जन सरोकार

सरकार कुर्सी जोगाउन व्यस्त, दलहरु कुर्सी पाउने खेलमा मस्त, जनता रोग र भोकको मारमा

नेपाल सरकार, सरकार बनाउन तयार भएका राजनीतिक दल, सरकारी निकायहरु महामारीको यो समयमा जिम्मेवार नहुँदा जनता रोग र भोक दुबैले त्रस्त छन् । अझ रोगभन्दा भोकको डरले सताएका उनीहरु जोखिम मोलेर कोरोनाले महामारी मच्चाइरहेको भारत पस्न थालेका छन् ।

भारतमा महामारी फैलिएपछि करिब एक महिना पहिले भारतमा मजदूरी गर्न गएका आफ्ना परिवारका सदस्यसहित नेपाल फर्कनुभएका कैलालीको गोदावरीका श्यामकुमार चौधरी शुक्रबार परिवारसहित भारत लाग्नुभयो ।

महामारीका बीचमा भारतबाट रोगको डरले घर फर्कनुभएका श्याम अहिले रोगभन्दा पनि भोकको डरले फेरि भारत फर्कन लागेको सुनाउनुहुन्छ । “घर आउने बित्तिकै निषेधाज्ञा शुरु भयो, भारतबाट आउँदा ल्याएको पैसा पनि सकियो, यहाँ काम पनि छैन बाँच्न गाह्रो भो त्यसैले बरु रोग लागेर मरे मरिएला तर भोकबाट त बचौँ भन्ने लागेर भारतको बैङ्गलोर जान लागेको हो”, श्यामकुमारले भन्नुभयो । यस्तो समयमा जान मन नभए पनि भोको पेटका लागि जानैपर्ने अवस्था रहेकाले जान लागेको श्यामकुमारकी श्रीमतीले गुनासो गर्नुभयो । हातमा दुधे बालक च्याप्नुभएकी उहाँले यहाँ बसे रोगभन्दा पनि भोकले मर्नुपर्ने अवस्था आयो त्यसैले फर्किन लागेको बताउनुभयो ।

महामारीबाट बच्न घर फर्किएका आफूहरू महामारीकै बीचमा फेरि पनि भारत फर्कनुको कारण भोककै पीडा भएको भारतको पञ्जाब जानका लागि गौरिफन्टा नाकामा भेटिनुभएका हर्क लामाले गुनासो गर्नुभयो । भारतमा कोरोना महामारी डरलाग्दो गरी फैलिएपछि एक महिना पहिले नेपाल फर्किनुभएका लामाले स्वदेशमा बिहान बेलुकाको छाक टार्नसमेत मुश्किल हुन थालेपछि पुनः भारत जान बाध्य भएको बताउनुभयो । “रोगको डरले भारतबाट नेपाल आए, तर फेरि भोकको डरले भारत नै फर्कँदैछु”, लामाले निन्याउरो अनुहार लगाउँदै दुखेसो पोख्नुभयो ।

घरमा खानलाउनकै समस्या भएपछि श्यामलाल र हर्कजस्तै भोकले सताएको कारण भारतबाट आएको दुई महिनामै फेरि फर्कन लाग्नुभएका कैलालीका मोहन विक पनि कमाउने कुनै बाटो नभएकाले उतै जान लागेको बताउनुहुन्छ । भारतमा कोरोना बढेर स्थिति भयावह भएपछि ज्यान जोगाउन स्वदेश फर्किएका नेपालीहरू अहिले धमाधम भारत जान थालेका छन् । भारतमा स्थिति भयावह हुँदा नेपाल फर्किएकाहरू बिहान–बेलुकाको छाक टार्नसमेत मुस्किल हुन थालेपछि उनीहरू पुनः रोजगारीकै लागि भारत जान थालेका हुन् ।

कैलालीमा निषेधाज्ञा जारी छ तर यसैबीच गौरीफन्टा नाका भएर दुई हजारभन्दा बढी नेपाली भारत पलायन भइसकेका छन् । अहिले सीमामा नेपाली नागरिकलाई भारत जान रोक छैन भने भारतीय नागरिकलाई नेपाल आउन रोक लगाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.