बिचार

कोइला हिरामा बदलिसक्यो नेता जस्ताको तस्तै

कर्मले परिवर्तित भएर सत्पुरुष बन्नुपर्नेमा भ्रष्टाचारले खडा गरिएको समृद्धिमा हुँकार

हिजो विमति, आज सहमति, हिजो प्रतिगामी, कुरा मिलेपछि अग्रगामी, भाग नपाउँदा तानाशाही, भाग मिलेपछि लोकतान्त्रिक । नेपालको सत्ता राजनीतिको भकारी यस्तै चरित्रका नेताहरुले भरिएको छ । यिनै नेताको दौराको फेर समातेर मुसा मार्ने दाउमा बिराले चरित्रका अर्को पुस्ताका नेताहरु ढुकेर बसेका छन् ।

केही महिनायतादेखिको सत्ता राजनीतिको फोहोरी, दुर्गन्धित, अशोभनीय, अलोकतान्त्रिक, असामाजिक, गैरराजनीतिक संस्कृति प्रदर्शनको शिखरबाट नेताहरु बेसक्याम्प झरेका छन् । अब त्यहींबाट उनीहरु नयाँ यात्राको तय गर्न तल्लिन छन् । उनीहरुको यात्रा फेरि पनि आफ्नै लागि मात्र हुनेछ, देश र जनताका लागि हैन ।

हाम्रा राजनीतिक दलका नेताहरुको चरित्र कहिल्यै नबदलिने भयो । हजारपटक हामीबाट गल्ती भयो, अब गल्ती गर्दैनौं भन्दै रत्नपार्कबाट भिक्षामागेका थिए र जनताले अपार साथ दिएर राजतन्त्र नै विस्थापन भयो, तर एकसे एक राजाहरुको जन्म हुन पुग्यो । नेताहरुको जीवनशैलीमा भव्य परिवर्तन आयो, तर देश र जनताको जीवनशैलीमा भने कारुणिक परिवर्तन ।

यसैलाई सायद परिवर्तनको उपलब्धि मानिने होला । परिवर्तन वस्तु वा पदार्थको समेत हुन्छ र त्यो परिवर्तनको प्रभाव सकारात्मक नै हुन्छ, तर मानवको स्वभाव आजभोलि मानवीय सम्वेदनशील भावनामा अरु परिवर्तन हुनुपर्नेमा ठीक विपरीत क्रुर, हिंस्रक, अनैतिक, भ्रष्ट, अपराधी हुँदै गएको छ ।

मानवीय संवेदनशीलताका साथै इन्द्रियजन्य राग, द्वेष, काम, क्रोध, भय, हिंसा, घृणा आदि दुर्गुण पनि रूपान्तर भएर अक्रोध, अहिंसा, श्रद्धा, भक्ति, निर्भयतामा परिवर्तित हुने गर्दछन् तर त्यस्ता मानिस आजभोलि भेट्टाउनै मुस्किल छ । आजभोलि जिम्मेवारी लिएकाहरु नै अत्यन्त गैरजिम्मेवार भर आफ्नै मात्र स्वार्थपूर्तिमा लागिरहेका छन् । भोकोलाई खान दिन पनि कमिशन, रोगीको उपचारमा कमिशन, बच्चाको दूध र औषधिमा कमिशन, वृद्धवृद्धाको भत्तामा भ्रष्टाचार । मानिस कर्मले परिवर्तित भएर सत्पुरुष बन्नुपर्नेमा भ्रष्ट हुँदै त्यही भ्रष्टाचारले खडा गरिएको समृद्धिको हुँकारमा समाजलाई आफ्नो बसमा पारेको घमण्ड गरिरहेको छ । आफ्नो प्रभाव बढेको दम्भ प्रदर्शन गरेर अरु अनैतिक बन्दैछ ।

नेपाली राजनीतिमा यस्तै छ । जनताले पटकपटक अब त सच्चिएलान्, अब त राम्रो काम गर्लान् भनेर मौका दिए पनि उनीहरुको प्रवृत्ति यस्तै, विगतमा जस्तो त्यस्तै । उनीहरुको परिवर्तन आफ्नो लागि मात्र भयो, देश र समाजको हितमा भएन । कालो निर्जीव कोइला हिरा बन्न समय त्यति नलाग्ला जति हाम्रा नेताहरु अशल राजनेता हुनमा समय लाग्ने भयो ।

