स्वास्थ्य

“प्रचण्ड गर्मीमा पिपिईभित्र गुम्सिएको पीडा बिरामीको खुशीले त्यसै हराउँछ”

झापास्थित सशस्त्र प्रहरीको ३८ नं विपद् गणमा कार्यरत गङगा प्रधान गत वैशाख २५ मा टाउको, छाती दुख्ने तथा ज्वरो आउने भएपछि उपचारका लागि दमकस्थित एड्भान्स अस्पताल पुग्नुभयो ।

कोरोना पोजेटिभ गङ्गा पाँच दिन त्यहीँ उपचार गरेर केही निको महसुस गरी घर फर्किनुभयो तर उहाँको त्यो खुशी क्षणिक बन्यो । भोलिपल्टै बान्ता आउन थालेपछि श्रीमान् देवचन्द्रले हतारहतार पुनः सोही अस्पताल पुर्याउनुभयो । अपसोच भेन्टिलेटर पाउन सकेनन् हतास मनस्थितिमा श्रीमतीलाई उहाँ विराटनगरको नोबेल अस्पताल पुर्याउनुभयो ।

त्यहाँ दुई दिनको उपचारमा रोग निको हुनुको साटो बल्झिँदै गयो । “रोगले थप च्याप्यो, के भइरहेको छ भन्ने नै थाहा पाउन छाडेँ”, विगत सम्झँदै गङ्गाले रासससँग भन्नुभयो, “त्यो बेला बाँच्छु भन्ने आशै हराएको थियो ।” श्रीमतीको जटिल अवस्थाले देवचन्द्र मलिन बन्नुभयो तर उहाँले हरेस खानु भएन । “मलाई पनि नचिन्ने भइन्, अनि म आत्तिएँ र अफिसमा खबर गरेँ”, उहाँले सुनाउनुभयो ।

अस्पतालले काठमाडौँ लैजानुपर्ने र एम्बुलेन्समा जाँदा तलमाथि हुनसक्ने चेतावनी एकैसाथ दियो । त्यसपछि सशस्त्र प्रहरी बलको समन्वयमा हेलिकोप्टरमार्फत काठमाडौँको सशस्त्र प्रहरी बल (एपिएफ) अस्पतालमा ल्याइएको उहाँले बताउनुभयो ।

गङ्गालाई यही जेठ ७ गतेसम्म सघन उपचार कक्षमा भेन्टिलेटरको सहयोगमा राखियो । केही कम भएपछि अक्सिजन नछुटाई एचडियु वार्डमा सारिएकामा श्वासप्रश्वास सहज भएपछि जेठ ११ गते अक्सिजन निकालेर १३ गते डिस्चार्ज हुनुभयो । “एपिएफका सर र स्वास्थ्यकर्मीको राम्रो साथ, सहयोगले गङ्गाको ज्यान बच्यो, उनले दोस्रो जुनी पाइन्, योभन्दा खुशी मलाई अरू केही छैन”, देवचन्द्रले थप्नुभयो, “यस्तो अरू कसैलाई नपरोस् ।”

केही अघि एक ९१ वर्षीय वृद्धलाई हनहनी ज्वरो आयो, श्वास फेर्न पनि गाह्रो भयो । जीवनको उत्तराद्र्धमा आइपुग्दा कोरोनाले ग्रस्त उहाँ उपचारका लागि एपिएफ अस्पताल बलम्बुमा पुग्नुभयो । सबैले निको हुने आश मारेका थिए तर उहाँको स्वास्थ्यमा नसोचेको सुधार भयो । “बाबु म त ९१ वर्षमा पनि बाँचेँ”, निको भएपछि उहाँले मुस्कुराउँदै भन्नुभएको अस्पतालका सशस्त्र प्रहरी उपरीक्षक डा प्रवीन नेपाललाई ताजै छ । उहाँको खुशी सम्झँदै डा नेपालले भन्नुभयो, “निको भएका बिरामीको अनुहारको चमक शब्दमा व्यक्त गर्न सकिँदैन ।” स्वास्थ्यकर्मीलाई धन्यवाद दिएर वृद्धा घरतर्फ लाग्नुभयो ।

