जल/वातावरण

सन्दर्भ विश्व वातावरण दिवस : प्रदूषणको गति नरोके विकासको गति रोकिन्छ

आज विश्व वातावरण दिवस- विश्वभर वातावरण संरक्षणका गगनभेदी नारा घन्काएर मनाइदैछ, हरेक वर्ष यसरी नै वातावरण दिवस मनान्छ तर वातावरण शुद्ध हुनुको साटो झन्झन् दूषित बन्दै गएको छ । वातावरण दिन प्रतिदिन दूषित बन्दै गएकै कारण आज मानिसले पाउनुसम्म दुःख पाएको छ- उसमा न प्राकृतिक रुपमा हुनुपर्ने शक्ति र सामथ्र्य छ न मानवीय भावना नै कायम रहेको छ ।

किनभने मानिसले आफूलाई प्रकृतिभन्दा भिन्न ठानेर प्रकृतिसंग शत्रुता देखायो भने यसको विनाश निश्चित छ, प्रकृति भनेको सृष्टि हो र सृष्टिको क्रम निरुन्तर निर्वाध चलिरहन वातावरण शुद्ध हुनैपर्छ । यदि हामीले वातावरण दूषित बनाउँदै गयौं भने अहिले जेजति समस्या भोगिरहेका छौं भावी दिनमा अकल्पनीय समस्याको सामना गर्न तयार हुनुपर्छ ।

जतिसुकै भौतिक विकास गरिए पनि प्रकृतिलाई शान्त राख्नन सकिएन भने त्यो विकासले मानव सभ्यतालाई सुरक्षित राख्न सक्दैन । यसको ताजा उदाहरण त कोरोना नै छ । आज विश्व कोरोना भाइरस (कोभिड–१९) संक्रमणले तहसनहसको स्थितिमा पुगेको छ । विश्वका पौने करोडभन्दा बढी मानिस यसबाट संक्रमित भएका छन् भने झण्डै पाँच लाखको ज्यान गैसकेको छ । कोरोना संक्रमणबाट अछुतो रहेको कुनै पनि देश छैन । अझ विश्व अर्थतन्त्रका महाशक्ति राष्ट्रहरु सबैभन्दा बढी यसको चपेटामा परेका छन् र उनीहरु ठूलो आर्थिक संकटमा पर्ने देखिएको छ ।

यो सब हुनुमा तिनै आर्थिक र औद्योगिक शक्ति राष्ट्रहरु बढी जिम्मेवार छन्, जसले औद्योगिकीकरण, विश्वमा आर्थिक साम्राज्य स्थापना गर्ने धुनमा वातावरण तहसनहस पार्ने काम गरे । जसको परिणाम संक्रामक रोगहरु, जो पहिल्यै निर्मूल भैसकेका थिए पुनः बल्झिन थाले भने अहिले कोरोना उत्पन्न भएको छ । अहिले विश्व नै त्रस्त भएको कोरोना भाइरस पनि जलवायु परिवर्तनकै उपज हो । जब प्राकृतिक वातावरण दूषित, प्रदूषित बन्दै जान्छ तब रोगव्याधी बढ्दै जान्छ, निर्मूल भएका रोग पुनः देखापर्छ भने नयाँ नयाँ रोग देखापर्नु स्वाभाविक हो ।

जलवायु परिवर्तनका कारण मौसम अनुसार हुनुपर्ने केही पनि हुँदैन । वर्षा हुनुपर्ने समयमा खडेरी पर्नु, आकाशमा अनेकथरि बादल देखापर्नु, विकिरणयुक्त हावा वहनु, पानी प्रदूषित हुनु नै यसका बलियो आधार हुन् । जसले शक्तिशाली भाइरसहरु उत्पन्न हुन्छन् । आज कोरोना भाइरसको महामारी, यसअघि स्वाइन फ्लूको महामारी, सार्सको महामारी, इबोलाको महामारी, अनि निर्मूल भैसकेको प्लेग, औलो, हैजा जस्ता रोगहरु पुनः फैलनुको कारण वातावरणीय विनाश नै हो र यो विकास भौतिक विकासले निमिट्यान्न पार्न सकिन्न भन्ने दृष्टान्त आज कोरोनाले देखाइदिएको छ ।

विश्व औद्योगिककरणको अभियान थालिएपछि वातावरणीय सन्तुलन विग्रन थालेको हो । एक शताब्दीयता पृथ्वी क्रमशः तात्न थालेको हो । यसको प्रमुख कारण भनेको आम विनाशकारी र रासायनिक हातहतियारको बढ्दो उत्पादन र प्रयोग तथा औद्योगिकरकणको नाममा वातावरणीय सन्तुलनलाई ख्याल नगर्नु नै हो ।

प्रकृतिलाई आफ्नो अनुकूलतामा छाडिएन भने र वायुमण्डल, जलमण्डल तथा स्थलमण्डललाई प्रदूषित पारियो भने यस्तै दुर्दशाहरू निम्तिने कुरा विधिसम्मत सत्य हो । अहिले भैरहेको त्यही हो । जलवायु परिवर्तनको प्रभावले गर्दा लुप्त भैसकेका किटाणुहरू पुनः उत्पन्न भैरहेका छन् ।

