कडा प्रावधान सहित निषेधाज्ञा एक साता थप
प्रशासन र अन्य निकायबाट जारी सबै पास खारेज, निषेधाज्ञा उल्लंघन गर्नेलाई पटकैपिच्छे जरिवाना
कोरोना संक्रमण रोकथाम तथा उपचारका लागि सकरारले जारी गरेको अध्यादेश अनुसार निषेधाज्ञा उल्लंघन गर्नेलाई कडा कारबाहीको घोषणा सहित उपत्यकामा लगाइएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ ।

मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकपछि थप एक साता कडा निषेधाज्ञा लगाउने निर्णय भएको हो । यसपटक किराना पसल, डिपार्टमेन्टल स्टोर खोल्न पाइने छैन । अत्यावश्यक बस्तु तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल बिहान ९ बजेसम्म मात्र खोल्न पाइनेछ काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताउनुभएको छ ।
उहाँका अनुसार सरकारी कार्यालय, बैंक, सार्वजनिक संस्थान र इन्टरनेट सेवा प्रदायकको सवारीसाधन सञ्चालनमा पनि कडाइ गरिएको छ । अब ती क्षेत्रका सवारीसाधन बिहान साढे ९ बजेदेखि साढे १० सम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म मात्र चल्न पाउनेछन् ।
त्यस्तै निर्माणका कार्यलाई पनि प्रशासनले एक साताका लागि रोक लगाउने निर्णय गरेको छ । विवाहमा ७ जना मात्र जम्मा हुन पाउने भनिएको छ । साथै, हालसम्म प्रशासन र अन्य निकायबाट जारी सबै पास पनि खारेज गर्ने निर्णय भएको अधिकारीले जानकारी दिनुभयो ।
निषेधाज्ञाको पालना नगर्नेलाई कारबाही गर्ने गरिने भएको छ । हालै जारी कोभिड–१९ अध्यादेशअनुसार उल्लंघन गर्नेलाई कारबाही गर्ने पनि निर्णय भएको हो ।
अध्यादेशमा अनुमतिविना वा बिरामी ओसारपसार गर्ने प्रायोजनबाहेक सवारीसाधन चलाउनेलाई कारबाही गर्नसक्ने व्यवस्था छ । त्यस्तो अवस्थामा दुईपांग्रेलाई दुई हजार र अन्य सवारीसाधनलाई ५ हजार रुपैयाँ जरिवाना तिराउन सक्ने भनिएको छ ।
मास्क नलगाइ सार्वजनिक स्थलमा आवतजावत गर्नेलाई पनि पटकैपिच्छे एक सय रुपैयाँ तिराउन सक्ने व्यवस्था छ । साथै, हिंडडुलमा रोक लगाएको अवस्थामा विना काम निस्किनेलाई दुई सय रुपैयाँ तिराउन सक्ने भनिएको छ ।
प्रतिक्रिया राख्नुहोस्