राजनीति

रास्वपाको लिखित निवेदनपछि मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय

वर्तमान सरकारमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का चार मन्त्रीहरुले प्रधानमन्त्री समक्ष आफ्नो सम्पत्ति विवरण बुझाएर त्यसलाई सार्वजनिक गर्न दवाव दिएपछि सरकार सबै मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न सहमत भएको छ ।

कानुनतः मन्त्री भएको ६० दिनभित्र सम्पत्ति विवरण प्रधानमन्त्री कार्यालयमा बुझाउनुपर्ने प्रावधान रहेको र हिले मन्त्री रहेकामध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादव, वन राज्यमन्त्री हसिना खानबाहेक सबैले सम्पत्ति विवरणसमेत बुझाएका छन् ।

विगतदेखि नै मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक नभएपछि रास्वपाबाट मन्त्री बनेकाहरुले सम्पत्ति विवरण सार्वजनिक गर्न औपचारिक पत्र पठाएपछि मन्त्रिपरिषद्को बैठकले मन्त्रीहरूको विवरण सार्वजनिक गर्ने निर्णय गरेको हो ।

रास्वपाका सभापति समेत रहनुभएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री उपसभापति डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले पत्र पठाउनुभएको थियो ।

मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक हुनुपर्ने माग रास्वपाले पहिलेदेखि नै उठाउँदै आएको थियो । अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ र भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० मा सार्वजनिक पद धारण गरेको व्यक्तिको सम्पत्ति विवरण तोकिएको निकायमा बुझाउनुपर्ने प्रावधान छ ।

ऐनमा सार्वजनिक पद धारण गरेको मितिले ६० दिनभित्र र त्यसपछि हरेक आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको निकाय वा अधिकारीसमक्ष पेस गर्नुपर्ने उल्लेख छ ।

तर, पछिल्ला सरकारहरुले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक नगर्ने थिति नै बसालेका थिए । सुशासनको चर्को नारा दिइरहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकार गठन भएको १६ महिनामा १६ पटक मन्त्रिपरिषद् पुनर्गठन हुँदा पनि मन्त्रीको सम्पत्ति सार्वजनिक गरिएको थिएन ।

सुरुमा बनेको नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीसहितको गबठन्धन भत्काएका प्रधानमन्त्रीले कांग्रेस र एकीकृत समाजवादीसहितको गठबन्धन समेत भत्काएर गत फागुनमा फेरि सुरुकै गठबन्धन ब्युँताएर मन्त्रिपरिषद् पुनर्गठन गरेर काम गरिरहेका छन् ।

तर, अहिलेसम्म वर्तमान सरकारका स्वयम् प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्मा सहभागी भएका कुनै पनि मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक भइसकेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफ्नो र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक नगर्ने पक्षमा उभिंदै आएका थिए ।

अघिल्लो सरकारका प्रधानमन्त्री शेरबहादुर देउबा र त्यसअघि केपी शर्मा ओलीको पालामा पनि मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको थिएन ।

२०७४ को चुनावपछि ओलीको नेतृत्वमा गठन भएको मन्त्रिपरिषदका मन्त्रीहरुको भने सम्पत्ति विवरण सार्वजनिक भएको थियो । कतिपय मन्त्रीले विवरणमा उल्लेख गरेको सम्पत्तिबारे सार्वजनिक प्रश्न उठेको थियो भने आलोचना समेत भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.