कोरोना भाइरसको संक्रमणले विश्वका अग्रणी मुलुकहरुलाई पक्कै पनि ठूलो पाठ सिकाएको हुनुपर्छ । जलवायु परिवर्तको तीब्रत्तर गतिलाई रोक्न उनीहरुले नै अग्रसरता लिनुपर्छ । महामारी फैलिएपछि उनीहरुको धनले पनि रोक्न नसकेको तथ्य अब ठूलो पाठका रुपमा लिइनुपर्दछ । उनीहरुले जलवायु परिवर्तनबाट हुने क्षति न्यूनिकरण गर्न र आगामी पुस्तालाई स्वस्थ र स्वच्छ धर्ती उपहार दिनका लागि धनी देशहरूले पृथ्वी बचाउ अभियानको नेतृत्व लिनुपर्छ । किनभने जसरी जलवायु परिवर्तनका लागि उनीहरूको भूमिका महत्वपूर्ण र अग्रणी रह्यो त्यसलाई रोक्न पनि उनीहरूको भूमिका सर्वाधिक महत्पूर्ण हुनुपर्छ ।

डेढ दशक अघि नै वैज्ञानिकहरुले “२०२० सम्म औद्योगिक राष्ट्रहरूले कार्बन उत्सर्जनमा ४० प्रतिशत कमी ल्याए मात्र जलवायु परिवर्तनलाई रोक्न सकिन्छ नत्र विनाश निम्तिने निश्चित छ” भनेका थिए । कोरोना यसैको उपज हैन भन्ने आधार छैन । हुन त बचाउका लागि यो प्रकृति सिर्जित भाइरस नभएर मानव निर्मित हो भन्ने आरोप लगाउने गरिन्छ तर मानव सिर्जित भए जसले सिर्जना गरेको हो उसले यसको निर्मूलनको उपाय पनि पक्कै सोचेको थियो होला !

औद्योगिक राष्ट्रहरूले कार्बन उत्सर्जनमा मात्र कमी ल्याउने हो भने जलवायु परिवर्तनबाट उत्पन्न हुने भयावह स्थितिलाई व्यापक कम गर्न सकिन्छ । पछिल्लो समय जलवायु परिवर्तनका कारण एसिया, अफ्रिका र ल्याटिन अमेरिकी मुलुकका गरिब जनता झन् गरिब बन्दै गैरहेका छन् । यी देशहरूमा वर्षातको मौसम बदलिइरहेको छ । जसले गर्दा कृषि कार्य निकै कठिन बन्दै गैरहेको छ । समुद्रको सतह बढिरहेको छ भने मरुभूमिले पनि आफ्नो स्वरुप बदल्दै गरेको छ । जलवायु परिवर्तनले गर्दा यथास्थानमा रहेका प्राकृतिक स्रोतहरू नै लोप हुने हुन् कि भन्ने त्रास बढिरहेको छ ।

अहिले जसरी मौसम परिवर्तन भैरहेको छ यसले पानी, खाद्यान्न, औषधोपचार लगायत मानव जीवनलाई अरु कष्टपूर्ण बनाउनेछ । नेपाल जस्ता जलस्रोतमा धनी मुलुकहरूमा खानेपानीकै अभाव हुने र अरबी राष्ट्रहरूमा तेलको हाहाकार हुन बेर लाग्दैन । पृथ्वीको जीवन चक्रलाई सन्तुलन कायम राख्न सवै पक्षलाई यथास्थान, यथागति छाडिनुपर्छ । हिमाल पग्लदैछ र समुद्रको सतह बढ्दैछ । नदीहरू प्रदूषित हुन थालेपछि त्यसका किनारका वस्ती र संचित हुने भूमिबाट उत्पादित अन्न पनि प्रदूषित हुन थालेको छ । जैविक खेती प्रणाली अपनाउनुको साटो थोरै समयमा धेरै उत्पादन गर्ने लोभमा अनावश्यक रासायनिक पदार्थको प्रयोगले खाद्य वस्तुहरू विशाक्त मात्र बनिरहेका छन् ।

जब वातावण दूषित हुँदै जान्छ– मानिसमा प्राकृतिक रुपमा रोगसंग लड्ने क्षमताको ह्रास हुन्छ । मानिस कमजोर र जिवाणुहरु शक्तिशाली हुँदै गएका कारण दशकौं पहिले निर्मुल भएका रोगहरू पुनः बल्झन थालेका हुन् । पशुबाट मानिसमा सर्ने रोगहरू अब मानिसबाट मानिसमै सर्न थालेका छन् । सन् ९० को दशमा निर्मुल भएको र त्यतिबेला पशुबाट मात्र मानिसमा सर्ने ‘स्वाइन फ्लू’ अघिल्लो दशकमा अमेरिकामा पुनः बल्झिँदा मानिसबाट मानिसमा सर्ने भयो ।

सायद अहिलेको समय सबैका लागि ठूलो पाठ पनि हुनसक्छ । वातावरण विनाशले कुन हदसम्म मानिसलाई सताउने रहेछ भन्ने कोरोनाले पुष्टि भएको छ । कुनै एक महादेशको कुनै कुनामा उत्पन्न भाइरस विश्वभर फैलनु भनेको अहिलेको वातावरण मानवका लागि नभएर महामारी फैलाउने भाइरसका लागि उपयुक्त बनिरहेको छ । नत्र एउटा तापक्रम र जलवायुमा हुर्केको भाइरस अर्को तापक्रम र जलवायुमा पुग्दा शिथिल हुनुपर्नेमा कोरोना झन्झन शक्तिशाली बन्दै गएको देखिनु नै वातावरण विनाशको एउटा प्रमुख कारण हो भन्ने सोच्न सकिन्छ । यस्ता विपत्तिहरुको रोकथामका लागि अब हरितक्रान्ति आवश्यक छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.