कला/मनोरन्जन

समाजले गुमाएका धेरै कुरा सङ्गीत र साहित्यले जोगाउनुपर्छ

जस्तोसुकै अवस्थालाई प्रतिनिधित्व गर्नसक्ने सङ्गीत र साहित्य समाजका अन्य धेरै पक्षहरुभन्दा पृथक छ । त्यसैले सरोकारवालाहरुले राजनीतिले गुमाएको कुरा सङ्गीत र साहित्यले जोगाउनुपर्छ भन्नेमा जोड दिनुभएको छ ।

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठद्वारा सृजित ‘नबुझिएको जिन्दगी’ गीति सङ्ग्रह लोकार्पणका लागि ललितपुरमा आयोजित कार्यक्रमका वक्ताहरुले साहित्य र सृजना अनुभूतिको सुक्ष्मतम क्षेत्र भएकाले यसले विश्वभर नेपालको अस्तित्व र पहिचानलाई जोगाइ राख्नुपर्ने बताउनुभयो ।

गीतकार तथा सङ्गीतकार प्रा दीपक जङ्गमले नेपाली गीत सङ्गीतमा गुणस्तरीयताको खाँचो रहेको उल्लेख गर्दै राम्रो गीत, सङ्गीत र साहित्यको महत्व शताब्दीऔँसम्म पनि कायम रहने बताउनुभयो ।

“सङ्ग्रहित गीतहरु सुन्दर र उत्कृष्ट रहेका छन्, ओझपूर्ण यी गीतहरु अमूल्य सम्पत्ति हुन्”, उहाँले भन्नुभयो । गीतसङ्गीत क्षेत्रमा क्रियाशील कलाकारको हीत र साहित्य र सङ्गीतको विषयमा ऐन कानुन बनाउन कलाकारहरु नै सक्रिय र एकजुट हुनुपर्ने प्रा जङ्गमले बताउनुभयो । उहाँले सम्बन्धित क्षेत्रमा ज्ञान नभएका बाहिरी मान्छे हावी हुँदा गीत सङ्गीतकर्मीले दुःख पाउने बताउनुभयो ।

कवि तथा गीतकारका रुपमा पहिचानका साथ क्रियाशील व्यक्तित्व पूर्वप्रधानन्यायाधीश श्रेष्ठले आफू नवप्रवेशी गीतकार भएको बताउनुभयो । चार दशक बढी समय न्याय क्षेत्रमा योगदान गरी सेवा निवृत हुनुभएका श्रेष्ठले आफू जीवनभर पेट पाल्ने विद्यामा रुमल्लिएर मन पाल्ने विद्या साहित्य र सृजनाको क्षेत्रलाई भुलेको बताउनुभयो ।

“अनुभूतिको सुक्ष्मतम क्षेत्र साहित्य र सृजना हो, नेपाली वाङ्मय विश्वभर झाङ्गिएको छ, विश्व प्रतिस्पर्धामा भाग लिन सक्ने छ । नेपालको जीवनशैली संगीतमय छ”, उहाँले भन्नुभयो ।

सङ्गीतकार महेश खड्काले प्रतिलिपी अधिकार ऐनलाई सर्जक र सष्टाले आफ्नो प्रतिलिपी अधिकार सुरक्षित गर्न सक्ने गरी पुनःलेखन गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालमा वौद्धिक सम्पत्ति संरक्षण र प्रतिलिपी अधिकारसम्बन्धी प्रभावकारी र सर्जकमैत्री कानून नबन्दन कलाकार र श्रष्टाहरुले आफ्नो परिश्रमको मूल्य पाउन नसकेको बताउनुभयो ।

सबैभावका गीतहरु उत्तिकै रुपमा लेख्न सक्ने खुवी भएका वौद्धिक तथा सृजनशील व्यक्तित्व श्रेष्ठद्वारा सृजित सात वटा गीत यसअघि नै सार्वजनिक भइसकेको सञ्चारकर्मी नरेशराज भट्टराईले जानकारी गराउनुभयो ।

‘नबुझिएको जिन्दगी’ नामक गीतिसङ्ग्रहमा रहेका पाँच वटा गीतमा युवा सङ्गीतकार महेश खड्का, सुदेशराज शर्मा र सुनिल मास्केले सङ्गीत रहेको छ । पूर्वप्रधानन्यायधीश, गीतकार तथा सङ्गीतकार श्रेष्ठका थुप्रै लेख रचना शारदा र मधुमर्क पत्रिकामा प्रकाशित छन् ।

कार्यक्रममा नेपाल कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधान, गीतकार सङ्घका पूर्वअध्यक्ष चुडामणि देवकोटा, वरिष्ठ गीतकार आनन्द कार्कीलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.