिको उहाँको मध्यमार्गी दलले निर्वाचनमा बहुमत ल्याएपछि गत अक्टोबरमा पदभार ग्रहण गर्नुभएको थियो ।

रुस र स्लोभाकियाको छिमेकी मुलुक युक्रेनबीच शान्ति स्थापनाका लागि र किएभलाई दिइने सैन्य सहायता रोक्ने प्रस्तावमाथि अभियान चलाएपछि उहाँ चौथो कार्यकालका लागि प्रधानमन्त्री बन्न सफल हुनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.