ड्युक र त्रि.वि.का विद्यार्थीहरुद्वारा भूकम्प प्रारम्भिक चेतावनी अनुसन्धान प्रस्तुत
त्रिभुवन विश्वविद्यालय र ड्युक विश्वविद्यालय (अमेरिका)को इन्स्टिच्युट अफ इन्जिनियरिङका विद्यार्थीहरूले एक वर्षसम्म गरेको भूकम्प प्रारम्भिक चेतावनी अनुसन्धान प्रतिवेदन प्रस्तुत गरेका छन् ।

यही जेठ ९ गते शुक्रबार काठमाडौंको होटल हिमालयको स्काइलाइनमा सम्पन्न संगोष्ठीमा अनुसन्धान प्रतिवेदन प्रस्तुत गरिएको हो ।
संगोष्ठीमा प्रस्तुत गरिएको भूकम्प प्रारम्भिक चेतावनी सम्बन्धी अनुसन्धानले प्रविधि, सामाजिक विज्ञान, सार्वजनिक नीति, डाटा विज्ञान, भूकम्प इन्जिनियरिङ र भूगर्भशास्त्रजस्ता क्षेत्रहरूबीचको सहकार्य आवश्यक रहेको देखाएको छ।
विद्यार्थीहरूले चेतावनी प्रणाली पनि यदि नीति निर्माण र जनचेतना उपयुक्त नभएमा ठ्याक्कै प्रभावकारी हुँदैन भन्ने कुरामा जोड दिएका थिए ।
डाटा विज्ञान र इन्टरनेट अफ थिङ्समा भएको प्रगतिले यस्तो प्रणाली विकासका उपकरणहरूलाई अझ सहज बनाएको छ भने विशिष्ट ज्ञान भने अपरिहार्य रहेको प्रस्तुति गरिएको थियो ।
काठमाडौं जियो ल्याब नामक संस्था ड्युक र इन्स्टिच्युट अफ इन्जिनियरिङबीचको सहकार्य अन्तर्गत आयोजित संगोष्ठी विद्यार्थीहरूको व्यक्तिगत तथा सामूहिक प्रयासको एक विशेष उपलब्धिको रूपमा सम्पन्न भएको थियो ।
यस अवसरमा ड्युक विश्वविद्यालयका सिभिल तथा वातावरणीय इन्जिनियरिङका प्राध्यापक डा. हेनरी ग्याभिनले भूकम्प पूर्व चेतावनी प्रणालीसम्बन्धी अध्ययन निकै महत्वपूर्ण रहेको बताउनुभयो ।
उहाँले यो विषय नीति निर्माण तहमा स्पष्ट रूपमा उल्लेख हुनु जरुरी रहेको स्पष्ट पार्दै यसबाट विपद् जोखिम न्यूनीकरणमा प्रभावकारी पहल गर्न सकिने बताउनुभयो ।
परियोजनाका विद्यार्थी संयोजक तथा आईओईका पूर्व विद्यार्थी इन्जिनियर सागर खनालले आईओई र ड्युक विश्वविद्यालयबीचको सहकार्य हामी जस्ता विद्यार्थीहरूका लागि अत्यन्तै फलदायी र अर्थपूर्ण रहेको र यसले अनुसन्धान गर्न र अन्तर्राष्ट्रिय शोधकर्तासँग सहकार्य गर्ने अवसर प्रदान गरेको बताउनुभयो ।
काठमाडौं जियो ल्याब सन् २०१९ मा इन्स्टिच्युट अफ इन्जिनियरिङर ड्युक विश्वविद्यालयबीच भएको सम्झौताबाट स्थापना गरिएको हो। यसको उद्देश्य भूकम्प प्रारम्भिक चेतावनी प्रणालीको विकासमा विद्यार्थीहरूलाई सहकार्यमार्फत सक्षम बनाउनु हो, जसले दीगो रूपमा राष्ट्रिय क्षमताको विकास गर्ने रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्