राजनीति

प्रतिनिधिसभाको बैठकको शून्य समयमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले शारीरिक अपाङ्गता भएका व्यक्तिको अधिकारदेखि, सडक पूर्वाधार, ठूला आयोजनामा बजेट अभाव, आगलागी पीडितलाई राहतदेखि किसानलाई मलखादको व्यवस्थालगायत विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सांसद विद्या भट्टराईले संविधानमा मौलिक हकको रुपमा व्यवस्था भएको अपाङ्गता भएका व्यक्तिको हक अधिकारको संरक्षण गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँका अनुसार अपाङ्गता र अशक्त व्यक्तिको हक कार्यान्वयनका लागि महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयले सरोकारवालासँग छलफल गरी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको थियो । तर, बजेट अभावले कार्यान्वयन गर्न नसक्ने जानकारी पाएपछि विगत ३७ दिनदेखि आमरण अनशनमा रहनुभएको र उहाँको स्वास्थ्य अवस्था गम्भीर रहेको भन्दै पीडितको माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद बिना लामाले नागढुङ्गादेखि धादिङ्को गल्छीसम्मको सडक दुरावस्था रहेको र सर्वसाधरणले निकै सास्ती बेहोर्नुपरेको जनाउँदै सडक स्तरोन्नति चाँडो गर्न सरकारसमक्ष माग गर्नुभयो । सांसद विनिताकुमारी सिंहले तराई–मधेशलगायत देशका विभिन्न स्थानमा आगलागीको घटनाबाट करौडौँको क्षति र हजारौँ विस्तापित भएको भन्दै गरिब र पीडित परिवारका लागि राहत र बसोबासको व्यवस्थापन गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद वीरबहादुर बलायरले महिला राजनीतिज्ञ द्धारिकादेवी कठुरानीको डोटीमा स्मृत भवन बनाउने कार्य अघिल्लो वर्ष सुरु भए पनि यो वर्ष बजेट व्यवस्थापन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद श्यामकुमार घिमिरेले कमला नदी नियन्त्रणका लागि बर्सेनि बजेट विनियोजन भए पनि प्रयाप्त रकम नहुँदा निर्माणकार्य प्रभावकारी हुन नसकेको भन्दै निश्चित समयमा काम सम्पन्न हुनेगरी बजेट विनियोजना गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद शान्ति विकले आगामी आवको बजेट परम्परागत भएको टिप्पणी गर्नुभयो । सांसद शान्ति श्रेष्ठले गोकर्ण–वाग्मती योजना करिडोरको अवस्थाबारे जानकारी गराउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद शिव नेपालीले अन्तर्राष्ट्रिय क्षेत्रमा देशलाई पहिचान गराउने नेपाली क्रिकेट टिमको हौसलाका लागि पूर्वाधार विकासमा ध्यान दिन माग गर्नुभयो ।

सांसद शिशिर खनालले शिक्षामन्त्री सुमना श्रेष्ठमाथि पोसाकलगायत विभिन्न विषयमा भइरहेको टिप्पणीप्रति सरोकारवालाको ध्यानाकर्षण गराउनुभयो । सांसद शेरबहादुर कुँवरले अछामको बुढीगङ्गा जलविद्युत् परियोजना निर्माणलाई बजेट सुनिश्चितता गर्न माग गर्नुभयो । सांसद शोभा ज्ञवाली किसान धानबाली लगाउने तयारीमा रहेकाले विगतका वर्षझै यो वर्ष पनि मल नपाएर समस्या बेहोररिहेको भन्दै उनीहरुलाई सहज रुपमा मलखादको व्यवस्था मिलाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गर्नुभयो । सांसद सन्तोष परियारले बर्खाको समयमा देशका विभिन्न जिल्लाको सडक दुरावस्था रहेको भन्दै आम जनता आवतजावत गर्ने सडकमार्ग स्तरोन्नितिका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद सपनाराज भण्डारीले ठूलो सङ्ख्याका विद्यालय जाने उमेरका बालबालिका कुलतमा फसिरहेको भन्दै उनीहरुको शैक्षिक पठनपाटनको व्यवस्था गर्न माग गर्नुभयो । सांसद सम्झना थपलियाले पछिल्ला दिनमा तराईमा खानेपानीको समस्या देखिएको भन्दै तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद स्वर्णिम वाग्लेले तनहुँस्थित पृथ्वी राजमार्गको अम्रेनीमा हालै पानी ट्याङ्करले ठक्कर दिँदा इञ्जीनीयर प्रवीण कैनीको दुःखद् निधन भएको भन्दै दोषीलाई कारबाही र मृतकलाई न्यायोचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकार समक्ष माग गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.