कर्पोरेट/पर्यटन

अन्नपूर्ण आरोहण दिवस : विदेशी कूटनीतिज्ञ धम्पुसदेखि अस्तामसम्म पदयात्रामा

विश्वमा हिमाल आरोहणको सुरुवात भएको अन्नपूर्ण हिमालमा मानव पाइला परेको जुन ३ को दिनले आरोहण दिवसका रुपमा चासो र चर्चा कमाएको छ ।

सन् १९५० मा जुन ३ मा फ्रान्सेली आरोही मौरिस हर्जोग र लुई लचेनलले अन्नपूर्ण प्रथम हिमालमा पाइला टेकेपछि मात्रै विश्वमा हिमाल आरोहणको सुरुवात भएकाले पनि यस दिनको गरिमा र महत्व चुलिएको हो ।

फ्रान्सेली टोलीद्वारा आरोहण गरिएको अन्नपूर्ण प्रथम हिमालको उचाइ आठ हजार ९१ मिटर रहेको छ । अन्नपूर्ण हिमाल आरोहणको सफलतासँगै सन् १९५३ मे २९ तारिखको दिन विश्वको सर्वोच्च शिखर सगरमाथामा सर्वप्रथम तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले सफल आरोहण गरेर कीर्तिमान कायम गरेका थिए ।

सर्वोच्च शिखर सगरमाथाभन्दा अन्नपूर्ण प्रथम हिमालको उचाइ कम भएको र आरोहणका दृष्टिले कठिन हिमाल भएका कारण अन्नपूर्ण आरोहणको सफलताले त्यति ख्यातिप्राप्त गर्न नसके पनि यो हिमालले विश्वको सबैभन्दा जेठो हिमालको उपाधि हासिल गर्नुले यसको विशिष्ट महत्व रहेको ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल(टान) गण्डकीका अध्यक्ष धर्मराज पन्थी बताउनुहुन्छ ।

“पर्वतारोहण एवं पदयात्रा पर्यटन नेपालको विशिष्टता हो”, उहाँले भन्नुुभयो, “आरोहणको जेठो हिमालका रुपमा यसको गरिमालाई बढाउनका लागि प्रत्येक वर्ष जुन ३ को दिनलाई अन्नपूर्ण आरोहण दिवस(अन्नपूर्ण डे) का रुपमा भव्यताका साथ मनाउने गरिएको छ ।”

अन्नपूर्ण आरोहण दिवसको महत्वलाई दृष्टिगत गर्दै नेपाल पर्यटन बोर्डको आयोजना एवं ट्रेकिङ एजेन्सिज एशोसिएनशन अफ नेपाल (टान) गण्डकी प्रदेश र नेपात पर्वतारोहण सङ्घ गण्डकी प्रदेशको सहकार्यमा यसवर्ष पर्यटन राजधानी पोखरामा ७४औँ अन्नपूर्ण आरोहण दिवस मनाउन लागिएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका निमित्त प्रमुख नवीन पाखेरेलले बताउनुुभयो ।

नेपाल सरकार परराष्ट्र मन्त्रालयको सहकार्य एवं पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारको साथ र सहयोग गरेको कार्यक्रमअन्तर्गत दिवसको पूर्वसन्ध्यामा आज कास्कीको धम्पुसदेखि धिताल गाउँ हुँदै अस्तामसम्म विदेशी कूटनीतिज्ञहरू पदयात्रामा सहभागी बन्नुुभएको उहाँले जानकारी दिनुुभयो ।

पदयात्रा सहभागी कूटनीतिज्ञलाई स्थानीयले बाजागाजा सहित स्वागत गरेका थिए । अन्नपूर्ण आरोहण दिवसमा भाग लिन आउनुुभएका अमेरिका, बेलायत, भारत, चीन, इजरायल, श्रीलङ्का, पाकिस्तान, थाइल्यान्ड, मलेसियाका राजदूत, दूतावासका उच्च अधिकारी, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सहितका कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिहरू उत्साहपूर्ण रुपमा पदयात्रामा सहभागी बन्नुुभएको थियो ।

सहभागी अधिकांश कूटनीतिज्ञहरूले पदयात्रासहित यहाँको प्रकृतिको मुुक्तकण्ठले प्रशंसा गर्दै प्रकृति तथा वातावरण जोगाउन आग्रह गर्नुुभएको थियो । कार्यक्रम अन्तर्गत परराष्ट्र मन्त्रालयको सहयोगमा आजै साँझ कूटनीतिज्ञहरूको स्वागतमा रात्रि भोज आयोजना गरिएकोमा उक्त समारोहमा पाहुनाहरूलाई उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र परराष्ट्र सचिव सेवा लम्सालले सम्बोधन गर्नुुहुनेछ ।

अन्नपूर्ण आरोहण दिवसको मूल समारोहका अवसरमा भोलि समारोहपूर्व विविध संस्कृति झल्काउने र्याली प्रदर्शनी गरिने जनाइएको छ । कार्यक्रममा अन्नपूर्ण हिमाल आरोहण गरेका पर्वतारोही पूर्णिमा श्रेष्ठ, दावा योङजोम शेर्पा र लाक्पा डेन्डी शेर्पासहित अन्य हिमाल आरोहण गरेका पर्वतारोही पनि सहभागी हुने र उनीहरूलाई सम्मान गरिने जनाइएको छ ।

अन्नपूर्ण आरोहण दिवसकै दिन अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण आधार शिविरबाट कास्कीको पर्यटकीय गाउँ घान्द्रुकसम्म चौथो संस्करणको अन्नपूर्ण म्याराथनको आयोजना गरेको छ भने टान गण्डकीले भ्यु फेवा राउन्ड फेवा पदमार्गमा पदयात्राको आयोजना गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.