राजनीति

नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएका सबैमाथि अनुसन्धान हुने

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा केही शीर्ष तहका राजनीतिक व्यक्ति र उच्च अधिकारीहरुलाई उन्मूक्ति दिएको आरोप सदनदेखि सडकसम्म लागिरहेको छ ।

यस प्रकरणमा संलग्न ३० जना अभियुक्तमाथि अदालतमा मुद्दा दायर भए पनि अन्य व्यक्तिमाथि अनुसन्धान नभैरहेको आरोप लागिरहेका बेला अब नाम जोडिएका अन्य उच्च पदस्थ अधिकारीमाथि समेत अनुसन्धान अघि बढ्ने भएको छ।

यस प्रकरणमा प्रहरीले पूर्वमन्त्रीद्वय बालकृष्ण खाण, टोपबहादुर रायमाझी, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलगायत ३० जनाविरुद्ध अनुसन्धान गरेर मुद्दा दायर गरिसकेको छ ।

यसबीच उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा अन्य व्यक्तिमाथि अनुसन्धान सुरु भएको खुलासा गर्नुभएको छ।

विगतमा राज्य सञ्चालनको जिम्मेवारीमा रहेका व्यक्ति नै यस घटनामा संलग्न भएको अनुसन्धाबाट खुलेको बताउँदै उहाँले आफ्नै देशका नागरिकलाई अनागरिक बनाई अर्कै देशको शरणार्थी बनाएर सम्पत्ति आर्जन गर्ने काम क्षम्य नहुने स्पष्ट पार्नुभएको छ।

यस प्रकरणमा जिल्ला प्रहरी परिसर काठमाडौँले चैत १२ गते अनुसन्धान सुरु गरी गत सोमबार अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले प्रहरीले अभियुक्त किटान गरेका ३० जनामाथि राज्यविरुद्धको कसुर, सङ्गठित अपराध तथा ठगी अभियोगमा जिल्ला अदालत काठमाडौँमा बुधबार मुद्दा दर्ता गरेको छ।

प्रहरीले यस प्रकरणमा नाम जोगिएका उच्च पदस्थ अधिकारी र अन्य व्यक्तिबारे समेत थप प्रमाण जुटाउने काम गरिरहेको दाबी मन्त्री श्रेष्ठले सार्वजनिक रूपमा बताउँदै आउनुभएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.