कर्पोरेट/पर्यटन

ज्यामरुककोटमा पर्यटकीय पूर्वाधार विस्तार

पर्यटकीय हिसाबले सम्भावनायुक्त म्याग्दीको बेनी नगरपालिका–२ स्थित ऐतिहाँसिक ज्यामरुककोटमा पूर्वाधार विस्तार भएको छ ।

ज्यामरुककोट

ज्यामरुककोटमा रहेका ऐतिहासिक र पुरातात्विक महत्वको खड्गभवानी कोत परिसरका सम्पदाको संरक्षण गर्दै पर्यटन पूर्वाधार विस्तार गरिएको हो । गण्डकी प्रदेश सरकार अन्र्तगतको उद्योग तथा पर्यटन कार्यालय म्याग्दीको सहयोगमा खड्गभवानी कोत परिसरमा पूर्वाधार विस्तार गरिएको बेनी नगरपालिका–२ का वडा अध्यक्ष यामबहादुर कार्कीले जानकारी दिनुभयो ।

“बेनीमा आउने पर्यटकको बसाई लम्बाउन ज्यामरुककोटमा पूर्वाधार निर्माणलाई तिब्रता दिएका छौ,” उहाँले भन्नुभयो “पूर्वाधार विस्तारसँगै यहाँ भक्तजन र पर्यटकको चहलपहल बढेको छ । पूर्वाधारले उनिहरुलाई सहज बनाएको छ ।”

प्रदेश सरकारको रु। १० लाख बजेटबाट यसपाली खड्गभवानी कोतघर परिसरमा पर्खाल निर्माण गरेर फराकिलो बनाइएको छ । ३८ मिटर लामो र २ मिटर अग्लो मेसिनरी पर्खाल निर्माण गरिएको खड्क भगानी कोत मन्दिर संरक्षण समितिका अध्यक्ष रामकृष्ण घिमिरेले बताउनुभयो ।

पर्खाल बनाएर फराकिलो बनाइएको कोतघर परिसरमा भक्तजन र पर्यटक बस्नका लागि १० वटा बेञ्च राखिएको छ । यसअघि प्रदेश सरकारको रु। १५ लाख बजेटमा भकुुण्डे देखि खड्गभवानी कोतघर परिसरमा पुग्ने ३०८ मिटर पक्कि पदमार्ग निर्माण गरिएको पुर्व वडा अध्यक्ष हिरा बहादुर थापाले बताउनुभयो ।

प्रदेश सरकारकै रु। १० लाख बजेटबाट कन्थरथान तर्फबाट कोतघर परिसरमा पुग्ने पदमार्ग निर्माण भएको छ । कोतघर परिसरमा रु। ५ लाख बजेटमा गणेशको मन्दिर बनाइएको छ । कोत परिसरमा २१० मिटर घेराबार, २०० मिटर बाटो ढलान, पटांगिनी निर्माण, नाग थान र मौलो राख्ने बेनी निर्माण गरिएको छ ।

१५औं शताब्दी प्रारम्भसँगै थापाहरूले राज्य गरेको ज्यामरुककोट (खड्गभवानी कोत) परिसरलाई पर्यटन गन्तव्य बनाउन बेनी नगरपालिका र वडा कार्यालयले पूर्वाधार निर्माणमा तीव्रता दिएको बेनी नगरपालिका–२ का सदस्य चन्द्रकान्त रिजालले बताउनुभयो ।

उहाँका अनुसार यहाँ मल्लकालमा प्रयोग भएका दुर्लभ हातहतियार समेत छन् । ४२ रोपनी क्षेत्रफलमा रहेको कोत परिसरमा मल्लकालीन इतिहास, तोप, खुँडा, तरबारलगायत हातहतियार, प्राचीन शिला÷इँटा, खजाना लुकाउने ठाउँ र पानीका लागि बनाइएको राजकुवा अझै पनि यथावत् छन् । समुन्द्रि सतहदेखि १ हजार ६४८ मिटर उचाईमा रहेको ज्यामरुककोटबाट धवलागिरि, नीलगिरि, अन्नपूर्ण लगायत हिमशृंखला, सदरमुकाम बेनी बजार, पञ्चकोट र दर्जनौं ग्रामीण बस्ती अवलोकन गर्न सकिन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.