जन सरोकार

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु 

दाङ, कपिलवस्तु र महोत्तरीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दाङ, लमही नगरपालिका-१ नर्ति चोकस्थित सडकमा लुम्बिनी एएए ८७०० नम्बरको मोटरसाइकल र रा.३ प ८२४५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा रा.३ प ८२४५ नम्बरको मोटरसाइकल चालक रोल्पा गंगादेव गाउँपालिका-६ ताप्ला बजार बस्ने ५४ वर्षीय बिर बहादुर खड्काको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको लमही अस्पताल लमहीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका लुम्बिनी एएए ८७०० नम्बरको मोटरसाइकल चालक र रा.३ प ८२४५ नम्बरको मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै कपिलवस्तु, शिवराज नगरपालिका-५ बालापुर मोडस्थित सडकमा ना. ६ ख ६५६२ नम्बरको ट्रकले लु. १६ प ७५९९ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक बुद्धभुमि नगरपालिका-९ बस्ने ५५ वर्षीय जलेश्वर प्रसाद थारूको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटा कपिलवस्तुमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै महोत्तरी, बलवा नगरपालिका-७ बनौटास्थित सडकमा प्रदेश २-०२-००२ प ३५०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २२ वर्षीय कृष्ण मण्डलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको रामजानकी हेल्थ केयरमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार अन्य दुई जनाको सोही हेल्थ केयरमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.