विश्व समाचार

इरानमा राष्ट्रपतिको निधनमा पाँच दिन राष्ट्रिय शोकको घोषणा

इरानका राष्ट्रपति इब्राहिम रायसीको आइतबार दिउँसो हेलिकप्टर दुर्घटनामा निधन भएपछि देशका सर्वोच्च नेता आयातोल्लाह सेयद अली खामेनीले इरानमा पाँच दिनको राष्ट्रिय शोकको घोषणा गर्नुभएको छ ।

इरानमा राष्ट्रपतिको निधन

उहाँले इरानी राष्ट्रले यस दुःखद घटनामा एक इमान्दार र मूल्यवान सेवक गुमाएको बताउनुभयो । संविधानको धारा १३१ बमोजिम उपराष्ट्रपति मोहम्मद मोख्बेरले सरकारको जिम्मेवारी सम्हालनुभएको एक नेताले बताउनुभयो ।

आयातोल्लाह खामेनीले मोख्बरलाई सरकारका तीन शाखाका अन्य दुई प्रमुखहरूसँगको सहकार्यमा अधिकतम ५० दिनभित्र नयाँ राष्ट्रपति चयन गर्ने व्यवस्था गर्न आग्रह गर्नुभयो ।

यसैबीच, होसेन अमिर–अब्दुल्लाहियानको दुर्घटनामा निधन भएपछि अली बगेरी कानीलाई इरानको कार्यवाहक विदेशमन्त्रीमा नियुक्त गरिएको छ । उहाँले सेप्टेम्बर २०२१ देखि उपविदेशमन्त्रीका रूपमा काम गर्नुभएको छ । समाचार संस्था अल जजिराका अनुसार कानी सन् २००७ देखि २०१३ सम्म इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का उपसचिव रहनुभएको थियो ।

इरानको सरकारी सञ्चारमाध्यमले आज ६३ वर्षीय रायसी, विदेशमन्त्री होसेन अमिर–अब्दुल्लाहियान र अन्य सात जनाको देशको पूर्वी अजरबैजान प्रान्तको पहाडी क्षेत्रमा आइतबार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएको पुष्टि गरेको छ । उक्त दुर्घटनाको इरानी राज्य मिडिया आइआरएनएले हेलिकप्टरको भग्नावशेष देखाउँदै रेड क्रिसेन्टले ड्रोन फुटेज साझा गरेको थियो ।

देशको इस्लामिक रिभोलुसनरी गार्र्डससँग सम्बद्ध समाचार आउटलेट तस्निमले रायसीको अन्त्येष्टि भोलि ताब्रिजमा गरिने जानकारी दिएको छ ।

रायसी, विदेशमन्त्री अमिर–अब्दुल्लाहियान र उहाँको साथमा रहेको प्रतिनिधिमण्डल बोकेको हेलिकप्टर आइतबार पूर्वी अजरबैजान प्रान्तको वर्जाकन र जोल्फा सहरको बीचमा रहेको डिज्मार जङ्गलमा दुर्घटनाग्रस्त भएको थियो ।

इरानी राष्ट्रपति अजरबैजानको भ्रमण सकेर फर्कंदै गर्दा खराब मौसमका कारण उहाँ सवार हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.