त्यसरी नयाँ जीवन पाएर खुशी साट्दै फर्कने धेरै छन् अस्पतालमा । डा नेपालसामु यस्ता अनौठा र नसोचेका याद कामका दौरान बेलाबेलामा बल्झिन्छ । हरेक भेन्टिलेटरमा बसेका मानिसका कथा र व्यथा अनौठा र अपत्यारिला हुन्छन् । अस्पतालका स्वास्थ्यकर्मीले हरेक क्षण प्रत्यक्ष साक्षात्कार गरिरहेका हुन्छन् । एपिएफ अस्पतालमा महिना दिनका शिशुदेखि ९१ वर्षका वृद्धासमेत खुशी बोकेर फर्किएका चिकित्सक सुनाउँछन् ।

मलिन अनुहार लिएर आएका बिरामी र तिनका आफन्त खुशी बोकेर फर्किंदा चिकित्सकसहितका स्वास्थ्यकर्मीलाई औधी खुशी लाग्छ । त्यहीबीच केही घटनाले मन अमिलो पनि बनाउँछ । डा नेपाल सम्झनुहुन्छ, “बिरामीका मुहारमा जुन खुशी छचल्किन्छ नि, पिपिईभित्र गुम्सिएको हाम्रो पीडा त्यसै हाएर जान्छ ।” यस्तै यस्तै खुशी छाउने प्रयासमा उक्त अस्पताल छ ।

एपिएफ अस्पताल यहाँसम्म आइपुग्न २०७६ को चैत पुग्नुपर्छ । मन्त्रिपरिषद् बैठकले चैत ९ गते अस्पताललाई कोभिड डेडिकेटेड अस्पताल बनाउने निर्णय ग¥यो । त्यो बेला यहाँ ११० श्ययाको अस्पताल सञ्चालनमै थियो । सरकारी घोषणासँगै विश्वव्यापी महामारी फैलिएको कोरोना (विपद्)को सामना गर्न एपिएफले आफूलाई तयार बनाउन कम्मर कसेको हो । पूर्वाधारदेखि नयाँ रोगको सामना गर्न निकै खुल्दुली नभएको होइन । अस्पतालको ११० श्ययाका जनशक्तिले थप झण्डै २०० श्ययाको कोभिड अस्पताल सञ्चालन गर्नु सामान्य थिएन । अहिले पनि त्यही सीमित जनशक्ति ‘डबल ड्युटी’ गरेर अहोरात्र उपचारमा छन् । रातको निद्रा न दिनको भोग नभनी सेवामा खटिएका कर्मचारीसामु आएका चुनौतीका चाङ पार गर्दै यहाँसम्म आइपुगेको सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्याल स्मरण गर्नुहुन्छ ।

शुरुआती समयमा कोभिडको विषयमा खासै ज्ञान थिएन । पहिलो अभ्यास हँुदै थियो । विश्व नै प्रभावित भएको तथा उपचार पद्धति पत्ता नलागेको र रोग के हो, कस्तो हो भन्ने समयमा अस्पतालले चिनजानमा रहेका अमेरिका र इटालीका चिकित्सकको अनुभव सँगालेर सेवा थालेका थिए । विश्व स्वास्थ्य सङ्गठनको समेत परामर्श लिइएको थियो । अध्ययन गर्ने र स्वास्थ्य मापदण्ड हेर्दै उपचार थालिएको थियो । अस्पतालका डा प्रवीन नेपाल तत्कालीन चुनौतीको सामना गर्न सरकार, सङ्गठन, स्थानीय तह, स्थानीय समुदाय र विभिन्न संस्थाको भरपुर सहयोग मिलेको सुनाउनुहुन्छ ।

