राजनीति

प्रतिनिधिसभा बैठक २ बजेसम्मका लागि सर्‍यो

आज बिहान ११ बजे बस्नेगरी तय भएको प्रतिनिधिसभाको बैठक आजै दिउँसो २ बजेका लागि सारिएको छ ।

प्रतिनिधिसभाका महासचिव पद्मप्रसाद पाण्डेयले विशेष कारणबस तोकिएको समयमा बैठक बस्न नसकेपछि समय परिवर्तन गरिएको जानकारी दिनुभयो ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उठाउँदै आएको सहकारीको रकम हिनामिना सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्ने विषयमा दलहरू सहमत भए पनि समितिको कार्यादेश टुङ्गो लाग्न सकेको छैन । छानबिन समितिको कार्यादेशबारे अहिले दलहरुबीच छलफल चलिरहेको छ ।

आजै बसेको प्रतिपक्षी दलहरुको बैठकले छानबिन समिति गठन गर्ने र त्यसपछि मात्रै संसद्को कार्यसूची अघि बढ्न दिने निर्णय गरेको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति गठन गर्ने र त्यसको कार्यादेश टुङ्गो लागेपछि संसद्को कार्यसूची अघि बढ्ने बताउनुभयो ।

आज संसद् भवनमा भएको विपक्षी दलका नेताहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिनुहुँदै लेखकले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संसद्मा बोल्दा अवरोध नगर्ने र संसदीय छानबिन समिति गठनको टुङ्गो लागेपछि मात्रै संसद्को कार्यसूची अघि बढ्न दिने निर्णय भएको बताउनुभयो । “अहिले हामी विपक्षमा रहेका सबै राजनीतिक दलहरुबीच छलफल भएको छ । छानबिन समिति बनाउने विषयलाई सबैले सकारात्मकरुपमा लिएका छौँ । छानबिन समिति बनाउने र त्यसपछि संसद्का अरु कार्यसूचीमा प्रवेश गर्ने भन्ने छलफल भएको छ”, लेखकले भन्नुभयो, “गृहमन्त्रीले बोल्नका लागि समय माग्नुभएको छ । त्यसमा हामी अवरोध गर्दैनौँ । हामी उहाँलाई सुन्न तयार छौँ तर सरकारी विजनेसमा प्रवेश गर्नुभन्दा अघि छानबिन समिति बनाउने र उक्त समितिको कार्यादेश टुङ्ग्याइसक्नुपर्ने हुन्छ ।”

छानबिन समितिको कार्यादेशका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच अहिले पनि छलफल चलिरहेको लेखकले बताउनुभयो । कार्यादेश टुङ्गो लागेर छानबिन समिति बनेपछि संसद्का गतिविधि सहजरुपमा अघि बढ्ने उहाँको भनाइ छ ।

शनिबार राति बसेको बैठकमा सत्तागठबन्धन र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहकारी संस्थाको सम्पत्ति हिनामिना भएका विषयमा संसदीय छानबिन समिति गठन गर्ने सहमत भएका थिए ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहुने कार्यसूची छ । त्यसैगरी आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले गर्नुभएको सम्बोधनको प्रति टेबुल गर्नुहुनेछ । राष्ट्रपति पौडेलले जेठ १ गते दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनका लागि सभामुखले धन्यवाद प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्नुहुने कार्यसूची पनि आज राखिएको छ । त्यसैगरी प्रधानमन्त्री दाहालले नेपालको संविधानको धारा ५३ बमोजिम ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९÷८०’ पेस गर्ने कार्यसूची छ ।

त्यसैगरी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस गर्नुहुने कार्यसूची निर्धारण गरिएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८०’ लाई फिर्ता लिने प्रस्ताव पनि पेस गर्नुहुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.