नक्कली विवाहको सहारामा चीनमा नेपाली युवती तस्करी
विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको नेपालको उत्तरी छिमेकी मुलुक चीन नेपाली युवतीको तस्करीको नयाँ गन्तब्य बन्दै गएको छ । चिनीयाँ नागरिकसंग नक्कली विवाह गराएर तस्करी हुने गरेको पाइएको हो ।

नेपाल प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्यूरोले गरेको छानबिनका क्रममा चिनीयाँ नागरिकसंग नक्कली विवाह गराएर नेपाली युवतीको बेचबिखन गर्ने गिरोह सक्रिय रहेको पाइएको छ ।
यसरी नेपाली युवतीलाई चीन पठाएको आरोपमा एकजना पक्राउ परेकी छन् । पक्राउ पर्नेमा नुवाकोटको किस्पाङ गाउँपालिका–१ स्थायी घर भई हाल चीनमा बस्दै आएकी ४३ वर्षीया मनमाया घले छिन् ।
ब्यूरोका एसपी गौतम मिश्रले पीडितले दिएको जाहेरीका आधारमा अनुसन्धानका लागि घलेलाई ठमेलबाट पक्राउ गरिएको बताउनुभयो ।
घलेले आर्थिक अवस्था कमजोर भएकी एक युवतीलाई प्रलोभनमा पारेर चिनियाँ नागरिकसँगको मिलेमतोमा जिल्ला अदालत, काठमाडौंमा लगेर ललाइफकाई १२ चैत २०७९ मा अदालती विवाह गराएको खुलेको छ ।
विवाहपछि १ वैशाख २०८० मा उनलाई चीन लगेर घले नेपाल फर्किएको र चीनमा पीडितलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाएको समेत खुलेको छ ।
पछि पीडितले आफन्तलाई सम्पर्क गरेपछि चीनस्थित नेपाली दूतावाससँगको समन्वयमा १ असार २०८० मा उनको उद्दार भएको थियो । यो मामिलामा संलग्न चिनियाँ नागरिक र अन्य व्यक्तिहरुबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्