समाजशास्त्रको एउटा सिद्धान्त छ, मुसा, कीरा, फट्याङ्ग्रा, बाँदर, भालु इत्यादि पशुहरुले केवल आफ्नो आफ्नो भाग मात्र खान्छन् अरूको भाग उनीहरूले अपहरण गरेर लैजान सक्दैनन् । तर, अहिलेका मानिस पशुभन्दा निकृष्ट भएर अरुको भाग खोस्न उद्यत छन् । यसै भएर उनीहरु पूर्वीय दर्शन, सिद्धान्त र समाज विकासको अवधारणा अनि मानवअधिकार, प्रजातन्त्र तथा लोकहितको स्थापित शास्त्रीय मान्यतालाई लत्याएर आयातित संस्कृति लाद्न उद्यत छन् ।

धर्म, संस्कृति, परम्परा र शास्त्रीय मूल्य अनि मान्यताहरु स्थापित अकाट्य सत्य भए पनि कथित आधुनिकताको सुगा रटाईमा त्यस्ता व्यक्तिहरु विषवमन गर्दछन् । साम्यवाद वा समाजवादको बखान गरेर नथाक्नेहरु वैदिक साम्यवादको स्थापित मान्यतालाई लत्याउँछन् । “भरिन्छ जतिले पेट त्यतिमा हो उसको हक धेरै ओहट्ने चोर हो सजाँय गर्नु पर्दछ” भन्ने मान्यताको ठीक विपरीत समाजवादको नारा घन्काएर आफैं सोहोर्ने, आफैं हसुर्नेहरु कहिल्यै परिवर्तिन नहुने भए । आफैं मात्र सोहोर्नुपर्ने भएकैले होला उनीहरु शास्त्रीय मान्यताबिरुद्ध पश्चिमा मान्यता लाद्न खोज्छन् । मृत्युपछि कसैले केही लिएर जाँदैन भन्ने एक मात्र सत्य बिर्सन्छन् । तैपनि लोकतन्त्रको दुहाई दिन कोही पछि पर्दैनन् ।

‘लोक’ शब्दले धेरै र व्यापक अर्थ र स्थान ओगटेको हुन्छ । यसको प्रयोग शास्त्रहरुमै गरिएको छ । लोकतन्त्र शासन पद्धतिको एउटा परिचयबोधक राजनीतिक शब्द हो र लोकसम्मतिको पनि जीवनशैलीमा निर्णायक महत्व रहेको पाइन्छ । लोकतन्त्र अहिले शासनसत्ता संचालनमा मात्र सीमित गरिएको छ । पूर्वीय दर्शनशास्त्रले लोकतन्त्रका बारेमा जति चिन्तन गरेको छ, त्यस्को एकांश पनि अहिलेका लोकतन्त्रवादका व्याख्याताहरूमा ज्ञान छैन । गीतामा श्लोकैपिच्छे लोकबारे चर्चा छ । भागवतमा त्यस्तै चर्चा छ । उपनिषद्मा पनि लोककै चर्चा चलेको छ । तन्त्र भन्नु नै विधि हो ।

लोककाबारे पूर्वले विकसित गरेका यस्ता विधि अहिले गौण भएका छन् । किनभने लोकतन्त्रका ठेकेदारहरु ‘लोक’को अर्थ बुझ्न चाहँदैनन् । अनि आफूलाई लोकको एउटा प्रतिनिधिका रुपमा लोकहितकारी काम गर्नुको साटो आफ्नै मात्र दुनो सोझ्याउन उद्यत छन् । कालो कोइला परिवर्तित भएर हिसा बन्न जति समय लाग्ने भो त्योभन्दा कति कति समय हाम्रा लोकतन्त्रका समाजवादी–साम्यवादी नेताहरुलाई राजनेता बन्न लाग्ने भो ! हाम्रो विडम्बना यही हो । यही विडम्बनाको थुप्रोबाट हामी नेपालीले आफ्ना दुर्दिनहरु भोग्दै जानुपरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.