मुलुकमा भौतिक सामग्री अभाव हुँदा बेलाबेलामा पिरोल्थ्यो । कति बेला पिपिई नभएर हाहाकार भएको समाचार आउँथ्यो, कतिबेला अक्सिजन नभएर समस्या हुन्थ्यो । श्यया, आइसियु, भेन्टिलेटरका समस्याका समाचार सार्वजनकि भइरहे । “हामीले त्यो कुरालाई कुशल रुपमा व्यवस्थापन ग¥याँै, कुनै अभाव महसुस गर्न दिएनौँ”, डा नेपाल भन्नुहुन्छ, “देशमा आइपर्ने सङ्कटमा हो हामीले काम गर्ने, विगतमा गर्दै आयौँ, अहिल महामारीको सङ्कटमा पनि पछि हट्नु हुन्न भनेर लाग्यौँ ।”

विविध प्रयासले एपिएफ अस्पतालले धेरैको मन जित्न सफल भएको छ । अस्पताल सकल दर्जासहित मन्त्री, कलाकार, पत्रकार, न्यायाधीशदेखि राजनीतिकर्मी तथा आम नागरिकको समेत भरोसाको केन्द्र बन्न पुगेको छ । उहाँहरु अस्पतालबाट कोरोनालाई सहज जीत हासिल हाँसीहाँसी फर्किएका छन् । केहीले सामाजिक सञ्जालबाटै एपिएफ अस्पताल र स्वास्थ्यकर्मीको खुलेरै प्रशंसासमेत गरेका थिए ।

अस्पतालका चिकित्सक बिरामीसँग धेरै घुलमिल हुन्छन् । कहिल्यै बिरामीलाई टाढा भएको अनुभव गर्न नदिई प्रत्यक्ष भेटेरै बिरामीसँग अन्तरक्रियामार्फत भावना बुझ्ने र औषधोपचारमा खटिने गरेका सुनाउँछन् । चिकित्सकको असल व्यवहार र मीठो बोलीवचन नै पहिलो औषधि भन्ने गरिन्छ । त्यही वातावरण एपिएफ अस्पतालमा दिने प्रयास गरिएको चिकित्सकको दाबी छ ।

केही हप्ताअघि मुलुकभर अक्सिजन अभाव भएको थियो । अक्सिजन नपाएर केही बिरामीको मृत्युसमेत भयो । अभाव हुन नदिन एपिएफ अस्पतालले अक्सिजनकै लागि छुट्टै समूह परिचालन गरी अभाव हुनबाट जोगाएको डा नेपाल सुनाउनुहुन्छ ।

सशस्त्र प्रहरीका नायब महानिरीक्षक एवं प्रवक्ता अर्याल जुनसुकै खतरा मोलेर भए पनि नागरिक र सकलदर्जाको जीवन रक्षा गर्नु सशस्त्र प्रहरीको कर्तव्य सम्झनुहुन्छ । मनसुनजन्य विपद् प्रभावितको उद्धारमा विगतदेखि नै उत्कृष्ट कार्य गर्दै आइरहेको सशस्त्र प्रहरीले कोरोना महामारीको सङ्कट सामनामा पनि त्यसैगरी डटेको छ ।

शान्तिसुरक्षा, सीमा समस्या, मनसुनजन्य विपद् मात्रै होइन महामारीको खतराको सामना गर्न प्रतिबद्ध हुँदै अहोरात्र खटिन सशस्त्रका टोली तयार रहेको अर्याल बताउनुहुन्छ । उहाँले महामारीको विपद्मा ज्यान अर्पेर नागरिकको ज्यान बचाउने सशस्त्रका योद्धाको प्रशंसा गर्नुभयो ।

हाल एपिएफ अस्पतालमा १८० सामान्य श्यया छन् । त्यसका साथमा १२ भेन्टिलेटरसहित २० आइसियु छन् । पचास श्ययाको एचडियु छ । अस्पतालमा ल्याइएका मध्ये झण्डै ९६ प्रतिशत निको भएर फर्किएका छन् । हालसम्म उक्त अस्पतालमा तीन हजार ३०० भन्दा बढी कोरोनाका बिरामीको उपचार भएको छ । चिकित्सका अनुसार पहिलो र दोस्रो मात्रा खोप लगाएकामा सामान्य तथा मध्यम लक्षण मात्रै देखा परेको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button