जन सरोकार

लुक्लामा पासाङल्हामु स्मृति ‘ग्यालरी’ स्थापना

राष्ट्रिय विभूति एवं पहिलो नेपाली महिला सगरमाथा आरोही पासाङल्हामु शेर्पाको स्मृति ‘ग्यालरी’ स्थापना गरिएको छ । उहाँको जीवनकालका काम र उपलब्धि स्मरण गराउने उद्देश्यले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–२ लुक्लामा आज स्मृति ‘ग्यालरी’ स्थापना गरिएको हो ।

पासाङल्हामु स्मृति ‘ग्यालरी’

पासाङल्हामु पर्वतारोहण प्रतिष्ठानले निर्माण गरेको उक्त ‘ग्यालरी’को खुम्बु पासाङल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले लामाविधिबाट पूजापाठ गरी उद्घाटन गर्नुभयो । ‘ग्यालरी’मा शेर्पाको सन् १९६१ देखि सन् १९९३ सम्मको जीवनकालका गतिविधि र हिमाल आरोहणको इतिहास समेटिएको छ । शेर्पाले गर्नुभएको लैङ्गिक समानता र नेतृत्वको भावलाई सरकारले गरेको सम्मान र उपलब्धिहरु ग्यालरीमा समावेश गरिएको प्रतिष्ठानका महासचिव छेटु शेर्पाले जानकारी दिनुभयो ।

उहाँको जन्मस्थल खुम्बु पासाङल्हामु गाउँपालिकामा भविष्यमा पासाङल्हामु सङ्ग्रहालय स्थापना गर्ने लक्ष्यसहित उक्त कार्यको सुरुआतस्वरुप ‘ग्यालरी’ स्थापना गरिएको प्रतिष्ठानले जनाएको छ । उद्घाटनकै दिन स्वदेशी तथा विदेशी गरी पाँच सय बढी पर्यटकले ‘ग्यालरी’ अवलोकन गरेका छन् । प्रतिष्ठानले लुक्लासँगै पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा पनि पासाङल्हामु ‘ग्यालरी’ स्थापना गर्ने तयारी गरेको छ ।

“पासाङल्हामुले सन् १९९३ अप्रिल २२ का दिन पहिलोपटक सगरमाथाको आरोहण गर्नुभएको थियो । उहाँको सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला हुनुहुन्थ्यो”, प्रतिष्ठानका महासचिव शेर्पाले भन्नुभयो, “ग्यालरीमा राष्ट्रिय विभूति शेर्पाको सम्पूर्ण जानकारीसँगै सगरमाथा आरोही नेपाली महिलाहरु र प्रख्यात महिला आरोहीहरुको जानकारी समावेश गरिएको छ ।”

हालसम्म ६१ जना नेपाली महिलाले सगरमाथा आरोहण गरिसकेका छन् । पासाङल्हामु पर्वतारोहण प्रतिष्ठानले नेपालमै पहिलोपटक ‘इन्डोर वाल क्लाइम्बिङ सेन्टर’ स्थापना गरी पर्वतारोहणको प्रवद्र्धन र लुक्लामा पासाङल्हामु निकोल निकी अस्पताल सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.