कर्पोरेट/पर्यटन

कीर्तिमानी कामिरितालाई विमानस्थलमा भव्य स्वागत

सर्वोच्च शिखर सगरमाथाको ३०औँ पटक सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका कामिरिता शेर्पा आरोहण सकेर शुक्रबार काठमाडौँ फर्किनुभएको छ ।

कीर्तिमानी कामिरिता

लुक्लाबाट अपराह्न काठमाडौँ आइपुग्नुभएका कीर्तिमानी आरोही शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्वतारोही, पर्यटन व्यवसायीलगायतले भव्य स्वागत गर्नुभएको थियो ।

सगरमाथा आधार शिविरस्थित पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयका अनुसार कामिरिता शेर्पाले यही जेठ ९ गते बिहान ७ बजेर ४९ मिनेटमा सगरमाथाको चुचुरोमा ३०औँ पटक पाइला टेकेर कीर्तिमान बनाउनुभएको थियो । वसन्त ऋतुको जारी आरोहणमा कामिरिताले यसअघि धेरै पकट सगरमाथाको सफल आरोहण गर्ने आफ्नै नाममा रहेको कीर्तिमान तोड्नुभएको हो । यो ‘सिजन’मा कामिरिताले गत वैशाख ३० गते सगरमाथाको २९औँ पटक आरोहण गरेर यसअघि २८औँ पटक सगरमाथा आरोहणको कीर्तिमान तोड्नुभएको थियो । कामिरिताले गत वर्षझैँ यसपटक पनि दुईपटक सगरमाथा आरोहण गर्नुभएको हो ।

सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको थामेका ५४ वर्षीय कामिरिता कुशल पर्वतारोही पथप्रदर्शकसमेत हुनुहुन्छ । सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुग्नुभएका उहाँका नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ । सगरमाथा आरोहणका ७१ वर्षे इतिहासमा उहाँ सर्वाधिक आरोहण गर्ने कीर्तिमानी आरोही हुनुहुन्छ । अघिल्लो वर्षको वसन्त ऋतुमा सोलुखुम्बुकै पासाङदावा शेर्पाले २७ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाउनुभएको थियो । यस वर्षको वसन्त ऋतुमा गत वैशाख २८ गतेदेखि सगरमाथा आरोहण सुरू भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.