विश्व समाचार

भारतमा बढ्दो तापक्रम, गम्भीर स्वास्थ्य सङ्कट निम्त्याउनसक्ने चेतावनी

विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको भारत हरितगृह ग्यासहरूको तेस्रो ठूलो उत्सर्जक हो । यहाँको तापक्रम उच्चदरमा बढ्दै जाँदा अनेक समस्या उत्पन्न भैरहेका छन् ।

तातो हावा ‘लू’

अहिले भारतमा बढ्दो तापक्रमले चरम गर्मीका कारण द्रुतरूपमा सार्वजनिक स्वास्थ्य सङ्कटको विषय बनिरहेको विज्ञहरूले बिहीबार बताएका छन् ।

भारतका धेरै सहरले ४५ डिग्री सेल्सियसभन्दा बढी तापक्रमका साथ अत्यधिक गर्मीको लहर झेलिरहेका छन् । तीन करोडभन्दा बढी जनसङ्ख्या भएको राजधानी नयाँदिल्लीमा बुधबार उच्च तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो । भारतीय सञ्चार माध्यमका अनुसार बिहीबार सहरका एक मजदुरको गर्मीका कारण मृत्यु भएको छ ।

“सहरीकरण र जलवायु परिवर्तनको प्रभावबाट सहरहरू बढी जोखिममा छन,”, अनुसन्धान संस्थान क्लाइमेट ट्रेन्ड्सकी निर्देशक आरती खोसलाले भन्नुभयो, “बढ्दो जनसङ्ख्याका कारण मौसमको ढाँचा परिवर्तन हुँदै जाँदा अत्यधिक गर्मी, खडेरी र कम वर्षाका दिनहरूको सामना गर्नुपरेको छ ।”

खोसलाले बढ्दो तापक्रम आजका दिनमा भारतको कल्याणका लागि सबैभन्दा ठूलो खतरा रहेको साथै दिल्ली र अन्य क्षेत्रको हालैको तापक्रम मानव अस्तित्वका लागि खतराको प्रमाण भएको बताउनुभयो ।

भारत गर्मीसँग अपरिचित छैन तर जलवायु परिवर्तनका कारण तापक्रम अत्यधिक, बारम्बार र अधिक तीव्र गतिले फेरबदल भइरहेको वर्षौंको वैज्ञानिक अनुसन्धानले देखाएको छ ।

नयाँदिल्लीको सेन्टर फर साइन्स एन्ड इन्भाइरोमेन्ट (सिएसई) ले यस महिना प्रकाशित गरेको एक अध्ययनअनुसार भारतीय सहरहरू २००१–२०१० को दशकमा जति चिसो थिए त्यति हाल रातमा पनि चिसो नभएको बताएको छ ।

“तातो रातहरू दिउँसोको चरम तापक्रम जत्तिकै खतरनाक हुन्छन् । यदि रातभरि तापक्रम उच्च रह्यो भने मानिसहरूले दिनको गर्मीबाट निको हुने सम्भावना थोरै हुन्छ र यसले शरीरमा लामो समयसम्म तनाव दिन्छ”, अध्ययनले बताएको छ ।

सन् २०१६ मा राजस्थानको थार मरुभूमिको किनारमा रहेको फलोदीमा तापक्रम ५१ डिग्री सेल्सियस पुगेको थियो । यो भारतमा अहिलेसम्मको सबैभन्दा उच्च पुष्टि गरिएको तापक्रम हो ।

अनुसन्धानकर्ताका अनुसार मानव–प्रेरित जलवायु परिवर्तनले भारतमा विनाशकारी गर्मीको प्रभाव निम्त्याइरहेको छ र यसलाई चेतावनीको रूपमा लिनुपर्छ ।

“कोइला, तेल र ग्यास जलाएर र वन विनाशले निम्त्याएको जलवायु परिवर्तनका कारण भारतले यस हप्ता कठिन मौसमी परिस्थितिको सामना गरिरहेको छ”, इम्पेरियल कलेज लन्डनका जलवायुविद् र वर्ल्ड वेदर एट्रिब्युसनका निर्देशक फ्रेडेरिक ओटोले भन्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.