जन सरोकार

कोरोना दलदलमा दैलेख : संक्रमितलाई संगै राखेपछि क्वारेन्टाइनमा बसेकाहरु भागे

केही दिनअघि भारतबाट स्वदेश फर्किएर क्वारेन्टाइनमा बसेकामध्ये दुईजनामा कोरोना संक्रमण पुष्टि भएपछि पनि क्वारेन्टाइनमै राखिएपछि दैलेख सदरमुकामस्थित नारायण नगरपालिकाको नारायण क्याम्पसमा राखिएका नागरिकहरु भागेका छन् ।

दुई दिनदेखि संक्रमण पुष्टि भएका १७ जनालाई सँगै राखेपछि उनीहरु भागेका हुन् । एक सय ५ जनाको क्षमता भएको क्याम्पसमा भारतबाट आएका २ सय १९ जनालाई राखिएको थियो । क्वारेन्टिनमै रहेका अन्यमा पनि सोमबार कोरोना पुष्टि भएको छ ।

योसँगै क्वारेन्टाइनमा रहेका संक्रमितको संख्या मात्रै ३४ पुगेको छ । यता प्रहरीले भने भाग्न खोज्नेलाई पुनस् क्वारेन्टिनमै राखिएको बताएको छ ।

दैलेखमा मजदुरीको लागि भारत गएका नागरिकहरु ठूलो संख्यामा भित्रिएका छन् । हाल नारायण नगरपालिकामा मात्रै १४ सय बढी नागरिक रहेका छन् । भारतबाट आउने क्रम नरोकिएकोले व्यवस्थापनमा कठिनाइ भएको मेयर रत्नबहादुर खड्काको भनाइ छ ।

दैलेखमा भारतबाट आएकाहरुलाई राख्ने क्वारेन्टाइनको अभाव हुनुका साथै परीक्षणमा समेत समस्या उत्पन्न भैरहेको छ । त्यहाँ तीब्रगतिमा कोरोना संक्रमित थपिंदै गएका छन । दुल्लु नगरपालिकाको क्वारेन्टिनमा रहेका ९ जनाको कोरोना परीक्षण गर्दा ७ जनाको कोरोना पोजेटिभ देखिएको छ । केहीदिन अघिदेखि भारतको मुम्बई र गुजरातबाट आएका २३ सय जना मध्ये २०० जनाको स्वाब संकलन गरेर परीक्षणका लागि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो ।

ुप्रतिष्ठानले अहिलेसम्म ९ जनाकोमात्र परीक्षण सकिएको र तीमध्ये ७ जनाको कोरोना पोजेटिभ आएको छ । स्वाब संकलनका लागि पठाएको ६ दिनमा जम्मा ९ जनाकोमात्र परीक्षण हुन सकेको दुल्लु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानमणि नेपालले बताउनुभएको छ । उहाँले आफूहरूसँग पिसिआर परीक्षण गर्ने किट र स्वाब संकलनको क्षमता हुँदाहुँदै पनि परीक्षण हुन नसक्ने अवस्था रहेको बताउनुहुन्छ ।

उता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रदेशभरिका ११ सय स्वाब परीक्षणको लाइनमा छन् । प्रतिष्ठानका निर्देशक मंगल रावलका अनुसार दैनिक २ सय जाँच्दा पनि ६ दिनमा बल्ल रिपोर्ट आउँछ । अहिले सुर्खेतको प्रयोगशालामा परीक्षण प्राविधिक कारणले स्थगित भएको र त्यहाँका स्वाब समेत आफूहरूकहाँ आएको उहाँ बताउनुहून्छ ।

दुल्लुमा भने रिपोर्ट आउन ढिलो हुँदा व्यवस्थापन पनि जटिल हुने र एकबाट अर्कोमा संक्रमण फैलिने डर छ । दुल्लु नगरपालिकाले स्कुल, क्याम्पस र विद्युत कार्यालयको भवन गरी ४० वटा क्वारेन्टाइन बनाएको छ । जसमा सोमबारसम्म भारतबाट आएका २ हजार ५ सय मानिस बसेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.