जन सरोकार

व्यापारीहरुको एकतर्फी निर्णय- काठमाडौंमा बढेको चहलपहल बहादुरी कि मुर्खता ?

काठमाडौंका मुख्य बजारहरुमा बिहिबारदेखि चहलपहल सुरु भयो । सरकारले साढे दुई महिनादेखि गरेको लकडाउनका कारण व्यापार व्यवसाय चौपट भएको भन्दै व्यापारीहरुले एकतर्फी निर्णय गर्दै पसलहरु खोल्न थालेपछि चहलपहल बढेको छ भने सडकमा सवारीसाधका चाप देखिएको छद् ।

लामो समयपछि राजधानीको मुख्य बजार महाबौद्ध, न्यूरोड तथा असनका पसलहरू खुल्न थालेका छन् । पसल खुल्न थालेसँगै यहाँ चलहपहलसमेत बढ्न थालेको छ । सडकमा मानिसको चहलपहल बाक्लो देखिन थालेको छ । सडकमा सवारी साधनको आवागमन पनि बाक्लो देखिएको छ ।

न्युरोड तथा महाबौद्धमा सामान बोकेर हिँड्ने मजदुरहरू देखिन थालेका छन् । केहीले पसलमा थर्मल गन तथा अधिकांश व्यापारीले स्यानिटाइजर राखेर पसल सञ्चालन गरेका छन् ।

उता मंगलबारदेखि पसल खोल्न पाउनुपर्ने माग गर्दै बिरोध प्रदर्शनमा उत्रिएका बौद्ध, जोरपाटी तथा नारायणटारका पसल खुल्न थालेका छन् । लकडाउन लम्बिँदै गएपछि व्यवसायीले जीविकोपार्जन गर्न कठिन भएको भन्दै पसल खोल्न थालेका हुन् ।

आयआर्जनको बाटो रोकिएको र परिवार पाल्नसमेत मुश्किल परेको जनाउँदै ती स्थानका व्यवसायीले पसल खोल्न थालेका हुन् । कर, घरभाडा, बैंकको किस्ता र कर्मचारीको तलब भुक्तानी गर्न समस्या भएकाले पसल खुल्ला गरेको नारायणटारका व्यापारी सुनिल सापकोटाले बताउनुभयो ।

“हामीले अहिलेसम्म सरकारको निर्णयलाई स्वागत गर्दै सहयोग गर्दै आयौँ तर अब सकिने अवस्था छैन, घरभाडा, कर्मचारीको खाना खर्च, करलगायतको पैसा तिर्ने भनेकै पसल सञ्चालनपछि नै हो” उहाँले भन्नुभयो ।

जोरपाटीमा कपडा व्यवसाय गर्दै आएका लक्ष्मण दुलाल भन्नुहुन्छ, “भोकै पर्र्नुपर्ने अवस्था आएकाले पसल खोल्न थालेका हौँ । सामाजिक दूरी कायम गरेका छौँ । ”

बैंकबाट लिएको ऋणको ब्याज तिर्न नसक्दा दिनदिनै ऋणको भार थपिँदै गएको तथा परिवारसमेत भोकै पर्ने अवस्था आएपछि पसल खोल्न बाध्य भएको व्यवसायीको भनाइ छ ।

सरकारले विगतमा गरेको लकडाउन कति प्रभावकारी रह्यो र कोरोना संक्रमण रोकथामका लागि गरिएको खर्च तथा प्रयासले कस्तो नतिजा ल्यायो भन्ने भालिका दिनमा समीक्षा होला तर राजधानी जस्तो एकदमै घना आवादी भएको क्षेत्रमा बिना तयारी र आवश्यक शतर्कताबिना पसलहरु खोल्नु कति जोखिमपूर्ण होला भन्ने अर्को समीक्षाको विषय छ ।

सरकारले लकडाउन बाहेक अरु केही काम गरेन भन्नेमा कसैको विमती नहोला तर लकडाउन सरकारका लागि हो कि व्यापारी स्वयंका लागि पनि भन्ने पनि महत्वपूर्ण पक्ष छ ।

व्यवसायीहरुले लकडाउन अवज्ञा गर्ने चेतावनी दिएर पसलहरु खोल्न थालेपछि परिस्थिति नियन्त्रणमा लिन उपत्यकाभित्रका तिनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त रुपमा आकस्मिक बैठक बसेको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रशासन, सुरक्षा निकाय तथा स्थानीय निकायका पदाधिकारीलगायतको उपस्थितिमा बसेको आकस्मिक बैठकमा लकडाउन व्यवस्थित बनाउने विषयमा छलफल भइरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.