प्रदेशलुम्बिनी

लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन सुरु

लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन शुक्रबारदेखि सुरु भएको छ । प्रदेशसभाको आजको बैठकमा प्रदेश प्रमुखबाट प्रदेशसभाको अधिवेशन आह्वानसम्बन्धी र मौजुदा मन्त्रिपरिषद् नियुक्ति र कार्य विभाजनसम्बन्धी प्राप्त पत्र सभामुखले पढेर सुनाउनुभएको थियो ।

लुम्बिनी प्रदेश

बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले सरकारले कृषि, पर्यटन र रोजगारलाई प्राथमिकतामा राखेर बजेट बनाउनुपर्ने बताउनुभयो । “प्रदेशको समृद्धि नै अहिलेको आवश्यकता हो । रोजगारी सिर्जना गर्ने मूल लक्ष्य छ”, उहाँले भन्नुभयो, “सरकारले जनभावनाअनुसार बजेट ल्याउने आशा छ ।”

नेकपा (एमाले) का उपनेता चेतनारायण आचार्यले प्रदेश स्थापना हुँदा बनेको सरकारले प्रदेशको समृद्धिका लागि योजना निर्माण गरेको र सोही योजनालाई आधार मानेर बजेट तथा कार्यक्रम बनाउन सुझाव दिनुभयो । उहाँले अघिल्लो पटक बनेका सरकारले अघि सारेका योजना र तिनको अवस्थाका बारेमा जिज्ञासा राख्नुभयो । उहाँले प्रश्न गर्नुभयो, “पाँच वर्षअघि सारिएका आयोजना अझै किन पूरा हुन सकेन ?”

नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक इन्द्रजित थारुले सन्तुलित विकासलाई आधार मानेर सरकारले बजेट तथा कार्यक्रम बनाउनुपर्ने बताउनुभयो । उहाँले सरकारले सबैको भावना सम्बोधन गर्न सक्नुपर्ने बताउनुभयो । “विकास र समृद्धि अहिलेको मूल आवश्यकता हो”, उहाँले भन्नुभयो, “बजेटले अहिलेको समस्या समाधान गर्ने मार्ग देखाओस ।”

बैठकमा औद्योगिक व्यवसायसम्बन्धी प्रचलित प्रदेश कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पेश भएको छ । दोस्रो अधिवेशनको पहिलो बैठकमा सरकारको तर्फबाट आन्तरिक मामिला, कानून तथा सहकारीमन्त्री सन्तोषकुमार पाण्डेले उक्त विधेक पेश गर्नुभएको थियो । प्रदेशसभाको यही बैठक जेठ १४ गते बस्नेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.